१५ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

‘हिमचट्टान पहिरोबाट शृंखलाबद्ध विपद्’

गत साता भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी सामान्य वर्षाजन्य नभई ‘हिम–चट्टान पहिरो (आइस–रक एभालान्च)’ बाट उत्पन्न शृंखलाबद्ध विपद् भएको नेपाली वैज्ञानिक संलग्न एक अध्ययनले देखाएको छ।

नेपाल वातावरण समाज (एनइएस) ले बनाएको विज्ञ टोलीको अध्ययनअनुसार रसुवाको लाङटाङ–लिरुङ क्षेत्रको करिब पाँच हजार दुई सय मिटर उचाइबाट ठुलो मात्रामा हिउँ, चट्टान र गेग्रान खसेर ल्हेन्दे खोलामा प्रवेश गरेपछि त्यसले शक्तिशाली बाढीको रूप लिएको हो। अध्ययनले यो घटना हिमताल फुटेर नभएको निष्कर्ष निकालेको छ।

समाजले आइतबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन तयारीमा डा. विनोद बानियाँको नेतृत्वमा  डा. नितेश खड्का, डा. अमृतप्रसाद शर्मा, विष्णु महर्जन र डा. जयराम कार्की सहभागी थिए। अध्ययनमा भूउपग्रह तस्बिर, हाइड्रोलोजिकल तथा मौसमसम्बन्धी तथ्यांक, भौगोलिक बनोट र नदीको मुहानदेखि तल्लो तटीय क्षेत्रसम्मको उचाइ तथा ढलानको विश्लेषण छ।

अध्ययनअनुसार बुधबार करिब ८ः३७ बजे लाङटाङ–लिरुङको उत्तरी भेगबाट हिमचट्टान खस्न सुरु भएको थियो। हिमचट्टान करिब पाँच हजार दुई सय मिटर उचाइबाट करिब दुई हजार नौ सय ३० मिटर उचाइमा रहेको ल्हेन्दे खोलामा खसेको थियो।

भूउपग्रहबाट खिचिएका तस्बिरको विश्लेषण गर्दा करिब १० वर्गकिलोमिटर क्षेत्रमा ठुलो भौगोलिक परिवर्तन भएको र करिब ०.५६ वर्गकिलोमिटर क्षेत्रफलको हिमनदीको केही भाग छुट्टिएर खसेको देखिएको प्रतिवेदनमा छ।

हिउँ, चट्टान र गेग्रानको ठुलो मात्रामा खोलामा खसेपछि शक्तिशाली गेग्रानसहितको बाढी सिर्जना गरेको निष्कर्ष अध्ययनको छ। गाओफेन–१, सेन्टिनेल, ल्यान्डसेट, प्लानेटस्कोप, सारलगायतका भूउपग्रह तस्बिरको विश्लेषण गर्दा माथिल्लो क्षेत्रमा रहेका हिमताल फुटेको स्पष्ट प्रमाण नभेटिएको प्रतिवेदनमा लेखिएको छ।

घटनाको वास्तविक भौगर्भिक संयन्त्र, हिउँ पग्लिएर बनेको पानीको योगदान तथा नदी अस्थायी रूपमा थुनिएको प्रक्रियाबारे थप स्थलगत अध्ययन आवश्यक रहेको अध्येताहरूले बताएका छन्।

सात मिनेटमै २२ किलोमिटर तय

विपद्को तीव्रता बुझाउने अर्को महत्त्वपूर्ण तथ्य यसको असाधारण गति हो। अध्ययनअनुसार हिम–चट्टानसहितको बाढी सात मिनेटजतिमा करिब २२ किलोमिटर दूरी पार गर्दै रसुवागढी पुगेको थियो। प्रतिवेदनमा प्रारम्भमा यसको औसत गति करिब ४६.३ मिटर प्रतिसेकेन्ड अर्थात् १६७ किलोमिटर प्रतिघण्टा भएको अनुमान गरिएको छ।

त्यसैगरी रसुवागढीबाट बेत्रावतीसम्म आइपुग्दा यसको गति प्रतिघण्टा करिब ७३ किलोमिटर र तल्लो क्षेत्रमा पुग्दा प्रतिघण्टा करिब २२ किलोमिटर रहेको अनुमान छ। हिम–चट्टानको पहिरो करिब १० देखि २० करोड घनमिटर हुनसक्ने प्रारम्भिक अनुमान अध्येताको छ। उक्त पहिरो सन् २०२१ मा भारतको चमोलीमा भएको यस्तै प्रकृतिको घटनाभन्दा चारदेखि आठ गुणासम्म ठुलो हुन सक्ने बताइएको छ।

