वैदेशिक रोजगारीमा जाने सबैको सपना एउटै हुन्छ, विदेशमा कमाएर ल्याएको पैसाले घरको छानो टाल्ने, परिवारको अनुहारमा हाँसो छाउने, आनन्द मनले मिठो खाने र सुन्दर जीवन जिउने । सपनाले मानिसलाई पर्खिन सक्ने बनाउँछ । कैयन् मानिस सुन्दर भविष्यको सपनामा डुबिरहेका हुन्छन् । तर सोचे जस्तो सबैको सपना पुरा नहुन पनि सक्छ ।
वैदेशिक रोजगारीले धेरैको जीवन हराभरा बनाइदिए पनि कसै कसैको जिन्दगी भताभुङ्ग पनि बनाएको छ । विदेशमा कमाउला र सुखको दिनहरू बिताउँला भनेर स्याङ्जाका जगदीश भुसाल युएई गएका थिए । युएईमा गाडी चालक रहेका उनको दिनचर्या राम्रै चल्दै थियो ।
युएईमा दुई वर्ष कार्यकाल पुर्याएर ४५ दिनको छुट्टिमा नेपाल आएका ३७ वर्षीय भुसालको सुन्दर जीवनमा एकाएक अध्यारोले छाउँछ । सुख्खा खोकी लागेर चेकजाँचको लागि पोखराको अस्पताल पुगेका उनी शरीरमा दुवै मिर्गौलाले काम नगरेको खबरले मुर्छित पर्छन् । उनी त्यसमा कुनै विश्वास गर्दैनन् । किनकि आफू बच्चाबेलादेखिनै कहिल्यै बिरामी भएको महसुस नगरेकोले चिकित्सकले भनेको विश्वास नै नलागेको उनेले बताए ।
दुवै मिर्गौला फेल भएको जानकार चिकित्सकले बताएपछि झन्डै कोमामा गएको भुसाल सम्झन्छन्, ‘सानै बेला देखि आफू बलियो छु जस्तो लाग्थ्यो । कहिल्यै बिरामी भएको थाहै छैन । सुख्खा खोकी लागिरहेको थियो । छुट्टिमा आएको बोलामा खोकीसँगै यसो होलबडि चेकअप गरौँ न त भनेर अस्पताल गएको थिए । नराम्रो खबर सुन्नु पर्यो ।’
लामो सास फेर्दै उनले पुनः भने, ‘एक्कासि डाक्टरले तपाईँको दुवै मिर्गौला फेल छ भनेपछि पत्याउनै गाह्रो भयो । साँच्चै मैले नपत्याएर अर्कै अस्पतालमा गएर चेकजाँच गर्दा पनि त्यही कुरा भनेपछि पत्याउन बाध्य भए । पछि त बिस्तारै बिस्तराले बोलायो ।’
अस्पतालमा दुवै मिर्गौला फेल भनेपछि भुसाल बल्ल दिनदिनै गल्दै र अस्पतालकै शैयातिर जानु पर्यो । उनको पुराना दिन जस्तो अब आउँदो दिनहरू सुन्दर थिएन । युएईबाट बिदामा परिवारसँग खुसी साट्न नेपाल आएका उनी अब दिनप्रतिदिन बाचेर पनि मर्दै थिए । उज्यालो दिनहरूको सपना बोकेका उनको जीवनमा तुवाँलो छाउँदै थियो ।
वैदेशिक रोजगारीबाट छुट्टिमा आएका भुसालका घर अहिले भताभुङ्ग भएको बताउँछन् । आफ्नो रोगले गर्दा घरमा परिवार रोएको हेर्न नसकेको उनी भन्छन्, ‘४५ दिनको छुट्टिमा आएको म राम्रोसँग बिदा मनाउने सोच थियो । मेरो खुसी भनेकै छोराहरू हुन् । उनीहरू हाँस्दा संसार हाँसे जस्तो लाग्छ । अहिले आफैले उनीहरूलाई रुवाइरहेको छु । श्रीमतीको त के कुरा गरौँ ।’
