जिल्ला प्रशासन कार्यालय बाँकेले इस्लाम धर्मावलम्बीहरूको रमजान महिना, हिन्दु समुदायले मनाउने फागु पूर्णिमा (होली) तथा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न अपिल गरेको छ ।
प्रशासनले पहिलो चरणमा जिल्लाका हिन्दु, इस्लाम, बौद्धलगायत विभिन्न धर्मका धर्मगुरुहरूसँग छलफल गरेको थियो भने दोस्रो चरणमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरू सहभागी सर्वदलीय बैठक सम्पन्न गरेको जनाएको छ । बैठकले समाजमा आपसी भाइचारा, सहिष्णुता र सम्मानको वातावरण सुदृढ गर्दै चाडपर्वलाई मर्यादित र व्यवस्थित रूपमा मनाउन आग्रह गर्ने निर्णय गरेको छ ।
यस वर्ष प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते हुने तय भएकाले फागुन १९ गतेदेखि मौन अवधि लागू हुनेछ । स्थानीय प्रशासनले मौन अवधिमा निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न, घरपरिवारमै सीमित रही चाडपर्व मनाउन तथा कुनै पनि प्रकारको प्रचार–प्रसार नगर्न निर्देशन दिएको छ ।
ध्वनि प्रदूषणको विषयलाई विशेष ध्यान दिँदै प्रशासनले पर्व, वैवाहिक तथा व्रतबन्धजस्ता कार्यक्रमहरू आयोजना गर्दा अत्यधिक ध्वनि नगर्न अनुरोध गरेको छ । सर्वपक्षीय बैठकको निर्णयअनुसार शान्तिपूर्ण र मर्यादित वातावरण कायम राख्न सबै पक्षलाई सजग रहन आह्वान गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै नागरिक, राजनीतिक दल र स्थानीय तहको जिम्मेवार भूमिका आवश्यक रहेको बताए । उनले सामाजिक सद्भावलाई बलियो बनाउँदै निर्वाचनलाई स्वच्छ बनाउन सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गरे ।
जिल्ला प्रशासनको यो पहलले बाँकेमा विभिन्न धर्म र समुदायबीच आपसी सम्मान, सहकार्य र सद्भाव प्रवद्र्धनमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।
_page_0001.jpg)
प्रकाशित: १२ फाल्गुन २०८२ १८:३२ मंगलबार





