२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

मेची राजमार्गसहित वैकल्पिक मार्गसमेत अवरुद्ध, खुल्ने छैन निश्चित

गएरातिको अविरल वर्षापछि बाढी–पहिरो जाँदा मेची क्षेत्रको ‘लाइफलाइन’ मानिने मेची राजमार्ग दर्जनौं ठाउँमा अवरुद्ध छ । झापा–इलाम सीमा जोरकलशदेखि फिक्कलसम्म खास अवरोध नभएपनि गोदक, राजदुवाली, नेपालटारगायत ठाउँमा ठूला अवरोध छन् ।  

मेची राजमार्ग झापा–इलाम–पाँचथर र ताप्लेजुङ जोड्ने मुख्य पक्की मार्ग हो । यसबाहेक यो क्षेत्रको निर्माणाधीन केचना–कञ्चनजंघा मार्ग पनि अवरुद्ध छ । यहाँको पुवाखोलामा केही महिनाअघिमात्र उद्घाटन गरिएको बेली ब्रिज बाढीले बगाएको छ भने माइखोलामा रहेको बेलासे पक्की पुल बीचैमा भाँच्चिएको छ । वैकल्पिक मार्गकै रूपमा रहेको गोदकको सिमल गोलाईदेखि तिल्केनी सडकको जोगमाई खोलामा पनि केही महिनाअघि जडान गरिएको बेली ब्रिज बाढीले बगाएको छ ।  

डिभिजन सडक कार्यालयका अनुसार इलामको राजदुवालीमा पोहोर पहिरो गएकै ठाउँमा यसपालि अवरोध भएको हो । पोहोर असोजमा यहाँ पहिरो जाँदा करिब २ साता सवारी अवरुद्ध थिए । मर्मत गरेर हिउँदभर गाडी चलेपनि अहिले त्यही ठाउँमा अवरोध भएको छ । डिभिजन प्रमुख पवन भट्टराईले अवरोध खुलाउन ३ दिनजति लाग्नसक्ने बताए । ‘जोरकलश–फिक्कल खुलेको छ, फिक्कलदेखि माइखोला ४–५ ठाउँमा पहिरो आएर बन्द छ,’ उनले भने, ‘सूर्योदय नगरपालिका र इटहरी नगरपालिकाबाट ठूलो मेसिन (एक्स्काभेटर) ल्याएर राजमार्ग सफा गर्नुपर्ने अवस्था छ ।’  

उनले इटहरीको पनि मेसिन आउँदैगरेकाले भरे साँझसम्ममा माइखोलाबाट फिक्कलपट्टिको भागमा राजमार्ग खुलाउने काम सुरु गर्न सकिने भएपनि राजदुवालीमाथि गोलाखर्कसम्मको खण्डलाई समय लाग्ने बताए । ‘राजदुवालीमाथिको भाग चाहिँ ३ दिनजति लाग्नसक्छ, ठूलो मेसिन छैन, सानो मेसिनले सम्भव छैन,’ उनले भने, ‘ठूलो मेसिन फिक्कलतिरबाट लैजान पुलले थाम्दैन, खोलाबाट पास हुँदा पानी घटेपछि सडक बनाएर जानुपर्छ ।’ उनले राजदुवाली खण्ड खुलेपछि अरूतिरको अवरोध हटाउन धेरै समय नलाग्ने बताए ।

उनका अनुसार माइखोलाबाट इलाम बजारपट्टि गोलाखर्कसम्म ३, ४ ठाउँमा अवरोध छ । त्यसभन्दा माथि बजारसम्म खास अवरोध छैन । इलाम बजारबाट बिब्ल्याँटे जाने सडकको चुरोघाँटीमा मर्मत हुँदैछ । ‘पुवाखोलासम्म मर्मत भइहाल्छ तर पुवाखोलादेखि साखेजुङ जाने खण्ड चाहिँ निकै बिग्रिएको छ,’ उनले भने, ‘त्यहाँबाट पाँचथर सीमा राँकेसम्म ४–५ ठाउँमा पहिरो छ ।’  

