उत्तरतर्फ बाँके राष्ट्रिय निकुञ्जको घनघोर जंगल। दक्षिणमा राप्ती नदीको कलकल बगिरहेको पानी। बिहान-बेलुका सुर्योदय र सुर्यास्तको मनोरम दृश्य। यि प्राकृतिक सम्पदाको बीचमा अवस्थित छ, ‘अगैया स्प्रिङ रिभर साईट रिसोर्ट’। यो रिसोर्ट पछिल्लो समयमा बाँकेको बेग्लै खालको नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ। कोहलपुरका व्यवसायी देवानन्द अर्यालले बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ गोवारपुर गाउँमा सञ्चालनमा ल्याएको यो रिसोर्टले यतिबेला धेरैको ध्यान तान्न थालेको छ।
रिसोर्टमा बास बस्नुका साथै नेपाली, इण्डियन, चाइनिज र कन्टिनेन्टल खानासहित निकुञ्जभित्र जंगल सफारी र राप्ती नदीमा बोटिङ तथा र्याफ्टिङ गर्ने सुविधा रहेको छ। रिसोर्टमा बस्न आउने व्यक्तिलाई छुट्टै खालको आनन्द महसुस हुन्छ। पूर्व-पश्चिम राजमार्गबाट एक किलोमिटर दक्षिण राप्ती नदी किनारमा करिब एक विघा क्षेत्रफलमा रिसोर्ट फैलिएको छ। रिसोर्टमा अहिले बोटिङ तथा र्याफ्टिङ, जंगल सफारी, क्याम्प फायर, खाना, खाजा खानका लागि दैनिक रूपमा ठुलो संख्यामा मानिसहरू आउने गरेका छन्। कतिपय व्यक्तिहरू फोटो खिच्नकै लागि पनि रिसोर्टमा आउने गरेको सञ्चालक अर्याल बताउँछन्।
‘यो रिसोर्ट राप्ती नदीको छेउमा अवस्थित छ, प्रकृतिसँग नजिक हुन खोज्ने व्यक्तिलाई एकदमै राम्रो वातावरण छ,’ अर्यालले नागरिकसँग भने, ‘यहाँबाट वरिपरिको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ, सिजनल रूपमा नदी/खोलाकै माछा, लोकल कुखुराको मासु पाहुनालाई खुवाउँछौं।’ जंगल र पानीसँग गतिविधि गर्न चाहने विशेषगरी बाँके राष्ट्रिय निकुञ्जको पाटेबाघ बस्ने कोर एरिया भएकाले पर्यटकका लागि उचित गन्तव्य रहेको सञ्चालक बताउँछन्।
अहिले रिसोर्टमा केही विदेशी पाहुनासहित नेपालगन्ज, कोहलपुर, दाङ तुलसीपुर, सुर्खेतलगायतका ठाउँबाट आउने गरेका छन्। रिसोर्टमा ‘डच फ्रेम’ प्रविधिका घरहरू निर्माण गरिएको छ। जस अनुसार ठुलो ८ वटा, सानो ६ वटा घर रहेका छन्। जसमा ३ सय जना अट्ने ठुलो हल पनि रहेको छ। यसका साथै रेष्टुरेन्ट, बार, स्वीमिङ पुल निर्माण गरिएको छ। रेस्टुरेन्टमा एकै पटक डेढ सय जनाले बसेर खान सक्छन्। रिसोर्ट परिसरमा ५० वटा जति कार र करिब डेढ सय वटा मोटर साइकल पार्किङ गर्न मिल्ने क्षेत्र छुट्याइएको छ।
कुल १५ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएकोमा अहिलेसम्म रिसोर्टमा १२ करोड खर्च भइसकेको छ। ‘दैनिक ९० जना पाहुना बस्न मिल्ने रुम तयार भइसकेका छन्, अझै ५ वटा रुम थप्ने योजना छ,’ अर्यालले भने। रिसोर्टले स्थानीय २१ जना व्यक्तिलाई रोजगारी दिएको छ। विगत दुई महिनादेखि आंशिक रूपमा रिसोर्ट सञ्चालनमा आएपछि गाउँमा किसानले उत्पादन गरेका लोकल कुखुरा, खसी, तरकारी, अन्नपात यतै खपत हुने गरेको छ।
