नेकपा एमाले मोरङले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सार्वजनिक, सरकारी र निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनीमा संलग्नहरूलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको उपस्थितिमा प्रहरी प्रमुख एसपी कवित कटवाललाई आगजनी तोडफोडमा संलग्नलार्य कारबाहीको माग गर्दै जाहेरी बुझाइएको एमाले मोरङले गठन गरेको कार्यदलका सदस्य मुकेश बुढाथोकीले जानकारी दिए।
जाहेरी ग्रहण गर्दै एसपी कटुवालले घटनामा संलग्नहरूलाई कारबाही गर्ने बताए। लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरूलाई पक्राउ गर्न सुरु गरिएको बताउँदै उनले एमालेले दिएको जाहेरीले अनुसन्धानमा थप सहयोग पुग्ने धारणा राखे।
एमाले मोरङले गठन गरेको अध्ययन कार्यदलको प्रतिवेदनका आधारमा घटनामा संलग्नहरूलाई कारबाहीको माग राखेर एमालेका १४ वटा जनसंगठनहरूले सामूहिक रूपमा जाहेरी दिएको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए। उनका अनुसार जाहेरीसँगै घटनामा संलग्न व्यक्ति, आपराधिक समूहको फोटो, भिडियोसहितको विवरण समावेश गरिएको छ।
यसअघि एमाले मोरङले अध्ययन प्रतिवेदन पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो। पार्टी कार्यालय पाञ्चालीमा अध्ययन कार्यदलका संयोजक तथा कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतमले प्रतिवेदन एमाले मोरङका अध्यक्ष अजम्वर राई र केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज जीवन घिमिरेलाई संयुक्त रूपमा हस्तान्तरण गरेका थिए।
प्रकाशित: १९ मंसिर २०८२ १७:३५ शुक्रबार





-1200x560-600x400.jpg)