सुनसरी क्षेत्र नं. १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका हर्क साम्पाङ् विजयी भएका छन्।
धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर चुनाबी प्रतिस्पर्धामा उत्रिएका उनले ३५ हजार ७४१ मत ल्याएर विजयी भएका हुन्। उनले निकटम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङलाई आठ हजार ४९२ मतान्तरले पछि पार्दै जितेका हुन्। गोमाले २७ हजार २४९ मत ल्याइन् ।
क्षेत्र नं १ बाट उनीसहित २८ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। अघिल्लो २०७९ प्रतिनिधीसभाको निर्वाचनमा पनि गोमाले थोरै मतान्तरले हारेकी थिइन्। अघिल्लोपटक गोमाले १६ हजार ६०६ मत ल्याएकी थिइन्। त्यो बेलाका विजयी उम्मेदवार अशोक राईसँग ४५३ मतको मात्र मतान्तर थियो ।
साम्पाङ्ले श्रम गरेर मात्र देश उँभो लाग्ने नारा दिएर मतदाता रिझाएका थिए। साथै, उनले आफू धरानको मेयर हुँदा खानेपानीको मुद्दाले जितेर पूरा गरेकाले अब देशमा सुशासन कायम गर्ने, अपरादर्शिता हटाउने र भ्रष्टाचार हटाउन भूमिका खेल्ने नारा पनि अघि सारेका थिए।
क्षेत्र नं. १ मा जातिय मतको प्रभाव पर्ने गरेको छ। साम्पाङ राई समूदायबाट उम्मेदवार हुनु र लाहुरे परिवारको हुनुले सबैभन्दा बढी फाइदा पुगेको देखिन्छ। साम्पाङका सवल पक्षमा कुनै पनि काममा प्रतिबद्द भएर लाग्ने, दृढ इच्छा शक्ति भएका, दातालाई कन्भिन्स गर्ने क्षमता र सामाजिक सञ्जालमा सक्रिय हुने गरेका छन् ।
२०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मिएका साम्पाङले धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातक गरेका छन्। पूर्वब्रिटिस गोर्खा सैनिक परिवारका कान्छा सन्तानका रूपमा हुर्किएका उनले खोटाङकै शुक्रबारे माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि २०५७ सालतिर उच्च शिक्षाका लागि धरान झरेर संघर्षपूर्ण जीवन बिताए। उनी वैदेशिक रोजगारीमा समेत गएर फर्किएका थिए।
नेपालका पहिलो कम्यूनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीले २०४८ सालमा चुनाव जितेपछि एमालेले ०४८, ०५१ र ०५६ सालमा पनि निरन्तर जित्दै आएको थियो। नेकपा एमालेले २०६४ सालको संविधानसभा निर्वाचनमा सो क्षेत्र गुमाएकोमा दोस्रो संविधानसभा निर्वाचनमा फेरि ‘कमब्याक’ भएको थियो। २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा पनि एमालेलै जितेको थियो। दस वर्षे जनयुद्धपछि पहिलोपटक ०६४ को संविधानसभा निर्वाचनमा भाग लिएको बेला माओवादीले क्षेत्र नं. १ जितेको थियो।
२०७९ सालको निर्वाचनमा एमालेसँगै तालमेलमा सुनसरी निर्वाचन क्षेत्र नं १ बाट तत्कालिन जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई विजयी भएका थिए। यसपटक भने नयाँ दल श्रम संस्कृतिले जित्न सफल भएका छ।
क्षेत्र नं. १ धरान उपमहानगरपालिकासहित बराहक्षेत्र नगरपालिकाका पाँचवटा र रामधुनीका दुईवटा गरि २७ वटा वडा समेटिएको छ। क्षेत्र नं. १ मा यसपटक एक लाख ५० हजार ३९३ जना मतदाता रहेकोमा ८८ हजार ३७२ मत खसेको थियो।
प्रकाशित: २४ फाल्गुन २०८२ १३:२८ आइतबार





