राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की–१ का उम्मेदवार खड्कराज (गनेस) पौडेलले केहीदिनअघि वाचापत्र सार्वजनिक गरे। वाचापत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग–रोजगार, भूमि अधिकार, सुशासन तथा पूर्वाधार विकासलाई उनले प्राथमिकतामा राखेको उल्लेख गरेका छन्।
विद्यालय शिक्षा ऐनमार्फत सबैको हित सुनिश्चित गर्ने, प्रत्येक वडामा पुस्तकालय स्थापना गर्ने तथा प्रत्येक पालिका वा १० हजार विद्यार्थीलाई पायक पर्ने गरी नमुना विद्यालय विकास गर्ने प्रतिबद्धता पनि उनले वाचावत्रमार्फत जनाएका छन। त्यस्तै पर्यटन क्षेत्रलाई उद्योगसरह सुविधा दिलाउने, पदमार्ग संरक्षण ऐन जारी गर्ने तथा कास्कीका प्रमुख ताल र पर्यटकीय गन्तव्यलाई जोड्ने ‘इको–टुरिजम सर्किट’ विकास गर्ने योजना पौडेलको वाचापत्रमा समेटिएको छ।
त्यस्तै वैकल्पिक खानेपानी मुहान, नदी, ताल र वन संरक्षणमा स्थानीय सहभागिता बढाउने तथा फोहोर व्यवस्थापनमा चक्रीय अर्थतन्त्र मोडल लागू गर्ने पनि उनले उल्लेख गरेका छन। पोखरा रंगशालाको स्तरोन्नति गर्नेदेखि निजी तथा सामुदायिकस्तरमा सञ्चालन भइरहेका स्पोट्र्स एकेडेमीलाई अनुदान उपलब्ध गराइने तथा प्रत्येक १० हजार जनसंख्याका लागि एक खेल मैदान निर्माण गर्ने लक्ष्य पनि उनले सार्वजनिक गरेका छन।
त्यही क्षेत्रका कांग्रेस उम्मेदवार तिलक रानाभाटले लेखनाथ रंगशालाको निर्माण पूरा गर्ने आफ्नो प्रमुख एजेन्डा रहेको भन्दै मतदातासामु भोट मागेका छन। चुनाव जितेपश्चात पहिलो प्रस्ताव नै लेखनाथको रंगशालालाई राष्ट्रियस्तरको बनाउने प्रतिवद्धता पनि रानाभाटले मतदातासामु गरेका छन।

कास्की १ कै एमाले उम्मेद्वार बैनबहादुर अधिकारी क्षेत्रीले पनि मतदातासामु अरुले जस्तै आश्वासन बाँडेर भोट मागिरहेका छन। सुकुम्बासी समस्या समाधानदेखि पूर्वाधार निर्माण, सुरक्षा जोखिम न्यूनिकरण, आर्थिक विकास र संसदीय सहभागितामा सक्रिय हुने भन्दै मतदातासामु उनले प्रतिबद्धता जनाएका छन।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का कास्की १ का उम्मेदवार राजकाजी गुरुङले पर्यटन, पूर्वाधार, उर्जा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान संचालन र स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्ने भनेर मतदाता रिझाउने प्रयास गरिरहेका छन।
कास्की ३ की रास्वपा उम्मेदवार बिना गुरुङले सार्वजनिक सेवा, विकास र सुशासनका पक्षमा इमान्दारितापूर्वक काम गर्ने चाहना रहेको भन्दै उनले मतदाता रिझाउने प्रयास गरेकी छिन। कास्की २ का एमाले उम्मेदवार रश्मि आचार्यले पोखराको व्यवस्थित विकास गर्ने भनेर मत तान्ने प्रयास गरिरहेका छन। पोखराको विकासमा देखिएका नीतिगत र कानुनी अल्झनले व्यवस्थित विकासमा कठिनाइ देखिएको भन्दै उम्मेदवार आचार्यले यसको समाधानमा लाग्ने वाचा कसेका छन।
‘हामी मतदाता पनि नेताहरुलाई ठेकेदार बनाउन लालायित भयौं, उनीहरुसँग विकास मागेका छौ। उम्मेदवार पनि ठेकेदार बन्न लालायित भएका छन,’ थापा भन्छन, ‘कुनैपनि दलका उम्मेदवारले म यस्तो नीति बनाउँछु भन्नुपर्ने हो, तर, धारा, बाटो, पुल बनाउँछौ भनेका छन। हामी गलत बाटोमा गएका छौ। हाम्रो ट्रेन्ड नै यस्तै भयो। नीति कानुन बनाउँछु भन्नु पर्नेमा आश्वास बाँडेका छौ।’
शिक्षा, स्वास्थ, रोजगारी, संरचनाको सौन्र्दयीकरण सहित युवा पुस्ता केन्द्रित महत्वपूर्ण विषयका काम गर्ने तथा नीतिगत कानुनी व्यवस्थापनमा भएका त्रुटिका कारण असरल्ल परेकोले विषय आफ्ना प्राथमिकतामा रहेको भन्दै उनी मतदातासामु पुगिरहेका छन। पोखराको पर्यटन विकासका लागि आफुले ‘लिंक पोखरा, मार्क पोखरा र ट्विट पोखरा’ को अवधारणा अघि सारेको उल्लेख गरेका छन।
पोखरामा भएका संरचना र क्षेत्रलाई भौगोलिक र सांकृतिक पाटोबाट एक आपसमा जोड्ने काम ‘लिंक पोखरा’ ग्रामीण इलाकामा नयाँ गन्तव्य निर्माण र विकासका लागि ‘मार्क पोखरा’ र पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्न ‘ट्विट पोखरा’ फलदायी हुने भन्दै आचार्यले मतदातालाई लोभ्याईरहेका छन।