फोनमार्फत सुरुमा नागरिकसँग कुरा गर्दा उनको बोली टाठै थियो । तर, बिस्तारै आफ्नो सबै बेलिबिस्तार लगाउँदै गर्दा उनले आफ्नो आवाज बिलाउँदै गएको पत्तै पाएनन् । त्यही पनि उनी बोल्न भने रोकिएनन् । उनलाई आफ्नो दुख पोख्दा केही राहत भइरहेको बताउँछन् । ‘आफ्नो दुख पोखौँ कसलाई ? सुनाउने ठाउँ हुँदैन । प्रत्येक हप्ता डायलिसिस गराउन पर्छ । एउटा इन्जेक्सनकै ३ हजार पर्छ । साथमा पैसा छैन । औषधीको त के कुरा गर्नु र ? मासिक झन्डै ७/८ हजारको औषधी खानुपर्छ ।’ गत वैशाखमा बिरामी परेर उपचारमा मात्रै ३० लाख रुपैयाँ सकिसकेको उनको भनाई छ ।
काठमाडौंमा उपचार गराइरहेका भुसालले अब मिर्गौला ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था सृजना भएको बताए । ‘किड्नी ट्रान्सप्लान्ट गर्न झन्डै ८/१० लाख लाग्छ रे? यसको लागि सरकारले ५ लाख हाल्छ भन्ने हल्ला सुनेको छु । अब हेरौँ के हुन्छ । काठमाडौंमा बसेर उपचार गराउँदै छु । खर्च बढेको बढै छ । कमाउने मान्छे कोही छैन,’ वैदेशिक रोजगारीमा साउदी अरेबिया र युएईमा विभिन्न समय गरेर झन्डै १५ वर्ष बिताएर फर्केका भुसालले भने ।
विदेशमा लामो समय बिताएको उनले नेपाल फर्किएर विभिन्न व्यवसायमा हात पनि हालेका थिए । लकडाउनको समयमा व्यवसाय घाटामा गएपछि उनले पुनः वैदेशिक रोजगारीलाई अँगालेको बताउँछन् ।
‘विदेशमा राम्रो कमाई थियो,’ मिर्गौला रोगी भुसाल भन्छन्, ‘सधैँ विदेश बसेर हुन्न भन्दै नेपालमै कुखुरा फार्म र बिजुली पसल राखे । एकाएक लकडाउन भयो, व्यवसाय सबै माइनसमा गयो । त्यसपछि फेरी दुबई लागे । बिदामा घर आउँदा हालत खराब भयो । अहिले मृत्युसँग लडिरहेको छु ।’
परिवारका जेठा छोरा रहेका उनी विदेशी खानपिनले आफूलाई यस्तो कडा रोग लागेको हुन सक्ने आकलन गर्छन् । वैदेशिक रोजगारीले युवालाई ताने पनि विदेशी भूमिमा लामो समय बस्न नहुने उनले बताए । ‘मैले लामो समय विदेशमा बिताए,’ उनी भन्छन्, ‘मलाई केही हुन्छ जस्तै लागेको थिएन । तर, म जस्तो मान्छेलाई त यस्तो ठुलो रोगले सतायो । अरूलाई नसताउला भन्न सकिन्न । त्यसैले लामो समय विदेश बस्नु उचित होइन रहेछ ।’ लामो समय विदेश बसेर कमाएर ल्याएको धन आफ्नै रोगको औषधी उपचारमा सकिने हुँदा धेरै समय विदेशी भूमिमा नबस्न युवाहरूलाई उनको सुझाव छ ।
