नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले देश निर्माणका लागि घृणा र उत्तेजनाको राजनीति नभई सपना देखेर त्यसलाई पूरा गर्ने संकल्प आवश्यक रहेको बताएका छन्।
आइतबार काठमाडौंको कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा थापाले यस्तो बताएका हुन्।
‘एउटा नेताको काम घृणा र उत्तेजना फैलाउने हो कि सपना देखेर त्यसलाई पूरा गर्न निरन्तर प्रयास गर्ने हो ?’ उनले भने ‘म ठान्दछु, नेताको काम सपना देख्ने र त्यसलाई पूरा गर्न निरन्तर प्रयास गर्ने हो।’
थापाले युवा पुस्तालाई लक्षित गर्दै सूचना प्रविधि (आईटी) क्षेत्रको विकासका लागि आफूहरुले रातदिन काम गरिरहेको र कानुनहरू समेत परिवर्तन गरेको दाबी गरे।
‘अबको ५ वर्षभित्र सूचना प्रविधिको क्षेत्रलाई हामी नेपालको एउटा महत्त्वपूर्ण उद्योगको रूपमा स्थापना गर्नेछौं,’ थापाले भने, ‘कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यसको योगदान ५ प्रतिशत पुर्याउने र कम्तीमा १ लाख नयाँ, उच्च गुणस्तरीय र राम्रो कमाइ हुने रोजगारी यही क्षेत्रमा सिर्जना गर्ने हाम्रो लक्ष्य छ।’
पछिल्लो समय राजनीतिमा देखिएको गालीगलौज र उत्तेजनाप्रति इङ्गित गर्दै थापाले आफूहरु परिणाममुखी काममा विश्वास गर्ने स्पष्ट पारे।
देशको अवस्था अप्ठ्यारो रहेको, युवाहरू रुस-युक्रेन युद्धदेखि मध्यपूर्वसम्म पुगेको यथार्थलाई स्वीकार गर्दै उनले भने, ‘यति धेरै ठूलो अप्ठ्यारोमा परेको देशलाई सम्हाल्न केवल घृणाको भाषा र गाली गरेर मात्र हुँदैन। हामी यसलाई सम्हालेर ५ वर्षभित्र परिणाममा पुर्याउन चाहन्छौं।’
प्रकाशित: १७ फाल्गुन २०८२ १६:०३ आइतबार