सञ्चालक अर्याल विगत १६ वर्षदेखि होटल व्यवसाय क्षेत्रमा आबद्ध छन्। करिब ८ वर्ष कोरियामा बसेका उनले २०६७ सालमा कोहलपुरको न्युरोडमा पहिलो पटक होटल सेन्ट्रल प्लाजा खोलेका थिए। त्यसपछि उक्त होटल बेचेर कोहलपुरकै मदन चोकमा पाँचतारे स्तरको सेन्ट्रल प्लाजा सञ्चालनमा ल्याए। त्यसपछि उक्त होटललाई पनि बिक्री गरेर बर्दियाको ठाकुरद्वारामा जंगल सेन्ट्रल प्लाजा खोले। उक्त होटललाई भने अहिले पनि अर्यालले नै सञ्चालन गरिरहेका छन्।

‘अगैया स्प्रिङ रिभर साईट रिसोर्ट’मा हामीले विगत दुई महिनादेखि ‘प्रिओपिनिङ’ विशेष प्याकेज दिइरहेका छौं। रिसोर्टमा आउने पाहुनाका लागि बास बस्ने सुविधासहित विभिन्न प्याकेज दिएका छौं। रिसोर्टमा सिंगल (एक जना बस्न मिल्ने), दुई जना (डबल) बस्न मिल्ने र ट्रिपल (तीन जना बस्न मिल्ने) बेड राखिएका रुम निर्माण गरिएको छ। सिंगल र डबलको बेडको शुल्क २ हजार ५ सय र ट्रिपलको शुल्क ३ हजार ५ सय रुपैयाँ तोकिएको छ। रिसोर्टमा राप्तीको माछा, लोकल कुखुरा तथा खसीको मासु खाना ७ सय ५०, ब्रोइलर कुखुराको मासु खाना ६ सय र शाकाहारी खाना ५ सय रुपैयाँमा पाइन्छ। समूह बनाएर आउने पाहुना र प्याकेजमा बस्न चाहनेलाई छुटको व्यवस्था गरिएको छ।अंग्रेजी नयाँ वर्ष सन् २०२६ देखि रिसोर्ट पूर्ण रूपमा सञ्चालनमा आउनेछ। त्यसपछि हरेक शुक्रबार रिसोर्टमा आउने पाहुनालाई निःशुल्क रूपमा अवलोकन गराउन ‘साँगितिक साँझ’ सञ्चालन गर्नेछौं।
निकुञ्जमा जंगल सफारी
बाँके राष्ट्रिय निकुञ्ज नजिकै रहेकाले यो पाटेबाघको ‘कोर एरिया’ मानिन्छ। हामीले रिसोर्टमा आउने पाहुनालाई निकुञ्जभित्र जंगल सफारी गराउँछौं। पाटेबाघ लगायत विभिन्न प्रकारका वन्यजन्तु देखाउँछौं। सफारीका लागि पाहुनाबाट प्रति ट्रिप १३ हजार रुपैयाँ शुल्क लिन्छौं। एक ट्रिपमा १० जना जतिलाई सफारी गराउन सकिन्छ। उनीहरूलाई ४ देखि ५ घण्टा जंगलभित्र सफारी गराइन्छ। दुई महिनाको अवधिमा रिसोर्टले करिब १० ट्रिप सफारी गराइसकेको छ।
राप्ती नदीमा बोटिङ र र्याफ्टिङ
रिसोर्टले घुम्न आउने पाहुनालाई राप्ती नदीमा बोटिङ र र्याफ्टिङ गराउने व्यवस्था मिलाएको छ। रिसोर्टदेखि पश्चिममा रहेको मदुई पुलसम्म २ घण्टा ३० मिनेट जति बोटिङ र र्याफ्टिङ गराइन्छ। बोटिङ र र्याफ्टिङ गराए वापत प्रतिव्यक्ति १ हजार २ सय ५० शुल्क लिन्छौं। बोटिङ गराउँदा बीच बाटोमा चिया र बिष्कुट निःशुल्क रूपमा खुवाउँछौं। दैनिक २०/३० जनाले बोटिङ तथा र्याफ्टिङ गरिरहेको अवस्था छ।
प्रकाशित: १३ मंसिर २०८२ ०८:५३ शनिबार





