१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

कर्णाली कोरिडोरका चट्टान फोर्दै सेना

कर्णाली कोरिडोर सडक खण्डका विभिन्न स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी सडक निर्माण गरिरहेको छ। कालीकोटको घाटाचौरदेखि बाजुराको भुक्काखोलासम्मको ११.०५ किलोमिटर चट्टानी भाग छिचोल्ने काम सेनाले गरिरहेको छ। कडा चट्टानी भीरमा ट्र्याक खोल्ने कार्यलाई नेपाली सेनाले तीव्रता दिएको छ। सो खण्डमा सेनाले चट्टान विस्फोट गर्दै मेसिन र कामदारद्वारा एकसाथ निर्माण कार्य अगाडि बढाएको छ।

सडकको ११.०५ किलोमिटर चट्टानी भागमध्ये आठ किलोमिटर ट्र्याक खन्ने कार्य सकिएको कर्णाली कोरिडोर घाटाचौर—भुक्काखोला सडक निर्माण कार्यदलका प्रमुख मेजर सुकप्रसाद थकालीले जानकारी दिए। अझै साढे तीन किलोमिटर चट्टानी भागको ट्र्याक खोल्न बाँकी रहेको उनले बताए।

उनले भने, ‘सरकारले प्रत्यक वर्ष कम बजेट पठाउने गरेको छ, तर करिडोरको मापदण्डअनुसार कर्णाली नदीको किनारैकिनार सडकको ट्र्याक खोल्नुपर्ने मान्यताले फेरि किनारबाट सडक खन्ने अवधारणा अघि सारिएको छ। राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर निर्माणमा नेपाल सरकारले वार्षिक बजेट कम पठाउँदा काम छिटो सम्पन्न गर्न सकिएन।’

घाटाचौर–भुक्काखोला खण्डमा हालसम्म ५९ करोड, ७८ लाख २८, हजार ५२० रुपैयाँ खर्च भएको छ। २०७८ असोज ५ र फागुन १६ को मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त ठाउँमा नेपाली सेनालाई कामको जिम्मेवारी दिई घाटाचौर–भुक्काखोला खण्ड (११.०५ किमि) सडक खन्न लागिएको हो।

सेनाले पाँच वर्षदेखि चट्टानी भाग रहेको कालीकोटको घाटाचौरबाट बाजुराको भुक्काखोलासम्म ११.५ किमि सडक निर्माणका लागि काम सुरु गरिरहेको छ।  

नेपाली सेनाको निर्माण कार्यदलले पलाँताको घाटाचौरदेखि बाजुरासम्मको ११.०५ किलोमिटर खण्ड निर्माण गरिरहेको पलाँता गाउँपालिकाका स्थानीय टक्कबहादुर बमले बताए। यो सडकले कालीकोट जिल्लाको खुलालुदेखि बाजुरा, हुम्ला हुँदै चीनको सिमाना हिल्सासम्म जोड्छ।

कर्णाली करिडोर निर्माण पूरा भएपछि चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सादेखि भारतसँग सिमा जोडिएको बाँकेको जमुनाहसम्म उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो दूरीको सडक बन्ने छ।

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर निर्माणमा नेपाली सेनाले उल्लेखनीय योगदान दिएको छ, तर सरकारले निर्माणमा बजेट कम छुट्याउने गरेको छ। चट्टान र कठिन भौगोलिक अवस्थाका बिच सेनाले ट्र्याक निर्माण गरी कर्णालीका दुर्गम बस्तीलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न महŒवपूर्ण भूमिका निर्वाह गरेको पलाँता गाउँपालिकाका स्थानीय भीम आचार्यले बताए।

कर्णाली करिडोरले कालीकोट, बाजुरा र हुम्लाका नागरिकलाई यातायात, स्वास्थ्य, शिक्षा, व्यापार तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा ठुलो राहत पु¥याएको उनले बताए। सडक सञ्चालनपछि वस्तु ढुवानीको लागत घटेको, यात्रा समय छोटिएको र स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव परेको उनी बताउँछन्।

कर्णालीको ‘ग्रोथ एक्सिस’ का रूपमा रहेको कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्ला सलिसल्लासम्मको १२२ किलोमिटर सडक नेपाली सेनाले सात वर्षमा निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ।

प्रकाशित: १ श्रावण २०८३ १०:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App