भुसाल जस्तै वैदेशिक रोजगारीबाट छुट्टिमा नेपाल फर्किदा आफूलाई मिर्गौला रोग लागेको थाहा पाउनेमा मोरङका ३४ वर्षीय जीवन विश्वकर्मा पनि एक हुन् । उनी पनि वैदेशिक रोजगारीको क्रममा कुवेत पुगेका थिए । त्यहाँ २५ महिना काम गरेर छुट्टि मनाउन घर आएका विश्वकर्मा एक्कासि पेसर बढेर अस्पताल पुगेका थिए । त्यसरी अस्पताल पुगेका उनको चेकजाँच गराउँदा दुवै मिर्गौलामा समस्या आउँछ ।
कुवेतमा सेक्युरिटी गार्डमा रमाएका उनी आफूलाई ठुलो रोग लागेकोमा भुसाल जस्तै अलमल्लमा पर्छन् । उनको पनि भुसालको झैँ दुवै मिर्गौलाले काम गर्न छोड्छ । अब आफ्नो उपचार खर्च र परिवारलाई कसरी पाल्ने भन्ने चिन्ता र रोगले एकै चोटि च्यापेको उनी बताउँछन् ।
‘विराटनगरमा पेसर चेकजाँच गर्न पुगेको थिए । मिर्गौला फेल भनेपछि एकै चोटि छाँगाबाट खसेँ,’ उनले भने, ‘यस्तोदिन आउँला भनेर कहिल्यै कल्पना समेत गरेको थिइन् । कमाएर घरपरिवारलाई हेर्नबेलामा आफैले हात फैलाउनु परेको छ ।’
विभिन्न समयमा गरेर उनले कुवेतमा ६ वर्ष भन्दा बढी समय बिताए । छुट्टिमा घर आउने जाने क्रम उनको चलिरहन्थ्यो । सधैँझैँ विदेशबाट फर्किएर आएको छुट्टि जस्तो यो छुट्टि उनको लागि कष्ठकर थियो । गत चैतमा विदेशबाट ३ महिनाको छुट्टिमा घर आएका उनी अब कहिले विदेश नर्फिने भएका छन् । दुवै मिर्गौला फेल भएका उनको मिर्गौला ट्रान्सप्लान्ट नै नहुने चिकित्सकले बताएको उनी सम्झन्छन्, ‘मेरो मिर्गौला ट्रान्सप्लान्ट नै हुँदैन रे? यदि मिर्गौला ट्रान्सप्लान्ट गर्यो भने तुरुन्तै त्यो मिर्गौला पनि काम नगर्ने हुन्छ रे? त्यसैले मेरो मिर्गौला फेर्नै मिल्दैन ।’
मृत्युलाई पर्खिरहेका उनको एक छोरी छिन् । त्यही छोरीको मुख हेरेर पिर लाग्ने गरेको उनी भन्छन्, ‘छोरी सानै छिन् । उसको राम्रो भविष्य बनाउने ठुलो सपना थियो । ऊ ठुली भएको हेर्न मन छ, तर के गर्नु त्यति बेलासम्म आफू हुन्छु कि हुन्न थाहा छैन ।’ मिर्गौला रोगले थलिएका विश्वकर्मालाई छोरीको चिन्तासँगै आफ्नो उपचार खर्च पनि कसरी धान्ने भएको छ ।
‘कमाई छैन । कसैले गरेको सहयोगको भरमा डायलिसिस गराइरहेको छु । एक हप्तामै दुई पटक डायलिसिस गर्नुपरेको छ । औषधी किनेर खान पनि धाउँधाउँ परेको छ । मैले गर्दा परिवारले दुख पाएका छन् । पशु भए पो जङ्गलमा लगेर छोड्न मिल्थ्यो । मान्छेलाई त्यसो गर्न नमिल्ने रहेछ,’ बिस्तरामा थलिएका विश्वकर्माले फोनमार्फत नागरिकसँग भने ।
मिर्गौला रोगीहरूलाई उपचारलगायत औषधी खर्च पनि सरकारले हेरिदिए केही राहत हुने उनको सुझाव छ । ‘सरकारले हामीलाई मासिक ५ हजार दिएको छ,’ उनले भने, ‘त्यो पैसाले केही छोप पनि लाग्दैन । आफ्नो उपचार गराउनै पुग्दैन । यता परिवारको उत्तिकै बिल्लिबाठ ।’