बाढीअघि पानीको सतह घटेको थियो

घटनाको अर्को महत्त्वपूर्ण पक्ष बाढी आउनुभन्दा केही घण्टाअघि रसुवागढी र स्याफ्रुबेंसी क्षेत्रमा नदीको पानीको सतह तथा बहाव घटेको देखिनु हो। अध्ययनका अनुसार बिहान ५ देखि ८ बजेसम्म रसुवागढी क्षेत्रमा पानीको औसत सतह घटिरहेको थियो। स्याफ्रुबेंसीमा पनि बिहान ७ बजेदेखि औसत बहाव घटेको देखिएको छ। यसलाई माथिल्लो क्षेत्रमा केही समयका लागि नदी थुनिएको हुन सक्ने संकेतका रूपमा हेरिएको छ तर नदी थुनिएको ठाउँ, त्यसको आकार र कति समयसम्म पानी रोकिएको थियो भन्ने विषयमा थप अनुसन्धान आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ। बाढी आउनुअघि माथिल्लो जलाधार क्षेत्रमा ठुलो वर्षा नभएको देखिएकाले अत्यधिक वर्षा वा बादल फाटेर मात्रै यो विपद् सिर्जना भएको प्रारम्भिक अनुमान कमजोर बनेको छ।

नदीको चौडाइ चार गुणासम्म बढ्यो

हिम–चट्टान र गेग्रानसहितको तीव्र बहावले नदीको प्राकृतिक संरचनासमेत ठुलो मात्रामा परिवर्तन भएको छ। बाढीअघि कतिपय स्थानमा १०० देखि ३०० मिटर चौडा रहेको नदीको मार्ग बाढीपछि नौ सयदेखि एक हजार तीन सय मिटरसम्म फैलिएको पाइएको छ। यसले बाढी कति शक्तिशाली थियो भन्ने बुझ्न सकिन्छ।

प्रतिवेदनमा बाढीपछि माथिल्लो क्षेत्रमा दुईवटा अस्थायी तालसमेत बनेको उल्लेख छ। ती ताल साना भएकाले तत्काल ठुलो खतरा नरहेको र आइतबारसम्म दुवै तालको पानी निकास भइसक्ने प्रतिवेदनमा लेखिएको छ। अस्थायी ताल हिमाली क्षेत्रमा नयाँ जोखिमको स्रोत बन्न सक्ने भएकाले निरन्तर निगरानी आवश्यक छ।

अब हिमाल पनि निगरानी गर्नुपर्छ

अध्ययन प्रतिवेदनको मुख्य सन्देश ‘विपद् आएपछि उद्धार गर्नेभन्दा विपद् आउनुअघि नै स्रोत क्षेत्रमै जोखिम पत्ता लगाउने प्रणाली विकास गर्नुपर्ने’ भन्ने छ। विज्ञहरूले हिमाली क्षेत्रमा वास्तविक तापक्रम, हिउँको अवस्था, हिमनदीको गति, पानीको बहाव र भूचलायमानता मापन गर्ने सेन्सर तथा टेलिमेट्री प्रणाली विस्तार गर्न सुझाव दिएका छन्।

उपग्रह, राडार, सेन्सर, सेन्सर वा उपकरणहरूलाई इन्टरनेटमा जोडेर तिनले आफैं सूचना संकलन गर्ने, पठाउने र आदानप्रदान गर्ने प्रविधि, उच्च क्षमताको कम्प्युटिङ र कृत्रिम बौद्धिकतामा आधारित तथ्यांक एकीकृत गरी हिमाली क्षेत्रको निरन्तर निगरानी गर्न र तटीय क्षेत्रमा जिएसएम आधारित चेतावनी प्रणाली विस्तार गरी समुदाय तहमा तत्काल सूचना पुग्ने व्यवस्था गर्नुपर्ने उनीहरूको सुझाव छ। नेपाल–चीनको माथिल्लो जलाधार क्षेत्रमा वास्तविक समयको सूचना आदानप्रदान र संयुक्त निगरानी प्रणाली स्थापना गर्नु पनि सुझाइएको छ।

प्रतिवेदनमा केवल नदीमा पानी बढेपछि बाढीको चेतावनी दिने परम्परागत प्रणालीबाट माथि उठेर ‘हिमालमा के भइरहेको छ’ भन्ने पूर्वसूचना दिने प्रणालीमा रुपान्तरित हुनुपर्ने आवश्यकता औंल्याइएको छ। ‘हिमालको माथिल्लो भागमा खतरा सुरु भएपछि त्यसको सूचना तल्लो तटीय बस्तीमा पुर्‍याउन सक्नु नै जीवन बचाउने सबैभन्दा महत्त्वपूर्ण आधार हुन सक्छ’ प्रतिवेदनमा भनिएको छ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा विनाशकारी घटनाको जोखिम बढ्दै गएको अवस्थामा उपग्रह, क्यामेरा, राडार र सेन्सरबाट हिमालको निरन्तर निगरानी र पूर्वसूचना प्रणाली तथा सीमापार तथ्यांक साझेदारी अब नेपालको विपद् सुरक्षा रणनीतिको अनिवार्य हिस्सा बन्नुपर्छ।

प्रकाशित: १५ भाद्र २०८३ ०८:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App