लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान यसै बुधबार समापन भयो। देशभर लैगिंक हिंसाविरुद्धको अभियान चलिरहँदा पनि नेपाली समाज हिंसाका घटनाबाट टाढा रहन सकेन। अभियान चलिरहँदा जनताको सुरक्षार्थ पहिलो स्थानमा खटिने नेपाल प्रहरीकै कर्मचारी हिंसामा संलग्न भेटिए।
मंसिर २२ गते प्रहरी सहायक निरीक्षक(असई) पुष्कर कार्की आफ्नै चार महिने छोराको हत्या आरोपमा पक्राउ परे। कार्कीले सिनामंगलस्थित डेरामा शिशुको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ। छोराको ज्यान लिने क्रममा उनले नेपाल प्रहरीमै कार्यरत पत्नीलाई पनि आक्रमण गरेको पाइएको प्रहरीले जनाएको छ। यस घटनाबाट प्रहरीमै कार्यरत कर्मचारी पनि हिंसात्मक सोचबाट बाहिर छैनन् भन्ने दर्साएको टिप्पणी भइरहेको छ। जसले १६ दिने अभियान जस्ता अभियानको प्रभावकारितामै प्रश्न उठेका छन्।
यही बेला मंसिर १४ गते कपिलवस्तु नगरपालिका–३ तिलौराकोट दरबार परिसर बाहिर १७ वर्षीया किशोरी बलात्कृत भइन्। उक्त घटनामा भाइरल ‘टुर गाइड’ का रूपमा चिनिएका कपिलवस्तु–६ का २० वर्षीय राहुल मल्लाह पक्राउ परे। जसले सामाजिक रूपमै चिनिएका व्यक्तिबाट पनि महिला सुरक्षित छैनन् भन्ने दर्साउँछ।
नेपाल प्रहरीले पछिल्ला ५ वर्षको हिंसाका घटनाको तथ्यांकलाई २५ शीर्षकमा विभाजन गरेर राखेको छ। जसमा एक लाख ७ हजार बढी अपराधका घटना भएका छन्। यही तथ्यांकभित्र घरेलु हिंसासहित जबरजस्ती करणी र कर्तव्य ज्यानका घटना पनि सामेल छन्।
प्रहरीसँग रहेको यो तथ्यांकले घरेलु हिंसा, बलात्कार तथा यौन हिंसा र बहुविवाहका घटनाहरूमा वृद्धि भइरहेको देखिन्छ। पछिल्ला ५ वर्षमा घरेलु हिंसाका मात्रै ८१ हजार ६ सय बढी घटना भएका छन्।
जसमा आर्थिक वर्ष २०७७।७८ मा १४ हजार २३२, ०७८।७९ मा १७ हजार, व०७९।८० मा १६ हजार ५१९, ०८०।८१ मा १६ हजार ४१६ र ०८१।८२ मा १७ हजार ४८२ घरेलु हिंसाका घटनाको उजुरी प्रहरीमा दर्ता भएको देखिन्छ।
यस्तै महिला तथा बालबालिकामाथि हुने यौनजन्य हिंसाका घटना पनि बर्सेनि बढिरहेको तथ्यांकले देखाएको छ। पछिल्ला पाँच वर्षमा बलात्कारका घटना मात्रै १२ हजार ५९ वटा भएका छन्।
यो तथ्यांकले हरेक वर्ष सञ्चालन हुँदै आएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानकै प्रभावकारितामाथि नै प्रश्न उठाएको टिप्पणी हुने गरेको छ।
जसमा आव ०७७।७८ मा दुई हजार ५३२, ०७८।७९ मा दुई हजार ३८०, ०७९।८० मा दुई हजार ३८७, ०८०।८१ मा दुई हजार ५०७ र ०८१।८२ मा दुई हजार २५३ वटा जबरजस्ती करणीका घटना भएको प्रहरीको तथ्यांक छ। यस्तै पाँच वर्षमै दुई हजार ८२८ वटा बलात्कार प्रयास(जबरजस्ती करणी उद्योग)का घटना भएको प्रहरीले जनाएको छ। यिनै पाँच वर्षमा १४२ वटा अप्राकृतिक मैथुनका घटना पनि घटेका छन्।
यस्तै आव ०७७।७८ मा २८१, ०७८।७९ मा ३१४, ०७९।८० मा ३४३ वटा, ०८०।८१ म ३६३ र ०८१।८२ मा ३५५ गरी पाँच वर्षमा एक हजार ६५६ वटा बाल यौन दुर्व्यवहारका घटना घटेको प्रहरीको तथ्यांक छ।
प्रहरीसँगको तथ्यांकअनुसार महिला तथा बालबालिकामाथि सार्वजनिक स्थलमै हुने हिंसा पनि देखिएका छन्। जसमा आव ०८०।८१ मा १९ र ०८१।८२ मा २३ गरी दुई वर्षमै ४२ वटा घटनामा सार्वजनिक स्थलमै महिला र बालबालिकामाथि यौनजन्य हिंसा भएको छ।
यस्तै तीन आर्थिक वर्षमा ४७४ वटा मानव बेचबिखन तथा ओसारपसारका घटना छन्, भने पाँच वर्षमा ८ वटा एसिड आक्रमणका घटना भएका छन्। पछिल्ला दुई आर्थिक वर्षमा दुई जनाको दाइजोकै कारण ज्यान लिइएको छ।
