२१ माघ २०८२ बुधबार
image/svg+xml
समाज

तीन जिल्लामा सेनाले कर्फ्यू खुकुलो पार्‍यो

नेपाली सेनाले निषेधाज्ञा र कर्फ्यू क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएको छ। पछिल्लो सुरक्षा परिस्थितिको आधारमा नागरिकको जनधनको सुरक्षाका लागि काठमाडौं, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञा र कर्फ्यू खुकुलो तुल्याइने जनाइएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निषेधाज्ञा भदौ २६ गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म लागू हुनेछ। कर्फ्यू भने भदौ २६ गते बेलुकी ७ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्म जारी हुनेछ।

निर्देशनालयले भनेको छ, ‘नागरिकले अत्यावश्यक कार्यका लागि भदौ २६ गते बिहान ६ देखि १० बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म आवतजावत गर्न सक्नेछन्। निषेधाज्ञा र कर्फ्यूको समयमा अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारी साधनहरू सञ्चालन गर्न सकिनेछ।’

त्यसैगरी सरकारी कार्यालय, बैंक र वित्तीय संस्थासहितका सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन्। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो टिकट देखाएर विमानस्थलसम्म जाने सुविधा पाउने छन्।

सेनाले आवश्यक सहायताका लागि नजिकका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न र काठमाडौं उपत्यका बाहिरको सुरक्षा परिस्थितिअनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गरिने जानकारी दिएको छ। सेनाले जस्तोसुकै परिस्थितिमा पनि आम नागरिकको सुरक्षा र मानवीय उद्धारमा सक्रिय सुरक्षाकर्मीलाई सहयोग गर्न सबैले प्रयास गर्न सबैमा अपिल गरेको छ।

प्रकाशित: २५ भाद्र २०८२ २२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App