जिल्लाका समग्र सरकारी कार्यालयको नेतृत्व गर्ने बाँके प्रशासन कार्यालय अझै उठ्न सकेको छैन । ‘जेन–जी’ आन्दोलनको आडमा अराजक समूहले गरेको आगजनी, तोडफोड र लुटपाटका कारण उक्त कार्यालय खण्डहरमा परिणत भएको छ ।
आफ्नै कार्यालयको अवस्था देख्दा यहाँका कर्मचारीहरु निराश छन् । आन्दोलनपछि जनजीवनव सामान्य बनेपनि कार्यालयभित्र पसेर काम गर्ने अवस्था छैन । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार कार्यालयको मुख्य प्रशासनिक भवन काम नलाग्ने अवस्थामा पुगेको छ । कार्यालयभित्र राखिएका कागजात सबै जलेर खरानी भएका छन् ।
फर्निचर लगायतका सामान केही लुटपाट भएको छन्, भने कतिपय सामान आगजनीबाट जलेर खरानी भएका छन् । कार्यालयको बिद्युत र इन्टरनेट सेवा अवरुद्ध छ । भवनभित्र जताततै सिसा फुटेका छन् । कार्यालयमा राखिएका केही थान हतियार लुटिएका छन् । बाँके प्रशासनले अलग्गै भवनको एउटा कोठामा अस्थायी रुपमा कार्यालय सञ्चालन गरेको छ । तर, अहिले तत्कालन जनतालाई सेवा दिन सकिने अवस्था नरहेको प्रजिअ जोशी बताउँछन् ।
‘सेवाग्राहीले कहिले कार्यालय खुल्छ भनेर दिनहुँ फोन गरेर सोधिरहेका छन्,’ उनले भने, ‘कार्यालयभित्र पस्नै नसकिने अवस्था छ, सेवाग्राहीको काम गर्ने त परैको कुरा हो ।’ गृह मन्त्रालयले कुनै निर्णय र परिपत्र नगर्दासम्म सरसफाई गरेर भवन पुनःनिर्माणको काम सुरु गर्ने अवस्था नरहेको जोशी बताउँछन् ।
जिल्लाका कतिपय सरकारी कार्यालयले आगजनी भएको स्थान सरसफाई गरेर अस्थायी रुपमा ड्युटी गर्न थालेका छन् । तर, कार्यालयमा बिद्युत, इन्टरनेट, फर्निचर केही नभएकाले कार्यालयले सेवाग्राहीको काम गर्न सकेका छैनन् । आन्दोलनका आडमा नेपालगन्ज र कोहलपुरका दर्जनौं मुख्य सरकारी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट गरिएको थियो ।
प्रकाशित: ३१ भाद्र २०८२ १९:५१ मंगलबार





