२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

सुनसरी-३ : पुराना दलको विरासत तोड्दै अशोकको सानदार जित

लामो राजनीतिक विरासत बोकेर ‘हेभीवेट’ नेताको रूपमा चिनिएका पुराना दलका नेतालाई भारी मतले पराजित गर्दै सुनसरी क्षेत्र नं. ३ बाट रास्वपाका अशोक चौधरी विजयी भएका छन्।  

उनी ४७ हजार ४२१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले २० हजार ५०१ मत ल्याए। उनी आठौं पटक चुनावी प्रतिस्पर्धा थिए। तेस्रो प्रयासमा अघिल्लो पटक चुनाव जितेकी एमालेकी भगवती चौधरीले १५ हजार ८३ मत ल्याइन्।  

वि सं. २०४० साल वैशाख ४ गते जन्मिएका अशोक यसअघि पनि रास्वपाका समानुपातिक प्रतिनिधिसभा सदस्य थिए। इटहरी वडा नं. ५ घर भएका उनले यसपटक प्रत्यक्षमा चुनाव लडेर हेभीवेट भनिएका कांग्रेसका विजय र एमालेकी भगवतीलाई हराएका हुन्।  

उनी चुनावी अभियानका क्रममा विकास, सुशासन र जिम्मेवार राजनीतिक सोचका साथ मतदातासमक्ष पुगेका थिए। भ्रष्टाचार, शिक्षा, स्वास्थ्य तथा नागरिकबिच भएको असमानताको अन्त्य गर्ने सवालमा उनले संसदमा बुलन्द आवाज उठाउँदै आएका थिए। निडर, हक्की र मर्यादित राजनीतिक संस्कारका चौधरी पूर्व डोरीतान खेलका खेलाडी तथा सामाजिक अभियान्ता समेत हुन्।  

उनको विं सं.२०२७ सालदेखि पार्टी राजनीतिमा सक्रिय गच्छदारको राजनीतिक यात्रामा समेत अब सम्भवत पूर्ण विराम लागेको छ। गच्छदार २०४८ सालयता निरन्तर शक्तिमा रहँदै आएका थिए। कांग्रेसको १४ औं महाधिवेशनबाट उपसभापतिमा पराजित भएसँगै कमजोर बनेका उनी अघिल्लो २०७९ सालको निर्वाचनमा एमालेकी भगवतीसँग पराजित भएका थिए। उनले यसपटक अन्तिम पटक भन्दै मतदातासँग मत मागेका थिए। एमालेकी भगवतीलाई समेत अब विगतको जस्तो राजनीतिक यात्रा सहज छैन्।  

क्षेत्र नं. ३ मा राजनीतिक दलहरुबाट १६ र स्वतन्त्र छ गरि २२ जना प्रतिस्पर्धामा थिए। यस क्षेत्र मा इटहरी उपमहानगरपालिकाका दसवटा वडासहित दुहवी नगरपालिका, गढी र बर्जु पुरै गाउँपालिका समेटिएको छ। इनरुवाको वडा नं. ७ पनि क्षेत्र नं. ३ मै समेटिएको छ। यहाँ कुल एक लाख ३४ हजार ३०२ मतदाता रहेकोमा ९४ हजार १११ मत खसेको थियो।

प्रकाशित: २४ फाल्गुन २०८२ १३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App