अन्ततः मिर्गौला रोगले थलिएका भुसाल र विश्वकर्माले वैदेशिक रोजगार बोर्डबाट ७/७ लाख रुपैयाँ आर्थिक सहायता पाएका छन् । वैदेशिक रोजगारीका क्रममा बिरामी तथा अङ्गभङ्ग र मृत्यु भएकाका हकवालाले आर्थिक सहायता पाउँछन् । सहायता पाउन श्रमिकले श्रम स्वीकृति लिएको हुनुपर्ने, यसको नवीकरण गरेको हुनुपर्ने र बिरामी वा मृत्यु भएको वर्ष दिनभित्रै बोर्डमा निवेदन दिनुपर्ने कानुनी प्रक्रिया छ । रोजगारीको खोजीमा बर्सेनि लाखौँ नेपाली विभिन्न देश पुग्छन् । त्यसमध्येका भुसाल र विश्वकर्मा पनि एक हुन् ।
बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीका अनुसार वैदेशिक रोजगारीका क्रममा बिरामी तथा अङ्गभङ्ग र मृत्यु भएका व्यक्तिका हकवालाले आर्थिक सहायता पाउँछन् । साथै उनीहरूसँग अस्पतालमा उपचार गराएको प्रमाण भएसँगै श्रम स्वीकृति, श्रम स्वीकृति नवीकरण र बिरामी वा मृत्यु भएको वर्ष दिनभित्रै बोर्डमा निवेदन दिएमा आर्थिक सहयोग पाउँछन् ।
श्रमिकको उक्त कागजातहरू बोर्डले विशेषज्ञ चिकित्सकको एक समितिलाई देखाएर सिफारिस गरेपछि बिरामीले आर्थिक सहायता पाउने उनले बताए ।
‘बिरामीको अवस्था हेरेर बोर्डबाट उपचार खर्च दिइन्छ,’ उनले भने, ‘करार अवधिभित्र विदेशमा रहेका कामदारलाई क्यान्सर, मिर्गौला, मुटु रोग र पार्किन्सन्स जस्ता ठुला रोग लागेको खण्डमा त्यहीअनुसारको उपचार खर्च पाइन्छ । श्रम स्वीकृतिको नियमानुसारको मान्य अवधि भएका कामदारलाई मात्र बोर्डबाट आर्थिक सहयोग गरिन्छ ।’
अवैध रूपमा बिदेसिएका र श्रम स्वीकृति नलिएका वा करार अवधि सकिएको अवस्थामा विदेशमा ज्यान गुमाउने र बिरामी तथा अङ्गभङ्ग भएर स्वदेश फर्किनेले बोर्डबाट आर्थिक सहयोग पाउने प्रावधान छैन ।
त्यसरी फर्किएका श्रमिकको यकिन तथ्याङ्क सरकारसँग छैन । बोर्डको तथ्याङ्कअनुसार वैदेशिक रोजगारीका क्रममा चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक २० गतेसम्म बिरामी तथा अङ्गभङ्ग भएर देश फर्किनेको सङ्ख्या २ सय ५८ पुगेको छ । साथै बिरामी तथा अङ्गभङ्ग भएकालाई ८ करोड ४१ लाख ३८ हजार रुपैयाँ आर्थिक सहायता भन्दै श्रमिकलाई दिएको बोर्डको तथ्याकं छ ।
तर, यो आर्थिक सहयोग पाउनेको सङ्ख्या मात्रै हो । त्यसरी नै आर्थिक सहायता पाएर बस्नेमा भुसाल र विश्वकर्मा पनि हुन् ।
प्रकाशित: २१ कार्तिक २०८२ १९:५८ शुक्रबार





