१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

जापानमा नेपालीलाई जोड्न ‘एएनओ’ गठन

<br>

विश्वभर छरिएर रहेका नेपाली भाषी र नेपाली मूलका नागरिकलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ जापानमा ‘एसोसिएसन अफ नेपाली ओरिजिन’ (एएनओ) को राष्ट्रिय कमिटी गठन भएको छ।

सामाजिक अभियन्ता तथा साहित्यकार रविन शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको हो।

अमेरिका निवासी समाजसेवी डिल्ली अधिकारीको नेतृत्वमा सुरु भएको यो विश्वव्यापी अभियानअन्तर्गत जापान शाखा विस्तार गरिएको हो। एएनओ जापानले नेपाली मूलका नागरिकहरूको बौद्धिक, आर्थिक र सामाजिक क्षमतालाई नेपालसँग जोड्दै भाषा, कला र संस्कृतिको प्रवर्द्धन गर्ने मुख्य लक्ष्य राखेको छ।

कलाकार रामकृष्ण बम मल्लको सभापतित्वमा सम्पन्न घोषणा सभाको उद्घाटन गर्दै एएनओ अन्तर्राष्ट्रिय कमिटीका महासचिव चूडामणि भट्टराईले मानिस जहाँ जन्मे पनि उसको पहिचान मातृभूमि र पितृभूमिसँग जोडिने बताए।

उनले नेपाली पहिचानलाई जीवन्त राख्न र देशप्रतिको प्रेम गहिरो बनाउन एएनओको आवश्यकता रहेको दाबी गरे।

सम्मेलनले नेपाली पहिचान र अस्तित्वको रक्षासम्बन्धी महत्त्वपूर्ण प्रस्ताव समेत पारित गरेको छ। ‘हामी नेपाली जातिकाहरू हौं, हाम्रो मातृ तथा पितृभूमि स्वाभाविक रूपमा नेपाल नै हो। इतिहासको विभिन्न मोडमा पुर्खाले जन्मभूमि छाडेर विदेशी भूमिमा ओत लाग्नुपरे पनि संसारको जुनसुकै कुनामा रहेर हाम्रो भाषा, कला, संस्कृति र पहिचानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु हाम्रो दायित्व हो,’ पारित प्रस्तावमा भनिएको छ।

साथै, विश्वभर रहेका नेपाली मूलका नागरिकको विशेषज्ञता र क्षमतालाई उपयोग गर्ने नीति बनाउन नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि सम्मेलनले गरेको छ।

सम्मेलनबाट कमिटीको उपाध्यक्षमा सूर्य खड्का र महासचिवमा उदय लामा चयन भएका छन्।

यसैगरी, सचिवमा कामना भण्डारी, कोषाध्यक्षमा मधु क्षेत्री र प्रवक्तामा केपी ओली छानिएका छन्।

कमिटीका सदस्यहरूमा महेन्द्र न्यौपाने, प्रथम गुरुङ, रितु थापा, समुद्रराज पौडेल, सुशान्त भट्टराई, सागर थापा, कोशिका लिम्बू, ज्याक खड्का, गोकर्ण अधिकारी, प्रेम बलम्पाकी र दीपक कँडेल चयन भएका छन्।

प्रकाशित: १७ फाल्गुन २०८२ १६:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App