कुनै बेला यहाँका ९६ वटै गाउँ बस्तीमा उवा, जौँ, फापर, गहुँ, मकै र फापरको सुकेको पात (ढाप्रा) लगायतका रैथाने बाली पिसेर पीठो बनाउने ‘पानी घट्ट’ प्रयोग गर्ने संस्कृति थियो। खोला, हिमनदी र सिँचाइ कुलोबाट यहाँका अधिकांश गाउँमा परम्परागत पानी घट्ट चल्थे।
विद्युतीय सुविधा नहुँदा त्यसबेलाको उपयुक्त प्रविधि भनेकै परम्परागत पानी घट्ट एकमात्र विकल्प थियो। तर, अचेल त्यो जमाना पूरै फेरिएको छ। पछिल्लो समय तीव्र गतिमा भइरहेको अत्याधुनिक प्रविधिको विकास र विद्युतीय पहुँचका कारण सदियौँदेखि मुस्ताङमा प्रचलनका रूपमा रहेको परम्परागत ‘पानी घट्ट’ संस्कृति बिस्तारै लोप हुने अवस्थामा छ।
प्राचीनकालदेखि नै पिसानी गर्ने एक स्थानीय घरेलु प्रविधि माध्यमका रूपमा रहेको यस प्रकारको परम्परागत संस्कृतिका रूपमा परिचित ‘पानी घट्ट’ संरक्षण गर्नसमेत यतिबेला मुस्किल पर्ने देखिएको छ। हिमाली जिल्लामा रैथाने बालीलाई पीठो बनाउने सफा र उपयुक्त प्रविधिका रूपमा स्थापित बनेको परम्परागत ‘पानी घट्ट’ अचेल प्रविधिको विकाससँगै मुस्ताङका अधिकांश गाउँहरूमा लोप हुन थालेका छन्। पिसानी सहज बनाउने परम्परागत ‘पानी घट्ट’ सङ्कटमा परेको हो।
घरपझोङ–५ ठिनीमा गाउँहरूको सामूहिक एक परम्परागत पानी घट्ट सञ्चालनमा छ। यहाँको पानी घट्ट गाउँलेबाट वार्षिक तीन हजार शुल्क बुझाउने गरी ढुम्बा स्थानीय हिमा गुरुङले सञ्चालन गरेका छन्। ठिनी गाउँबाट दुई वर्षदेखि पानी घट्ट आफूले सञ्चालन गर्दै आइरहेको हिमा बताउँछन्।
पानी घट्टमा एक मुरी अन्न पिसेको एक पाथी ज्याला लिने गरेको सञ्चालक गुरुङ बताउँछन्। धेरै जसोले छिटोछरितोका लागि विद्युतीय मेसिनमा पिस्ने गर्छन्, घट्टमा घण्टौँ लाग्ने काम मेसिनले केही समयमै पूरा गरिदिन्छ। सञ्चालक गुरुङ भन्छन्, 'पानी घट्टको महत्व र यसबाट हुने फाइदा बुझेकाहरू पीठो पिस्न यहाँ आउनुहुन्छ।' यहाँ आफूले चलाएको पानी घट्टमा सेवा लिन ठिनी गाउँ र जोमसोम आसपासका सेवाग्राही आउने गरेको गुरुङले बताए।
पानी घट्टमा फापर, फापरको पात (ढाप्रा), उवा, फापर, जौँ, गहुँ र मकै पिस्न आउने गरेको जानकारी दिए। यहाँका पानी घट्ट सिँचाइका लागि प्रयोग गरिने कुलोको पानीबाट सञ्चालन गर्ने गरिएको उनको भनाइ छ। खेतीपातीमा सिँचाइ गर्दा घट्टको काम रोकिन्छ, अन्नबाली थन्क्याएपछिको खाली समयमा पानी घट्ट चलाउने गरेको उनले उल्लेख गरे। पछिल्लो समय प्रविधिको विकाससँगै जलवायु परिवर्तनका कारण पानीका हिमनदीहरू सुक्दै जान थालेपछि पानी घट्ट संस्कृति जोगाउन मुस्किल पर्ने देखिएको जनाए।
ठिनी पानी घट्टमा फापर पिस्ने सेवा लिन जानुभएकी घरपझोङ–४ जोमसोमकी स्थानीय प्रमिता थकालीले परम्परागत पानी घट्टको महत्व र फाइदा मानिसले बुझ्न नसकेको प्रति चिन्ता व्यक्त गरे। पानी घट्टमा पिसेको अन्नबालीको परिकार स्वादिलो, स्वास्थ्यवर्द्धक र दिगो हुने भएकाले आफू सधैँ पानी घट्टमा धाउने गरेको बताए।
पछिल्लो समय विद्युती मेसिन गाउँघरमा पर्याप्त मात्रामा सञ्चालनमा रहेको भए पनि घट्टमा पिसेको अन्नबालीको परिकार नतात्तिने, गन्ध नआउने, छिटो नब्रिने र धैर समयसम्म राख्न टिकाउ हुने भएकाले पानी घट्ट संस्कृति बिर्सन नहुने स्थानीय थकालीले उल्लेख गरे। मानिसहरू छोटो समय धेरै समय बचत गर्न चाहने सोचले गर्दा समय किफायत गर्न पानी घट्टमा जाने प्रचलन हराउँदै जान थालेको उनको भनाइ छ। जोमसोममा रहेको दुई पानी घट्टमध्ये एक पूरै बन्द भएको र अर्को पानी घट्ट चलाउन सिँचाइ कुलोको पानी नहुँदा समस्या पर्ने गरेको स्थानीय थकालीले बताए।
त्यसैगरी, घरपझोङ–५ ठिनी गाउँकी स्थानीय हाल पोखरा बस्दै आइरहेकी सीमा थकालीले पोखरामा लैजान फापर र उवाको सातु पिस्न घट्ट आएको बताइन्। मेसिनमा पिसेभन्दा पानी घट्टमा पिसेको पीठो स्वस्थ्यकर र लामो समयसम्म प्रयोगमा ल्याउन मिल्ने भएकाले पानी घट्टको संरक्षण गर्न आवश्यक रहेको औँल्याइन्।
पानीको सहायताले घट्टको जाँतोलाई घुमाएर चल्ने एक प्रकारको परम्परागत प्रविधि पानी घट्ट मुस्ताङका केही गाउँमा मात्र रहेको छ। यहाँ सदियौँदेखि घरेलु प्रविधिका रूपमा अपनाइएको परम्परागत पानी घट्ट संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्न सरोकारवाला निकायहरूले ध्यान दिनुपर्ने देखिएको छ। रासस
प्रकाशित: ७ कार्तिक २०८२ ०६:५१ शुक्रबार





