सुरक्षाको दृष्टिकोणले अति संवेदनशील थियो, लहान नगरपालिका–१३ स्थित पकिटोल गाउँ। पूर्व–पश्चिम राजमार्गको लहान बजारदेखि पाँच किलोमिटर उत्तरको यस गाउँका बासिन्दा सम्साँझै ढोका बन्द गरेर बस्थे। गाउँमा अपरिचित समूह देख्दा सबै त्रसित हुन्थे।हाटबजारबाट घर फर्कँदा त झन् डराउँथे।
तराई–मधेसका सशस्त्र समूहका नामबाट हुने अपहरण, चन्दा, डकैतीजस्ता आपराधिक क्रियाकलापबाट उनीहरू आजित थिए।गाउँमा यस्ता घटना नघटेको दिनै हुँदैनथ्यो। कृषि तथा रोजगारीमा निर्भर गाउँले चैनको सास फेर्न पाउँदैनथे।‘एक रात काट्नु पनि जुग बिताएजस्तो हुन्थ्यो,’ पकिटोलका श्रीराम राउत सम्झिन्छन्, ‘काम विशेषले बाहिर निस्कँदा साँझ परिहाले उतै बास हुन्थ्यो, अपराधीको क्रीडास्थल थियो हाम्रो गाउँ।’
करिब डेढ सय घरधुरी रहेको यस गाउँमा मधेसी पहाडी समुदायको मिश्रित बसोबास छ । आपराधिक समूहको निसानामा पर्नेमा पनि मधेसी र पहाडी दुवै समुदायका व्यक्ति छन्। मागे जति चन्दा नदिँदा डकैती भोग्नेमा मेघबहादुर पोखरेलदेखि रामफल यादवसम्म करिब डेढ दर्जन व्यक्ति छन् ।
पकिटोल गाउँ मधेसमा सशस्त्र गतिविधि चर्किएका बेला ‘अपराधीको सेल्टर’ बनेको थियो। यो गाउँ मधेसमा सशस्त्र गतिविधि चर्किएका बेला २०६५ साल भदौमा पकिटोलस्थित घरबाटै तत्कालीन बस्तीपुर गाविसका सचिव मनोज कार्कीलाई अपहरण गरेर आपराधिक समूहले लुकाएको थियो। परिवारले लाखौँ फिरौती दिएपछि मात्र कार्की मुक्त भएका थिए।
स्थानीयकाअनुसार सशस्त्र समूहलाई मागेको चन्दा नदिँदा धम्की नखेपेका यहाँका गाउँले सायदै होलान् ।स्थानीय अश्विन राउत भन्छन्, ‘त्यस बेलाको घटना सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ ,’ उनी भन्छन्,‘फेरी त्यो अपराधको त्रासदीपूर्ण दिन सम्झन चाहन्न ।’
पछिल्ला दिनमा सुरक्षा मामलामा अति संवेदनशील ठानिएका पकिटोलका स्थानीयको जनजीवन सामान्यतर्फ फर्किसकेको छ । आपराधिक गतिविधिको डरले गाउँ छाडेर पलायन भएका स्थानीय आफ्नो थातथलो फर्किसकेका छन् । ‘सबै समुदायका मानिस पहिलेजस्तै मिलेर खुसीसाथ बसेका छौँ,’ राउत भन्छन्, ‘पहाडी–मधेसी समुदायबिच एकताको भावना बलियो बनेको छ । गाउँको सांस्कृतिक गठ जोड पुरानै अवस्थामा फर्केको छ ।’ यहाँका आपराधिक समूहलाई निमिट्यान्न पार्न प्रहरी–प्रशासनका साथै समाजले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेकाले परिस्थिति बदलिएको छ।
जनतान्त्रिक तराई मुक्ति मोर्चा, अखिल तराई मुक्ति मोर्चा, राष्ट्रिय जनतान्त्रिक पार्टी (क्रान्तिकारी) लगायत विभिन्न नाममा तराई–मधेसमा हिंसा मच्चाइरहेका अन्य सशस्त्र समूह निमिट्यान्न भएपछि गाउँमा शान्ति फर्किएको छ । ती सशस्त्र समूहमध्ये कतिपय प्रहरीसँग मुठभेडमा मारिए। सङ्गठित अपराधमा लागेका अधिकांश व्यक्ति अहिले जेल जीवन बिताइरहेका छन् । कतिपय अपराध छाडेर वैदेशिक रोजगारीमा गइसकेका छन्।
