गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमध्ये तीन वटा निर्वाचन क्षेत्रका विजयीसँग मात्र संसदीय अनुभव छ। सरकारमा रहेको अनुभव भने दुई जनासँग मात्र रहेको छ। अरू सबै विजयी सांसदका लागि नयाँ अनुहार हुन्।
प्रदेशका १८ मध्ये १५ वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितेको छ। रास्वपाका एक जनाबाहेक सांसदका लागि अरू सबै अनुहार नयाँ हुन्। दुई वटा हिमाली जिल्लामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। एउटा निर्वाचन क्षेत्रमा भने स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवार विजयी भएका छन्।
दोहोर्याएर संसदीय अनुभव बटुल्नेमा यो पटक तीनजना छन्। तीमध्ये तनहुँ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट विजयी भएका डा.स्वर्णिम वाग्ले हुन्। उनले २०८० वैशाखमा भएको उपनिर्वाचनमा तनहुँबाट जित हासिल गरेका थिए।
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि उपनिर्वाचनमा वाग्लेले जितेर संसदीय यात्रा सुरुवात गरेका थिए। यो पटक पनि त्यही क्षेत्रबाट उनले जित हासिल गरेका छन्।
त्यस्तै संसदीय अनुभव हिमाली जिल्ला मनाङ र मुस्ताङका विजेताद्वयसँग पनि छ। हिमाली जिल्ला मनाङमा यो पटक पनि कांग्रेसले जित हासिल गरेको छ। मनाङमा कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन्। यो पटक समेत गरेर गुरुङको संसद्मा तेस्रो सहभागिता हो। उनी यसअघि २०७० को संविधानसभा निर्वाचन र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सोहि क्षेत्रबाट विजयी भएका थिए। यो पटक समेत गरेर उनको संसद्मा तेस्रो सहभागिता हो।
त्यस्तै अर्को हिमाली जिल्ला मुस्ताङबाट पनि कांग्रेसका युवा नेता योगेश गौचन थकाली निर्वाचित भएका छन्। ३२ वर्षीय युवा नेता गौचनको यो समेत संघीय संसद्मा दोस्रो यात्रा हो। उनी यसअघि २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा विजय भएका थिए।
सरकारमा रहेको अनुभव भने दुई जनासँग मात्र रहेको छ। तीमध्ये मुस्ताङका टेकबहादुर गुरुङले २०७० को संविधानसभा निर्वाचनमा जितेपछि त्यो बेला श्रम राज्यमन्त्री बनेका थिए। त्यस्तै सरकारमा सहभागी भएका अर्का अनुभवी विजेता हुन महावीर पुन। जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्व सरकारको शिक्षामन्त्री बनेका पुन सरकार छाडेर निर्वाचनमा होमिएका थिए। उनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए।
रास्वपा १५, कांग्रेस २ र स्वतन्त्र १
प्रदेशका ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमध्ये १५ वटामा रास्वपाले जीत हासिल गरेको छ। त्यस्तै दुई वटामा कांग्रेस र एउटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। तीन वटा हिमाली जिल्ला मुस्ताङ, मनाङ र म्याग्दीमा यो पटक रास्वपा बाहेकका उम्मेदवारले जित हासिल गरेका छन्। मुस्ताङ र मनाङमा कांग्रेस तथा म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवार विजयी भएका छन्। स्वतन्त्र उम्मेदवारी दिएर जितेका म्याग्दीका महावीरलाई रास्वपाको समेत समर्थन थियो।