त्यस्तै कास्की ३ का कांग्रेस उम्मेद्वार मनोज गुरुङले पनि पूर्वाधार विकासमा ध्यान दिँदै सडक सञ्जाल विस्तार, खानेपानी तथा सिँचाइ व्यवस्थामा सुधार गर्ने प्रतिवद्धता जनाएर मतदाता लोभ्याउने प्रयास गरेका छन। रोजगारी सिर्जनामा स्थानीय उत्पादन र साना उद्योग प्रवर्द्धनमार्फत रोजगार अवसर विस्तार गर्ने भन्दै गुरुङले सीपमूलक तालिम, उद्यमशीलता प्रवर्द्धन र प्रविधिसँग युवालाई जोड्न पहल गर्ने भनेर मतदातालाई आश्वासन दिएका छन।
निर्वाचनमा होमिएका विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले नयाँनयाँ आश्वासन दिलाउँदै मतदाता फकाउने प्रयास गरिरहेका छन। अघिल्ला निर्वाचनमा पनि यस्तै अभ्यास उम्मेदवारहरुले गर्दै आएका थिए। तिनै एजेन्डामा केहीले सामान्य फेरबदलमा गरेका छन भने कतिपयले पुरानै नारालाई अघि सारेर मतदाता फकाउने प्रयास गरिरहेका छन। भौतिक विकासमा ध्यान दिने र सुशासन कायम गर्ने भनेर उम्मेदवारहरुले मतदाताको घरघरमा पुगिरहेका छन। तर, भौतिक विकास गरिदिन्छु भनेर उम्मेदवारले मत तान्नु गलत अभ्यास भएको राजनीतिक विश्लेषक बताउँछन।
राजनीतिक विश्लेषक सुरेन्द्र थापा भन्छन, ‘सांसद विधायक बन्नुभन्दा पनि ठेकेदार बन्न लालायित भएका हुन। बाटो, घाटो, पुलपुलेसाका आकर्षक नारा देखाउने र ती पनि नबन्ने गरि मिथ्या आश्वासनमा रमाउने प्रवृद्धि बढेकोले यो अवस्था आएको हो।’ स्थानीय तहले गर्ने काम देखाएर मतादात तान्ने प्रयास संघीय संसदका उम्मेदवारले गरिरहेको उनले बताए।
‘हामी मतदाता पनि नेताहरुलाई ठेकेदार बनाउन लालायित भयौं, उनीहरुसँग विकास मागेका छौ। उम्मेदवार पनि ठेकेदार बन्न लालायित भएका छन,’ थापा भन्छन, ‘कुनैपनि दलका उम्मेदवारले म यस्तो नीति बनाउँछु भन्नुपर्ने हो, तर, धारा, बाटो, पुल बनाउँछौ भनेका छन। हामी गलत बाटोमा गएका छौ। हाम्रो ट्रेन्ड नै यस्तै भयो। नीति कानुन बनाउँछु भन्नु पर्नेमा आश्वास बाँडेका छौ।’
उनको बुझाईमा दल र उम्मेदवारले जारी गरेका घोषणापत्र, करारनामा, वाचापत्र पढेर कसैले भोट दिँदैनन। ‘यहाँ नीति नियमको कुरा आउँदैन। बाटोघाटो बनाउने कामलाई अघि सारिएको छ। बाटोघाटोको काम स्थानीय सरकारले गर्ने हो। हाम्रो गन्तव्य पनि बेठिक भयो। हामी त्यसैमा रमाएका छौ,’ उनले भने। बाटो, पानी ल्याउँछौ भनेर भन्नु भन्दा नियम बनाएर पालना गराउने हो भने स्वतः रुपमा विकासका ती काम हुने उनले बताए।
प्रकाशित: १२ फाल्गुन २०८२ १८:२७ मंगलबार



-600x400.jpg)