‘आफ्नै घर फर्किन पनि डराउनुपर्ने अवस्था थियो, ‘पकिटोल घर भई काठमाडौँमा व्यवसाय गर्ने अश्विन राउत भन्छन्, ‘अहिले रातबिरात पनि घर आउन डर छैन।’ गाउँमा प्रहरी चौकी स्थापना भएको छ। स्थानीयकै आर्थिक सहयोगमा निर्माण थालिएको प्रहरी अस्थायी प्रहरी पोस्टको भवन ठडिएको छ । यस भवनलाई पूर्णता दिन लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले नगरपालिकाबाट १ लाख ६५ हजार र वडा अध्यक्ष मनोज कोइरालाले २५ बोरा सिमेन्ट सहयोग गरेका छन्।
२०६३ सालपछि मधेसका विभिन्न जिल्लामा सशस्त्र समूहको आवरणमा अपहरण, डकैती, चन्दा असुलीलगायत आपराधिक गतिविधि मौलाएपछि त्यहाँका जनता त्रासमा बाँच्न बाध्य थिए । गाउँमा सशस्त्र समूहका कार्यकर्ताले खुलमखुला हिंसात्मक गतिविधि थालेपछि कैयौँको ज्यान गयो। सयौँ परिवार आफ्नो गाउँबाट विस्थापित भए। झन् ती समूहले सिराहाका राजमार्गसँग जोडिएका सुगम गाउँलाई ‘सेल्टर’ बनाएपछि अवस्था झनै असहज बन्यो।
‘सिराहाका गाउँलाई आपराधिक समूहले धनुषा, रौतहट, पर्सासम्मका आपराधिक गिरोह चलखेल गर्ने ‘सेल्टर’ बनाएका थिए, यता गाउँलेको दैनिकी भने आतङ्कमा कटिरहेको थियो,’ स्थानीय सुभाष कोइरालाले सम्झे, ‘त्यस्तो त्रास फेरि कहिल्यै भोग्नु नपरोस् ।’
त्यस बेला अपहरणकारीको अर्को सेल्टर थियो, कसहा गाउँ। स्थानीय मात्र होइन, पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्ने यात्रु पनि त्रस्त हुन्थे कसहाचोक पुगेपछि । मोटरसाइकल तथा बसका यात्रु त्यहाँ पुग्ने बित्तिकै झस्किन्थे, ‘हँ, कतै आफू लुटपाट तथा अपहरणमा परिने त होइन !’ यो चोक सुरक्षित साथ पार गर्न सकूँ है भन्ने कामना हुन्थ्यो उनीहरूको । उति बेला कसहामा कुनै पनि यात्रुवाहक बस रोकिँदैनथे, बरु झन् तीव्र गतिमा गुडाइन्थे। साँझपख मोटरसाइकल र बसको सङ्ख्या अत्यन्त न्यून हुन्थ्यो।
सिराहा, सप्तरीलगायत जिल्लाका विभिन्न स्थानबाट अपहरित व्यक्तिलाई त्यहीँ ल्याएर राख्थे, आपराधिक समूह । यही कारण स्थानीय दोहोरो मार खेप्न बाध्य थिए । एकातिर गाउँलेलाई अपहरित व्यक्तिलाई संरक्षण दिन आपराधिक समूहको दबाब थियो भने अर्कोतिर अपहरितलाई ‘सेल्टर’ दियो भनेर सुरक्षाकर्मीको तारो बन्नुपर्ने स्थिति थियो। त्यस्तो त्रासदीपूर्ण दिन अब कहिल्यै बिताउनु नपरोस् भन्ने स्थानीयको कामना छ ।
त्यस बेला सशस्त्र गतिविधिका नाइके कसहा गाउँका भएकाले यो गाउँ ‘सेल्टर’ का रूपमा प्रयोग हुन्थ्यो । ‘म्यानेजर’ भन्ने रामनारायण महतो, छटु यादव, गङ्गा यादवलगायत अन्य सशस्त्र गतिविधिमा लागेका व्यक्ति कसहा गाउँकै थिए । पछि, रामनारायण, छटु र गङ्गा तीनै जना प्रहरी कारबाहीमा मारिए। तिनीहरू मारिँदासम्म यस क्षेत्रमा ‘छोटे अपराधी’ जन्मिसकेका थिए, जसले गर्दा केही समयसम्म यो गाउँ आतङ्कबाट मुक्त हुन सकेन। ती छोटे अपराधीहरू लहानको पकिटोलसम्मै लुट मच्चाउँथे ।
