अमेरिकाको एरिजोना राज्यस्थित ग्रान्ड क्यान्यन राष्ट्रिय निकुञ्जमा आएको आकस्मिक बाढीपछि करिब १५ जना मानिस सम्पर्कविहीन भएको आशंका गरिएको छ।
बाढीले पुलहरू बगाउनुका साथै दर्जनौं पदयात्री र क्याम्पिङ गरिरहेका मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य बनाएको अधिकारीहरूले बताएका छन्। निकुञ्ज सेवाका अनुसार यसअघि २० जना सम्पर्कविहीन हुन सक्ने प्रारम्भिक अनुमान गरिएको थियो। पछिल्लो विवरणअनुसार करिब १५ जनाबारे अझै जानकारी प्राप्त हुन सकेको छैन।
बाढीले पर्यटकलाई पानी उपलब्ध गराउने मुख्य पाइपलाइनमा समेत क्षति पुर्याएको छ। यसका कारण निकुञ्जमा पानीको स्रोत सीमित भएको छ। लेबर डे सप्ताहान्तमा पर्यटकको चाप बढ्ने समयमा पानी आपूर्ति प्रभावित हुँदा पर्यटकीय गतिविधिमा समेत ठुलो असर पर्ने देखिएको छ।
उक्त पाइप लाइनले दक्षिणी किनारका सबै संरचनामा खानेपानी र आगलागी नियन्त्रणका लागि आवश्यक पानी उपलब्ध गराउँदै आएको थियो। दक्षिणी किनारमा धेरै पदयात्रा मार्ग, दृश्यावलोकनस्थल, होटल तथा अन्य पर्यटकीय सेवा छन्।
स्थानीय समयअनुसार शनिबार दिउँसो ब्राइट एन्जल क्रिकमा आएको बाढीले खोलामाथिका पैदल पुलहरू बगाएको छ। ठुला ढुंगा, धातुका संरचना र अन्य भग्नावशेषसमेत बाढीले कोलोराडो नदीतर्फ बगाएको निकुञ्ज सेवाले जनाएको छ।
बाढीपछि ब्राइट एन्जल क्याम्पग्राउन्ड, फ्यान्टम रान्च र नर्थ काइबाब ट्रेलका केही भाग बन्द गरिएको छ। कोलोराडो नदीमा हुने र्याफ्टिङ यात्रासमेत रोकिएको छ। फ्यान्टम रान्चबाट ६२ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा लगिएको थियो।
पदयात्री पार्थ देसाईले बाढीका क्रममा ढुंगा, हिलो र पहिरो बगेको बताए। उनले भने, ‘हामीले खोलामा बाढी आएको, अचानक झरना बनेको, ढुंगा र हिलो बगेको तथा चारैतिर पहिरो गएको देख्यौं।’
अमेरिकाको राष्ट्रिय मौसम सेवाका मौसमविद् जस्टिन जोनड्रोका अनुसार करिब ३० मिनेटमा त्यस क्षेत्रमा १ देखि २.५ सेन्टिमिटरसम्म पानी परेको थियो। उचाइमा ठुलो अन्तर भएकाले धेरैजसो पानी तत्कालै बगेको उनले बताएका छन्।
पानी आपूर्ति प्रभावित भएपछि सोमबारदेखि निकुञ्जभित्रका लज र होटलमा पर्यटकलाई रातभर बस्न रोक लगाइएको छ। निकुञ्जले वर्षभरि बस्ने बासिन्दालाई पनि पानी जोगाएर प्रयोग गर्न आग्रह गरेको छ।
मुख्य पानी पाइपलाइन लामो समयदेखि पटक पटक बिग्रिँदै आएको थियो। यसको पुनर्निर्माण र पानी वितरण प्रणालीमा सुधारको काम सन् २०२३ मा सुरु गरिएको थियो। परियोजना सन् २०२७ मा पूरा हुने अपेक्षा गरिएको छ। एजेन्सी
तस्बिर : ग्रान्ड क्यान्यन राष्ट्रिय निकुञ्ज

.jpg)

.jpg)
.jpg)
प्रकाशित: १५ भाद्र २०८३ ०८:०६ सोमबार





