गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।
विशेष अदालतको पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले आइतबार प्रधानमन्त्री कार्यालयमा पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेको छ ।
प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका सदस्य विज्ञानराज शर्माले घटनामा संलग्न केही व्यक्तिमाथि कारबाही सिफारिस गरिएको बताएका छन्। उनले आन्दोलनका क्रममा सुरक्षामा कमजोरी देखिएको निष्कर्ष आयोगले निकालेको बताएका छन्।
उनका अनुसार आयोगले भदौ २३ र २४ मा भएका घटनाको तथ्यगत अध्ययन गर्दै प्रत्यक्षदर्शी, सरकारी अधिकारी तथा उपलब्ध प्रमाणका आधारमा निष्कर्ष र सुझाव तयार पारेको छ। ‘हामीले देखेको, बुझेको र प्रमाणको आधारमा राय सुझाव दिएका छौँ। अब प्रतिवेदन सरकारको सम्पत्ति भइसकेको छ, आवश्यक कारबाही सरकारले गर्छ,’ उनले भने।
आयोगले करिब १० हजार पृष्ठको विस्तृत प्रतिवेदन सरकारलाई बुझाएको जनाएको छ। प्रतिवेदनमा गल्ती गर्नेहरूलाई कारबाही सिफारिस गरिएको भए पनि कति जना र कसलाई भन्ने विषय सार्वजनिक नगरिएको आयोगले जनाएको छ।
प्रकाशित: २४ फाल्गुन २०८२ १३:२२ आइतबार