अपराधबाट आजित पकिटोलका स्थानीयको धेरै कसरतपछि अस्थायी प्रहरी पोस्ट स्थापना भएको छ । पकिटोलका निर्मल सम्झन्छन्, ‘घटनाको खबर दिएको घण्टौँपछि मात्र लहानबाट प्रहरी आउँथ्यो, सुरक्षा हाम्रा लागि निकै टाढाको विषय थियो।’२०६७ सालमा गाउँमा टहरा बनाएर केही प्रहरीले पहरा दिन थाले । तर, गाउँलेहरू प्रहरीको पोस्ट स्थापना होस्, चाहेका थिए। जसका लागि जग्गा आवश्यक थियो। जग्गा भए प्रहरीको अस्थायी पोस्ट निर्माण हुने र प्रहरीको उपस्थिति स्थायी हुने थियो ।
सुरक्षाका लागि स्थानीयले २ कट्ठा जमिन खरिद गरेर प्रहरीले तोकेको मापदण्डमा भवन निर्माण गरिदिन भने। लाखौँ रकम खर्चेर प्रहरीलाई भवन बनाइदिन गाउँलेहरू एकजुट भए। स्थानीय अश्विन राउत भन्छन्, ‘प्रहरीको सहयोग नभइदिएको भए हामी पलायन भइसक्या हुन्थ्यौँ ।’ असहज परिस्थितिमा हामीलाई सुरक्षा दिएर जोगाउने प्रहरीलाई बस्ने भवन बनाउन पाउँदा गर्व अनुभूति भइरहेको उनले बताए । ‘भवन बनाउन लागेको खर्च यसै गाउँका स्थानीय र गाउँबाट अमेरिकालगायत देशमा रोजगारीमा रहेकाहरूको आर्थिक सहयोग छ,’ उनले भावुक हुँदै भने, ‘शान्ति सुरक्षा मानव जीवनमा कति महत्त्वपूर्ण छ भन्ने कुरा हामीभन्दा बढ्ता कसलाई थाहा होला र ?’शान्ति फर्किएपछि यहाँको आर्थिक गतिविधिसमेत फैलिएको छ । शान्ति बहालीपछि पकिटोलसँगै अरू संवेदनशील गाउँ बिस्तारै सहरीकरणतर्फ उन्मुख हुँदै छन् ।
यहाँका संवेदनशील गाउँमा शान्ति फर्कनुमा प्रहरी–प्रशासनको क्रियाशीलता र स्थानीयको इच्छाशक्ति कारक रहेको पकिटोलका जनकबहादुर कोइरालाको भनाइ छ । ‘आपराधिक समूहले यहाँको सामाजिक एकता भत्काउन सकेनन्,’ कोइराला भन्छन्, ‘स्थानीयको एकता देखेर तत्कालीन जिल्ला सुरक्षा समितिले प्रहरी भवन बनाउन मन्जुरी दिएको छ ।’
‘आपराधिक कामलाई कडाइका साथ नियन्त्रण गर्नु प्रहरीको प्राथमिक कर्तव्य हो,’ त्यो बेला सिराहाका प्रहरी प्रमुख रहेका हालका मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदी भन्छन्, ‘स्थानीय जनता र प्रहरी हातेमालो गरेर अघि बढेमा समाजमा शान्ति र सद्भाव बलियो हुन्छ भने पकिटोल अनुकरणीय उदाहरण बनेको छ ।’ स्थानीयले सहयोग सङ्कलन गरेर प्रहरीका लागि लाखौँको भवन बनाइदिनु प्रहरीप्रति बढ्दै गएको विश्वासको नमुना भएको डिआइजी चतुर्वेदीले जिकिर गरे। ‘गाउँलेले अपराधीबाट खेपेको पीडा सुन्दा दर्दनाक कथा सुनेझैँ लाग्छ, ‘उनले भने, ‘यहाँका जनताको आँट, सङ्कल्प र सहयोगी भावले अपराधलाई पराजित गरेको छ । यस गाउँबाट हातेमालो, सद्भाव र मिलापको सन्देश सञ्चार गरेको छ । पकिटोलवासीको यो अनुपम कार्यले प्रहरीलाई हौसला र थप जिम्मेवारी बोध गराएको छ उनले भने,‘ अपराधलाई निरुत्साहित गरी समाजमा शान्ति र सद्भाव फैलाउन कुनै कसर छोड्दैनौँ।’
प्रकाशित: २५ असार २०८२ १०:३७ बुधबार





