२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

बालिका बलात्कार घटनामा खोटाङका चार विद्यार्थी संगठनको ध्यानाकर्षण

सिडिओलाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थीहरू। तस्बिरः महेश्वर

१३ वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ परेका खोटाङ सदरमुकामस्थित दिक्तेल इङ्लिस बोर्डिङ स्कुलका शिक्षक टेकबहादुर खत्रीलाई कानुन बमोजिम सख्त कारबाही गर्न माग गर्दै चार विद्यार्थी संगठनहरूले प्रशासनको ध्यानाकर्षण गराएका छन्। आफ्नै छात्रामाथि ३ दिनअघि बलात्कार गरेको आरोपमा पक्राउ सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–१ नेले स्थायी घर भई दिक्तेल बोर्डिङमा कार्यरत २४ वर्षीय टेकहादुर खत्रीलाई कारबाही गर्न विद्यार्थी संगठनहरूले सो माग गरेका हुन्।

बालिकालाई आफ्नै कोठामा बोलाएर जबरजस्ती करणी गरेको घटनाप्रति खोटाङमा क्रियासिल विद्यार्थी संगठनहरूले प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई ज्ञापनपत्र बुझाउँदै सख्त कारबाहीको माग गरेका हुन्। नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, एमालेनिकट अनेरास्ववियु, नेपाली कम्युनिष्ट पार्टिनिकट अखिल क्रान्तिकारी र जनता समाजवादीनिकट समाजवादी विद्यार्थी युनियनले संयुक्त ज्ञापनपत्र बुझाउँदै प्रशासनको ध्यानाकर्षण गराएका हुन्।

सिडिओ कँडेलकै कार्यकक्षमा पुगेर बुझाइएको ज्ञापनपत्रमा बालिका बलात्करजस्तो जघन्य घटनालाई अपराधको चरम रूप भएको भन्दै निष्पक्ष छानबिन गरी दोषीमाथि छिटो र सख्त कानुनी कारबाही अघि बढाउन माग गरिएको छ। विद्यार्थी संगठनहरूले पीडित छात्रालाई आवाश्यक उपचार, उचित क्षतिपूर्ति र सुरक्षित भविष्य तथा निरन्तर शिक्षाको सुनिश्चित गर्ने प्रत्याभूति गराउन पनि माग गरेका छन्।

ज्ञापनपत्रमा नेविसंघ अध्यक्ष मोतिचन्द्र राई, अनेरास्ववियु संयोजक शुसिला तिमलसिना, अखिल क्रान्तिकारी अध्यक्ष डार्विन चामलिङ र समाजवादी विद्यार्थी युनियन अध्यक्ष आश्रय राईको हस्ताक्षर रहेको छ। ज्ञापनपत्रमा नेपालको संविधान र प्रचलित कानुन अनुसार प्रत्येक नागरिकलाई शारीरिक तथा मानसिक सुरक्षाको अधिकार सुनिश्चित हुनुपर्ने व्यवस्था भए पनि यस्ता अपराधीहरूबाट निरीह बालबालिकाको अस्मीता लुट्ने घटनाको जतिसुकनै निन्दा र भत्र्सना गरे पनि कमै हुने उल्लेख छ।

विद्यार्थी संगठनहरूले खत्रीबाट भएको घटनाले तमाम विद्यार्थी, अभिभावक, शिक्षक तथा समग्र समाजलाई गहिरो नकारात्मक प्रभाव र मानसिक आघात पुर्याएको ठहर गरेको पनि उल्लेख गरेका छन्। पीडक शिक्षकलाई मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भए अनुसार जबरजस्ती करणीको गम्भीर कसुर मानेर कानुन अनुसार कडाभन्दा कडा सजाय गर्न पनि संगठनहरूले जोडदार माग गरेका छन्।  

फागुन ९ गते साँझ शिक्षक खत्रीले फागुन होमवर्क सिकाइदिने बहानामा बालिकालाई आफ्नै कोठामा बोलाएर जबरजस्ती गरेको खोटाङ प्रहरीले जनाएको छ। करणीपछि पनि तीन घण्टासम्म खत्रीबाट कोाठामै थुनिएकी बालिका फुत्केर रुँदै सरासर घर पुगेपछि घटनाबारे अभिभावकले जानकारी पाएका थिए।  

बालिकाको अवस्थाबारे थाहा पाएलगत्तै प्रहरी बोलाएर उनको परिवार पीडकको कोठा पुगेर उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। खत्रीविरुद्ध बालिकामाथि जबरजस्ती करणी अपराध बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी भनाइ छ।

प्रकाशित: १२ फाल्गुन २०८२ १८:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App