१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
समाज

बाँके राष्ट्रिय निकुञ्जमा बढ्न थाल्यो चहलपहल

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि बढ्न थालेका छन्। निकुञ्जभित्र जंगल सफारी, पदयात्रा, जंगलनाइट स्टे गर्ने स्वदेशी तथा विदेशी पर्यटकका गतिविधि बढ्न थालेका हुन्। 

निकुञ्ज कार्यालयले वन्यजन्तुका लागि विभिन्न स्थानमा घाँसे मैदान, कृत्रिम ताल निर्माण गरेको छ भने पर्यटकलाई अवलोकन गराउन वनपथ, मचानजस्ता पूर्वाधार बनाएको छ। कार्यालयका अनुसार निकुञ्जभित्र करिब एक दर्जन मचान, दुई सय किलोमिटरभन्दा बढी वनपथ (बाटो), २५ वटा सोलार जडित ताल, चार सय ५० हेक्टर क्षेत्रमा घाँसे मैदान, चार वटा ठुला जलाशय निर्माण गरिएका छन्। 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले निकुञ्जभित्र सबै पूर्वाधार निर्माण गरेर स्वदेशी र विदेशी पर्यटकलाई घुम्ने वातावरण बनाइएको बताए। ‘जिपबाट सफारी गर्नका लागि पर्याप्त मात्रामा वनपथहरू तयार भइसकेका छन्, घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकले मचानमा बसेर वन्यजन्तुलाई प्रत्यक्ष अवलोकन गर्न सक्नुहुनेछ।’ पछिल्लो समयमा जंगल सफारी गर्न स्वदेशी र विदेशीपर्यटक आउने गरेको उनले बताए। यसअघिका वर्ष निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या न्यून हुने गरे पनि चालु आर्थिक वर्षको सुरुवाती चरणमा उत्साहजनक पाइएको निकुञ्ज कार्यालयले जनाएको छ। 

कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म दुई सय ५० जना पर्यटक निकुञ्जभित्र प्रवेश गरिसकेका छन्। यीमध्ये दुई सय ४४ जना नेपाली र ६जना विदेशी रहेको प्रमुख संरक्षण अधिकृत कँडेलले सुनाए। नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविकमार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते बाँके, दाङ र सल्यानको पाँच सय ५० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर नेपालको १०औं राष्ट्रिय निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरिएको थियो। निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग रहेको छ।

केही वर्षअघि गरिएको गणना अनुसार निकुञ्जभित्र २१ वटा पाटेबाघ रहेको पुष्टि भए पनि अहिले त्योभन्दा बढेको अनुमान गरिएको छ। यस्तै चितुवा, चित्तल, चौका, बँदेल, निलगाई, हात्ती, दुम्सीलगायत विभिन्न प्रजातिका वन्यजन्तु, चराचुरुंगी तथा सरिसृपको वासस्थान रहेको छ। निकुञ्जभित्र जैविक विविधताको दृष्टिले आठ वटा इकोसिस्टम, एक सय २४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, तीन सयभन्दा बढी प्रकारका चराका प्रजाति, ५८ प्रजातिका माछा, २२ सरिसृप तथा ६ प्रकारका उभयचर रहेको बताइएको छ।

निकुञ्जले पूर्वाधार निर्माण गरेसँगै स्वदेशी तथा विदेशी पर्यटकलाई घुमाउन स्थानीय पर्यटन व्यवसायीले विभिन्न क्रियाकलाप गर्दै आएका छन्। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेसहित होटल तथा होमस्टे व्यवसायीले समय–समयमा आफ्ना पाहुनालाई निकुञ्जभित्र जंगल सफारी गराउँदै आएका छन्। नाट्टा बाँकेका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले जंगल सफारीका लागि निकुञ्ज खुला रहेकाले नेपालगन्ज र कोहलपुरका साथै ठुला सहर छिमेकी देश भारतको लखनउबाट पर्यटक आएर घुम्न सहज भएको बताए। ‘नेपालगन्ज र कोहलपुरको नजिक बाँके राष्ट्रिय निकुञ्ज छ, हामीले अझै पनि निकुञ्जको महत्त्व बुझाउन सकेका छैनौँ, अब यो निकुञ्जको महत्त्व बुझाउनुपर्छ,’ उनले भने, ‘राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी मात्रै होइन यहाँ अन्य पर्यटकीय गतिविधि हुन सक्छन्।’

नेपालगन्जदेखि २०/२२ किलोमिटरको दुरीमा बाँके राष्ट्रिय निकुञ्ज सबैभन्दा नजिकको पर्यटकीय गन्तव्य रहेको सिग्देलले बताए। उनले थपे, ‘निकुञ्जभित्रको बाटो खुल्ला छ, हामी निकुञ्जभित्र मज्जाले सफारी गर्न सक्छौँ भन्ने हाम्रो यात्राले पनि सन्देश दियो, हामीसँग खुला बोर्डर छ, छिमेकी देश भारत छ, नजिकै ठुलो सहर लखनउ छ, हामीले भारततिर पनि यो सन्देश पठाउनुपर्छ।’ निकुञ्जभित्र सफारी गराउन नेपालगन्ज, कोहलपुर, गाभर र राप्ती सोनारी क्षेत्रका होटल तथा होमस्टेमा पनि सफारी जीपहरू राख्नुपर्ने उनको सुझाव छ।

