१३ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

सुनसरीमा सर्वदलीय बैठक बस्नै सकेन

सुनसरी देवानगञ्जमा भएको घटना साम्य पार्न प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले मंगलबार दिउँसो बोलाएको बैठक हुन सकेन।

अर्यालका अनुसार केही रास्वपाका व्यक्तिहरू आए पनि अरू कोही नआएपछि बैठक बस्न सकेन। प्रजिअ हिजो राति मात्र संखुवासभाबाट सरुवा भएर आएका हुन्।

‘घटनालाई साम्य पार्नका लागि सवैसँग समन्वय गरेर अघि बढिरहेको छु, यद्यपि आज दिउँसो बोलाएको बैठकमा केही रास्वपाका बाहेक अरू आउन सक्नुभएन,’ उनले भने।

उनले देवानगञ्जसहित पाँचवटा पालिका प्रमुख, प्रदेश सांसद र सङ्घीय सांसदलाई डाकेका बताए। घटनालाई साम्य पार्न प्रयासरत रहेकाले गर्दा घटनामा परि मृत्यु भएका परिवारको घर जानेदेखि अरू घाइतेका आफन्तलाई भेट्ने कार्यक्रम तय भएर त्यतैतिर जान लागेको उनले बताए।

हिजो यसअघिका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बोलाएको सर्वदलीय बैठकमा आ–आफ्नो स्थानबाट सद्भाव कायम गर्न अपिल गर्नेबाहेक केही ठोस निर्णय गर्न सकेको थिएन।

सरकारले सीडीओ बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता समेत बोलाइ सकेको छ। सरकारले सिडिओ घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएको हो।

उनको ठाउँमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाएर हिजै रातिदेखि कार्यभार सम्हालेका हुन्।

सरकारले कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरे, सुनसरीका प्रहरी प्रमुख एसपी केशव थेवे र सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाएको हो।

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजीमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाल, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी र सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौंमा कार्यरत डिएसपी मदन नाथलाई कप्तानगञ्जमा पठाइएको छ।

प्रकाशित: १२ श्रावण २०८३ १८:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App