नगेन्द्र चौलागाई सौराहाका पुराना पर्यटन व्यवसायी हुन् । विगतमा पर्यटकलाई हात्ती सफारी गराउन चौलागाईलाई भ्याई नभ्याई हुन्थ्यो । हिजोआज भने उनले हात्ती पाल्न नै छाडेका छन् । वि.स. २०४९ सालदेखि हात्ती सफारी गराउँदै आएका उनले हात्ती चढ्ने पर्यटक घट्दै गएपछि हात्ती पाल्न छाडेका हुन् ।
‘सुरुमा एउटा हात्ती थियो । व्यापार राम्रो हुँदै गएपछि चार वटा हात्तीसम्म पालियो’, उनले भने पछिल्ला वर्षमा व्यापार राम्रो नभएपछि हात्ती नै राखेको छैन ।’ उनले वि.स. २०६५ देखि वि.स. २०७५को बिचमा चार वटा पु¥याएका थिए । हात्तीको खर्च नै धान्न नसकेर पाल्न छाडेको उनले बताए ।
‘दुई वटा हात्ती किनेको थिएँ । दुई वटा लिजमा राखेको थिएँ,’ हात्ती पाल्दाको समस्या सुनाउँदै उनले भने ‘सौराहामा हात्ती चढ्ने पर्यटक कम आउँदा हात्तीको दैनिक खर्च नै पुगेन ।’ उनका अनुसार एउटा हात्ती पाल्न महिनामा एक लाख रुपैयाँ बढी खर्च लाग्छ । ‘हात्तीलाई दैनिक २० किलो धान, आधा किलो भेली, दुई सय लिटर पानी चार सय किलो घाँस दिनुपर्छ । हामीसँग घाँस छैन पराल खरिद गरेर खुवाउनुपर्ने हुन्छ,’ उनले भने ‘कमाई नभएको अवस्थामा हात्ती कसरी पाल्न सकिन्छ।’ उनले विगतमा एउटा हात्तीबाट मासिक एक लाख पचास हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको बताए । दुई वटा हात्ती मरेपछि लिजमा ल्याएका हात्ती फिर्ता गरेको उनको भनाई छ ।
सौराहाका व्यवसायी श्रीलाल परियारले पनि हात्तीको संख्या घटाएका छन् । ‘म सँग दुईवटा हात्ती थियो । एउटा रोग लागेर म¥यो । अहिले एउटा मात्र छ,’ उनले भने ‘व्यापार नै ठप्प भएको अवस्थामा हात्ती थप्ने आँट पनि आएन।’ यसरी नै सौराहाका व्यवसायीले हात्ती पाल्न छाडेका छन् । कोरोना महामारीपछि सौराहामा निजी हात्तीको संख्या घटेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका व्यवस्थापक विनोद तिमिल्सिनाले बताए । सौराहामा कोरोना अगाडि ६५ वटा निजी हात्ती थिए । अहिले सौराहामा निजी हात्ती ४३ वटा मात्र रहेको उनले बताए । उनका अनुसार जिल्लामा ६० वटा सरकारी हात्ती छन् । युनाइटेड हात्ती सञ्चालन सहकारीमा ३०, सपना भिलेजमा ८, ओम रिजालका ५ वटा हात्ती रहेको उनले बताए । तर सन् २०२०सम्म युनाइटेड सहकारीको मात्रै ५६ हात्ती थिए । त्यसयता २७ हात्ती भारत फिर्ता भएको उनले बताए ।
व्यवसायीले भारतमा बिक्री गरे पनि कानुनले नपाइने हुँदा फिर्ता गरेको भन्ने गर्दछन् । हात्तीको चहलपहल नहुँदा सौराहाको पर्यटनमा समेत असर गरेको उनले बताए। ‘सौराहा आउने ९० प्रतिशत हात्तीको गतिविधि अवलोकन गर्न आउँछन्। कोही छावासँग खेल्छन्। कोही सफारीमा जान्छन्’, उनले भने, ‘तर हात्ती घट्दै गएपछि पर्यटनमा ठूलो घाटा छ।’ कोभिडपछि यहाँका व्यवसायीले हात्ती थपेका छैनन्।
संरक्षणकर्मी वसन्त रानाका अनुसार विदेशी नागरिकहरू जनावरलाई दुःख हुने भन्दै हात्ती कम चढ्न गर्दछन् । ‘अहिले एनिमल राईट्सका कुरा पनि आएका छन्,’ उनले भने ‘युरोपियन नागरिक एकदम कम चढ्नुहुन्छ । चीन र भारतबाट आउने पर्यटक चढ्नुहुन्छ।’ उनका अनुसार पर्यटकहरू हात्तीभन्दा जिप सफारी तर्फ आकर्षित छन् । अहिले हात्तीभन्दा जिप सस्तो छ । जिपमा एक हजार पाँच सय रुपैयाँ प्याकेज नै आउँछ । हात्ती सफारी गरेको मात्रै दुई हजार पाँच सय रुपैयाँ तिर्नुपर्छ, उनले भने ‘एनिमल प्रेमीहरू हात्तीभन्दा जिप नै मन पराउँछन्।’
कोभिड–१९ महामारीपछि सौराहा आउने ३० प्रतिशत पर्यटक मात्र हात्ती सफारी गर्ने गरेको हात्ती व्यवसायीको भनाई छ । ‘विगतमा हात्ती चढ्नकै लागि पर्यटक सौराहा आउँथे। ९० प्रतिशत विदेशी पर्यटकले हात्ती सफारी गर्दथे। हिजोआज सौराहा आएकामध्ये २५ प्रतिशत मात्र हात्ती चढ्छन्। स्वदेशी पर्यटक पनि घट्दै छन्’, व्यवस्थापक तिमिल्सिनाले भने ‘विश्वमा पशु अधिकारका कुरा उठेका कारण पनि सौरामा असर देखिएको छ ।’
चितवनमा २०३६ सालदेखि व्यावसायिक रूपमा हात्ती सफारी हुँदै आएको थियो । त्यतिखेर यहाँका व्ययवासीले भारतबाट हात्ती भाडामा लिएर सफारी गर्दै आएका थिए। पछि बिस्तारै व्यवसायीले हात्ती नै खरिद गरेका थिए, तर पछिल्लो समय सौराहामा पर्यटन गतिविधि कम हुँदा हात्तीको संख्या कम हुँदै गएको हो ।
यहाँका व्यवसायीले पाल्न नसकेपछि भारतमा लगेर हात्ती बेच्ने काम समेत गरे । तीन वटा हात्ती भारत बेच्दै गर्दा सरकारले फिर्ता समेत गरेको थियो । नेपालमा जङ्गली र घर पालुवा गरेर ७ सयको हाराहारीमा हात्ती रहेको अनुमान छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले मानव र हात्तीबिचको द्वन्द्व न्यूनीकरण गर्न आवश्यक रहेको बताए । ‘हात्ती मानिस पछिको विवेकशील प्राणी हो । हात्ती बिना निकुञ्ज संरक्षण गर्ने कुरा कल्पना समेत गर्न सकिँदैन’, उनले भने ‘निजी हात्तीको एकीकृत व्यवस्थापन गरेर मानव र हात्तीबिचको द्वन्द्व न्यूनीकरण गर्नुपर्दछ ।’ मानव वस्तिमा क्षति हुन नदिनका लागि विशेष पहल गर्नुपर्ने उनले बताए ।
प्रकाशित: २९ श्रावण २०८२ १७:०० बिहीबार





