२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

ताथलीमा कार्तिक ४ गते भिंतुना र्‍याली हुने

भक्तपुरको ताथलीमा आगामी कार्तिक ४ गते मंगलबारका दिन भिंतुना र्‍याली ११४६ आयोजना गरिने भएको छ। 

विगत लामाे समयदेखि चाँगुनारायण नगरपालिका-९ ताथलीकाे प्रगति युवा समाजले आयाेजना गर्दै आइरहेको भिंतुना र्‍याली याे वर्ष आगामी कार्तिक ४ गते गरिने भएको हाे। सो निर्णय र्‍यालीका लागि शनिबार भएकाे तयारी भेलाले सर्वसम्मत रूपमा गरेको आयाेजक समाजका अध्यक्ष हरिसुन्दर छुकांले जानकारी दिए।

नेपाल संवतकाे संवर्द्धन र प्रवर्द्धनका साथै नयाँ वर्षकाे अवसरमा आयोजना गरिने र्‍यालीकाे तयारीका लागि समाजले शनिबार स्थानीय संघसंस्थाका प्रतिनिधि, बाजा खल: का प्रतिनिधि, सामाजिक संस्थाका प्रतिनिधि तथा सराेकारवालाहरूकाे भेला आयाेजना गरेकाे थियो।

भेलाले र्‍यालीकाे मिति र रूट निर्धारण गरेकाे छ। भेलाले भिंतुना र्‍यालीका सम्बन्धमा भक्तपुरको तलेजू र नवदुर्गाका पूजारी तथा ज्याेतिषहरूकाे निर्णय अनुसार कार्तिक ४ गते नै म्हा: पूजा गर्ने भएकाले साेही दिन भिंतुना र्‍याली गर्ने निर्णय गरिएको समाजका सचिव रवीन्द्र न्हेम्हाफुकीले बताए।

सांस्कृतिक, ऐतिहासिक र सामुदायिक एकताको प्रतीकका रूपमा ताथलीमा हरेक वर्ष आयोजना हुँदै आएको र्‍यालीका सन्दर्भमा भएको भेलामा चाँगुनारायण नगरपालिकाका कार्यपालिका सदस्य कमला गिरि, ताथली धिमय् खल: का अध्यक्ष विजयराम वनमाला, सयपत्री साकाेसका अध्यक्ष हरिगाेपाल बासुकला, पूर्व प्रधानाध्यापक राजाराम छुकां, कार्यविनायक धिमे खल: का अध्यक्ष रामचन्द्र बालालगायतले भिंतुना र्‍यालीलाई व्यवस्थित बनाउन विभिन्न रचनात्मक सुझाव दिँदै र्‍यालीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

भेलाकाे निर्णयअनुसार र्‍याली सौडोल चोकबाट सुरु हुनेछ। र्‍याली ताथलीकाे माकजु टोल, माथिल्लो साैडोल, देवीटार प्लानिङ, खर्क पुल, वनमाला टोल, राउत टोल, बाला टोल, तल्लो राउत टोल, तैकाबु लगायतका टाेल परिक्रमा गरी फैढोकामा समापन गरिनेछ।

र्‍यालीलाई थप प्रभावकारी, आकर्षक र सहभागीमूलक बनाउनका लागि स्थानीय टोल, युवा समूह र सांस्कृतिक संस्थाहरूसँग सहकार्य गर्ने तयारी भइरहेको आयोजक समितिले जनाएको छ। र्‍यालीमा परम्परागत बाजागाजा, माैलिक भेषभूषा र नाचगानसहित सांस्कृतिक झाँकीहरू रहने र्‍यालीका संयाेजक अनिल थुयाजुले जानकारी दिए।

प्रकाशित: २६ आश्विन २०८२ १३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App