यस्तै अर्को ठुलो समस्या बहुविवाह पनि बनेको देखिएको छ। प्रहरीको तथ्यांकअनुसार आव ०७७।७८ मा ८५२, ०७८।७९ मा ८०९ वटा, ०७९।८० मा ७२३, ०८०।८१ मा ६५३ र ०८१।८२ मा ५६८ वटा बहुविवाहका उजुरी प्रहरीमा परेको छ।
यो तथ्यांकले हरेक वर्ष सञ्चालन हुँदै आएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानकै प्रभावकारितामाथि नै प्रश्न उठाएको टिप्पणी हुने गरेको छ। राष्ट्रिय मानवअधिकार आयोगका सहसचिव डा. टीकाराम अधिकारी लैंगिक हिंसाको मूल कारण समाजमा जकडिएको पितृसत्तात्मक संरचना, चेतनाको कमी र डिजिटल माध्यमको नकारात्मक प्रयोग भएको बताउँछन्।
‘समाजमा सकारात्मक चेतनाभन्दा नकारात्मक चेतना छिटो फैलिँदै गएको छ,’ उनी भन्छन्, ‘अभियान सहर–केन्द्रित हुँदा ग्रामीण क्षेत्रमा वास्तविक परिवर्तन देखिँदैन।’
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्ले हिंसाका घटना बढ्नुको कारण केवल प्रहरीको कमजोरी नभएको बताउँछन्। ‘प्रहरीले मात्रै यो समस्या समाधान गर्न सक्दैन। यसमा सामाजिक तथा मनोवैज्ञानिक कारणहरू छन्। प्रहरी मात्रले नियन्त्रण गर्न सक्दैन,’ काफ्लेले भने।
‘लैंगिक हिंसा सहर वा गाउँ भनेर फरक पर्दैन। तर १६ दिने अभियानलाई अहिले एउटा फेस्टिभल जस्तै बनाइयो,’ उनी भन्छिन्, ‘स्टार होटेलमा बसेर कफी पिउँदै फोटो सुट गर्ने कार्यक्रमले दूर दराजमा हिंसा भोगिरहेकी महिलाको पीडामा कुनै प्रभाव पार्दैन।’
अहिले प्रविधिको बद्लिँदो विकास क्रमले पनि हिंसालाई नयाँ ‘प्लेटफर्म’मा विस्तार गरेको प्रवक्ता काफ्ले बताउँछन्। ‘अनलाइनमार्फत प्रलोभन, धम्की, ब्ल्याक मेल र ह्याकिङका घटनाले पनि महिलामाथिको हिंसा बढाएको छ,’ उनले भने। प्रहरीले त्यस्ता हिंसा न्यूनीकरणका लागि ‘सेफ्टी पिन क्याम्पेन’ र महिला तथा बालबालिका सेवा केन्द्रमार्फत सुरक्षित वातावरण सिर्जना गर्ने प्रयास गरिरहेको उनले बताए।
नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक(डिआइजी) हेमन्त मल्ल पछिल्लो समय घर जस्तो सुरक्षित मानिने स्थान समेत ‘असुरक्षित’ बन्दै गएको बताउँछन्। यस्तै समाजमा दण्डहीनता बढ्दा पनि आपराधिक मानसिकताले प्रश्रय पाइरहेको उनको बुझाई छ। उनी भन्छन्, ‘दोषी सजायबाट जोगिँदा समाज अराजकतातिर धकेलिन्छ। माओवादी द्वन्द्वपछिको सामाजिक संरचनामा आएको विघटन, सामाजिक अनुशासनहीनता र सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगले हिंसात्मक व्यवहारलाई बल नै दिएको जस्तो मलाई लाग्छ।’
मानव अधिकारकर्मी रुबी खान लैंगिक हिंसाविरुद्धका अभियान नै प्रभावकारी नभएको मत राख्छिन्। १६ दिने अभियानजस्ता कार्यक्रम सहर केन्द्रितमै सीमित हुँदा ग्रामीण र दुर्गम क्षेत्रमा हिंसाविरुद्धको वातावरण नै नबनेको उनको बुझाई छ।
‘लैंगिक हिंसा सहर वा गाउँ भनेर फरक पर्दैन। तर १६ दिने अभियानलाई अहिले एउटा फेस्टिभल जस्तै बनाइयो,’ उनी भन्छिन्, ‘स्टार होटेलमा बसेर कफी पिउँदै फोटो सुट गर्ने कार्यक्रमले दूर दराजमा हिंसा भोगिरहेकी महिलाको पीडामा कुनै प्रभाव पार्दैन।’
राष्ट्रिय महिला आयोगका उपसचिव रोशनी कार्की आयोगबाट लैंगिक हिंसाविरुद्ध निरन्तर काम भइरहेको दाबी गर्छिन्। ‘हिंसाका कुनै पनि स्वरूपमा आयोगले सम्झौता गर्दैन। तर प्रभावकारी कामका लागि संरचनागत सुधार अनिवार्य छ’, उनले भनिन्।
प्रकाशित: २६ मंसिर २०८२ १७:०१ शुक्रबार