उनले कतै मेसिन लैजान समस्या भएको र निजी क्षेत्रका मेसिन प्रयोग गर्न त्यसका अपरेटर (चालक) दसैं बिदामा रहेकाले पनि समय लाग्ने भएको जनाए । ‘निजी कम्पनीका मेसिन प्रयोग गर्नलाई अपरेटर दसैं बिदामा घर (टाढा) गएका रहेछन्,’ उनले भने, ‘तर, सकेसम्म सबैको समन्वयमा मेची राजमार्ग चाँडोभन्दा चाँडो खुलाउन लागिपरेका छौं ।’ राँकेदेखि पाँचथर फिदिमतर्फको लालीखर्क र पौवामा पनि ठूलो पहिरो झरेको उनको भनाइ छ ।  

प्रशासनले मेची राजमार्गसहित इलामका मुख्य सडकमा २० गते बिहान ६ बजेसम्म सवारी नचलाउन १८ गते नै सूचना गरेको थियो । १९ गते रातिको भीषण वर्षाले दर्जनौं ठाउँमा अवरोध भएपछि सवारी साधन ठप्प छन् । मेची राजमार्ग र वैकल्पिक मार्ग नुहँदा इलाम, पाँचथर र ताप्लेजुङमा दैनिक उपभोग्य वस्तु ढुवानीमा असर पर्नेगरेको छ । चाँडोभन्दा चाँडो राजमार्ग खुलाउन स्थानीयले अनुरोध गरिरहेका छन् ।  

विद्युत् अवरुद्ध  

वर्षापछिको बाढी र पहिरोले १८ गते रातिदेखि नै इलाम जिल्लाभर विद्युत् अवरूद्ध छ । झापाबाट आउने १२५ केभी प्रसारण लाइनका ३४ र ३५ नम्बर पिलरबाट तार झरेका कारण मुख्य मार्ग नै अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणको इलाम वितरण केन्द्रले जनाएको छ । केन्द्र प्रमुख बिजलीप्रसाद यादवले बिजुली चालु गर्न प्रयत्न गरिरहेको बताए ।  

‘१२५ केभी प्रसारण लाइनका ३४ र ३५ नम्बर पिलरबाट तार झरेको मर्मत चाहिँ झापाको दमक कार्यालयले गर्छ,’ उनले भने, ‘इलामभित्र कहाँ कति बिग्रिएको छ भन्ने अध्ययन भइरहेको छ ।’ उनले १२५ केभी प्रसारण लाइनको विकल्पमा पोहोरको जस्तै झापाको धुलाबारीबाट अर्को लाइनसमेत ल्याउन सकिने बताए । ‘इलामभित्रको अवरोध हटाएर विद्युत् सञ्चालन हुने बनाउनु छ, पाडाजुँगीबाट तत्काललाई बैकल्पिक व्यवस्था गर्नेबारे पनि योजना बनाउँदैछौं,’ यादवले भने । बिजुली चालु  हुन कति समय लाग्न भन्ने यकिन नभएको उनको भनाइ छ ।

असोज १८ रातिको भीषण वर्षापछिको बाढी–पहिरोले इलाममा अपराह्न ३ बजेसम्ममा ३७ जनाको मृत्यु भएको छ । १ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । सूर्योदय नगरपालिका १, मानेभञ्ज्याङमा ५, इलाम नगरपालिका ६ मा १, सन्दकपुर गाउँपालिकामा ६, माङ्सेबुङ गाउँपालिकामा ३ जना, देउमाई नगरपालिकामा ८, माइजोगमाई गाउँपालिकामा ८ र फाकफोकथुम गाउँपालिकामा १ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका ६ का १ जना बेपत्ता छन् ।

नेपाली सेनाको हेलिकप्टरले माङ्सेबुङ गाउँपालिका १ को गजुरमुखीबाट गर्भवती साधना लिम्बू, मदन लिम्बू उनीहरूका छोरा संयोग लिम्बूको उद्धार गरेको छ । उनीहरू पहिरोमा गम्भीर घाइते छन् ।

 

मेची राजमार्गको राजदुवाली छेउको पहिरोमा फसेको गाडी ।

प्रकाशित: १९ आश्विन २०८२ १५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App