३२ असार २०८३ बिहीबार
image/svg+xml
समाज

बागलुङमा वार्षिक २३ हजार मेट्रिक टन दुध उत्पादन

बागलुङ जिल्ला दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। व्यावसायिक पशुपालनमा किसानको आकर्षण बढ्दै जाँदा जिल्लामा वार्षिक २३ हजार १५७ मेट्रिक टन दूध उत्पादन हुन थालेको हो।  

विदेशी रोजगारीबाट फर्किएका युवाहरूले गाईभैँसी पालनलाई मुख्य पेशा बनाउँदै व्यावसायिक रूपमा दूध उत्पादन गर्न थालेपछि जिल्लाको दुग्ध उत्पादनमा  वृद्धि भएको हो।  

बागलुङ नगरपालिका–१२ का लिलाधर शर्माले मलेसियाबाट फर्किएपछि सञ्चालन गरेको गाई फार्ममा हाल २५ वटा माउ गाई छन्। उनको फार्मबाट उत्पादन भएको दूध बागलुङ बजारमा आफ्नै बिक्री केन्द्रमार्फत बिक्री गर्दै आएका छन्। 

त्यस्तै, साउदी अरबबाट फर्किएका जैमिनी नगरपालिका–१ कुश्मीशेराका विकास पौडेल पनि सफल व्यावसायिक दुग्ध किसानका रूपमा स्थापित भएका छन्। उनले दूध उत्पादन र बिक्रीबाट राम्रो आम्दानी गर्दै आएका छन्।  

जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाका अनुसार स्थानीय, प्रदेश र संघीय सरकारबाट उपलब्ध अनुदान, प्राविधिक सहयोग तथा उपचार सेवाले किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गरेको छ। 

उनका अनुसार जिल्लामा आवश्यकताभन्दा बढी दूध उत्पादन हुने भएकाले बागलुङबाट पर्वत र गुल्मी जिल्लामा समेत दूध निर्यात भइरहेको छ। केही वर्षअघि पोखराबाट दूध आयात हुने बागलुङमा अहिले भने स्थानीय किसानकै उत्पादनले बजारको माग पूरा गरिरहेको छ।  

जिल्लामा हाल १५ वटा दुग्ध सहकारीमार्फत दूध संकलन तथा बिक्री हुँदै आएको जिल्ला दुग्ध सहकारी संघले जनाएको छ। किसानले व्यक्तिगत, समूहगत र सहकारीमार्फत दूध उत्पादन गर्दै आएका छन्।  

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका अनुसार बागलुङमा हाल ८६ हजार ९२० भैँसी र २१ हजार ६६० गाई पालन भइरहेको छ। जिल्लामा मुर्रा, स्थानीय क्रस, जर्सी तथा होलस्टेन जातका गाईपालन हुँदै आएको केन्द्रले जनाएको छ। 

किसान विकास पौडेलका अनुसार गाउँसम्म सडक सञ्जालको विस्तार, यातायातको सहज पहुँच, घाँस तथा परालको उपलब्धता, उत्पादनमा आधारित सरकारी अनुदान र उचित बजार मूल्यका कारण पशुपालन व्यवसाय थप आकर्षक बनेको छ। हाल जिल्लामा दूधको थोक मूल्य प्रतिलिटर ७० देखि ९० रुपैयाँ तथा खुद्रा मूल्य १०० देखि १२० रुपैयाँसम्म रहेको किसानहरूले बताएका छन्।     

प्रकाशित: १४ असार २०८३ १०:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App