रास्वपाले कांग्रेसका गढ मानिएका नवलपुर, तनहुँ र स्याङ्जामा जितेको छ । नवलपुरका दुवै क्षेत्रमा रास्वपा विजयी भएको छ। नवलपुर–१ बाट रास्वपाका राजन गौतम ५० हजार ९ सय ४५ मतसहित विजयी भएका छन्। गौतमका निकटतम प्रतिस्पर्धी कांग्रेसका बालकृष्ण घिमिरेले १६ हजार २ सय ९३ मत ल्याएका छन् ।
नवलपुर–२ मा रास्वपाकै मनिष खनाल विजयी भएका छन्। २६ वर्षीय युवा उम्मेदवार खनालले ४१ हजार ३ सय ४७ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका तिलबहादुर महत क्षेत्रीले १५ हजार ७ सय ५५ मतल्याएका छन्। विजयी भएका खनालले जेनजीको भावना, जवाफदेही र पारदर्शीतालाई प्राथमिकता दिने बताउँदै आएका छन्।
तनहुँ २ मा पनि रास्वपाले नै बाजी मारेको छ। कुनैबेला तनहुँलाई कांग्रेसको गढ जिल्लाको रुपमा हेरिन्थ्यो। तर, अहिले तनहुँका दुवै क्षेत्रमा रास्वपा हाबी भएको छ। तनहुँ २ मा रास्वपाका श्रीराम न्यौपाने विजयी भएका छन्। न्यौपानेले ३२ हजार ६ सय ८७ मत पाएका छन्। यो क्षेत्रमा कांग्रेसका शंकर भण्डारीले १४ हजार १ सय ३५ मत पाए।
स्याङ्जामा पनि रास्वपाले नै बाजी मारेको छ। स्याङ्जालाई पनि कांग्रेसको गढ भएको जिल्ला भनिन्थ्यो। अहिले स्याङ्जाका दुवै क्षेत्रमा रास्वपा हाबी भएको छ। स्याङ्जा २ मा रास्वपाकै झविलाल डुम्रे विजयी भएका छन्। डुम्रेले २५ हजार ३ सय ५४ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका भागवत प्रकाश मल्लले २० हजार ८ सय ३० मत पाए भने एमालेका खिमबहादुर थापाले १४ हजार १ सय ८ मत पाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कम्युनिस्ट पार्टीको लाल किल्ला तोड्दै गोरखामा पनि ऐतिहासिक जित हात पारेको छ। गठबन्धन हुँदाबाहेक २०६४ देखि निरन्तर जित्दै आएको गोरखामा रास्वपाले नेकपाको लाल किल्ला तोड्दै क्लिनस्वीप गरेको हो। २०७९ को चुनावमा कांग्रेससँग गठबन्धन गर्दा भागबन्डामा गोरखा–२ छोड्दाबाहेक नेकपाले २०६४, २०७०, २०७४ र २०७९ मा तत्कालीन नेकपा माओवादी र सोही धारको नेपाल समाजवादी पार्टी (नेसपा)ले जितेको थियो। २०७९ मा भने गोरखा–१ मा पुष्पकमल दाहाल प्रचण्ड र गोरखा–२ मा कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित भएका थिए।
जेनजी आन्दोलनको जगमा नेता बनेका सुदन गुरुङ गोरखा–१ निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेमकुमार खत्रीलाई १४ हजार ४ सय ९८ मतको भारी मतान्तरले पछि पार्दै विजयी भएका हुन्। विजयी गुरुङले २९ हजार ८ सय ९६ मत प्राप्त गरे। कांग्रेसका खत्रीले १५ हजार ३ सय ९८ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले ११ हजार १ सय २४ मत प्राप्त गरे। नेकपा एमालेका रामचन्द्र लामिछानेले ३ हजार ७ सय ३२ मत प्राप्त गर्दा जमानत जफत नै भयो ।
गोरखा–२ मा कविन्द्र बुर्लाकोटी २६ हजार ६ सय ६० मतसहित विजयी भए। उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाशचन्द्र दवाडीलाई १४ हजार ९ सय ६० मतान्तरले पछि पारे। पराजित दवाडीले ११ हजार ७ सय मत पाउँदा नेकपाका लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरे। यहाँ नेकपा एमालेका मिलन गुरुङले ३ हजार ८७ मत पाउँदा जमानत जफत नै भयो।
प्रकाशित: २५ फाल्गुन २०८२ १९:२४ सोमबार