पटक–पटक जंगल सफारी गरिसकेका नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेशकुमार कनोडिया बाँके राष्ट्रिय निकुञ्जभित्र एकदमै रमाइलो वातावरण रहेको बताउँछन्। ‘बाँके राष्ट्रिय निकुञ्जभित्र एकदमै रमाइलो वातावरण छ, घुम्नलाई टाढा जानुभन्दा आफ्नै जिल्ला बाँकेमा घुम्नुस्’, उनले भने, ‘सबै ठाउँका राष्ट्रिय निकुञ्जमा उस्तै हो तर यहाँको हस्पिटालिटी (बस्ने, खाने) अझै सुविधायुक्त छ, यहाँ होमस्टे वा बाँके राष्ट्रिय निकुञ्जले विशेष पाहुनाको रूपमा स्वागत गर्छन्।’ आफू पटक–पटक बाँके राष्ट्रिय निकुञ्जभित्र घुम्दा पनि उत्तिकै रमाइलो महसुस गरिरहेको डा. कनोडियाले सुनाए। 

नेपालगन्जका व्यवसायी नन्दलाल अग्रवालले पहिलो पटक बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी गर्न पाउँदा रमाइलो अनुभूति भएको बताए। पहिलो पटक निकुञ्जभित्र छिर्दा बेग्लै रमाइलो महसुस गरेको उनी सम्झिन्छन्। निकुञ्जभित्र निर्माण भएका वन पथ, मचान, घाँसे मैदान, पोखरी देख्दा उनी दंग परे। ‘पहिलो पटक आफ्नै ठाउँको निकुञ्जमा जंगल सफारी गर्न पाउँदा धेरै खुसी लाग्यो, निकुञ्जभित्र अहिले वन्यजन्तुहरूको संख्या धेरै बढेको रहेछ,’ उनले भने। 

बैजनाथका स्थानीय एवम् गैससकर्मी धर्मलाल रोकाय निकुञ्जलाई प्रवर्द्धन गर्नका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने तर्क गर्छन्। ‘निकुञ्जले पूर्वाधार तयार गरे पनि पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्नका लागि व्यवसायीहरू त्यति उत्साहित छैनन्’, उनले भने, ‘निकुञ्जले मात्रै गरेर यहाँको पर्यटन प्रवर्द्धन हुँदैन, यसका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्छ।’ निकुञ्जसँग जोडिएका बाँकेस्थित कोहलपुर, राप्ती सोनारी र बैजनाथका नागरिक अगुवाले पर्यटन प्रवर्द्धनका लागि अभियान चलाउनुपर्ने रोकायको सुझाव छ।

निकुञ्ज घुम्न आउने पर्यटकलाई लक्ष्य गरेर नेपालगन्ज, कोहलपुर, बजैनाथ र राप्ती सोनारी क्षेत्रमा तारे होटल तथा होमस्टे, रिसोर्ट खुलेका छन्। बजैनाथ–१ चिसापानीमा रहेका गाभरभ्याली र मिनीगाभर सामुदायिक होमस्टेले छुट्टा–छुट्टै गरी दुई वटा सफारी जिप सञ्चालनमा ल्याइसकेका छन्, भने नाट्टा बाँकेसहित अन्य व्यवसायीले पनि सफारी जिप सञ्चालन गर्ने तयारी गर्दैछन्। यसले गर्दा निकुञ्जको पर्यटनलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।

निकुञ्जमा सफारी गर्न चाहने पाहुनाको माग बढ्न थालेपछि आफूले विगत सात महिनादेखि जिप ल्याएर जंगल सफारी सुरु गरेको मिनी गाभर सामुदायिक होमस्टेका व्यवसायी बाबुराम चौधरीले सुनाए। उनले जिप सफारीसँगै नेचर गाइड सम्बन्धी तालिम पनि लिइसकेका छन्। ‘सफारीका लागि धेरै पाहुना आइराख्नु भएको छ, मिनीगाभरमा मात्रै एक सय जति पाहुना एकै पटक बस्न सक्ने क्षमता छ,’ उनले भने, ‘होमस्टेमा बस्न आएका पाहुनाले जंगल सफारी गर्न चाहनु भयो भने हामीले उहाँहरूलाई जिपबाट सफारी गराउँछौं।’ निकुञ्जमा सफारी गराउन गाभर भ्याली र मिनीगाभर सामुदायिक होमस्टेमा गरेर हाल १/१ वटा सफारी जिप रहेको चौधरीले सुनाए। 

नेपालगन्ज, कोहलपुर, सुर्खेत, दाङ, काठमाडौं लगायत विभिन्न जिल्ला तथा भारत लगायत अन्य देशबाट पनि होमस्टेमा पाहुना आउने गरेको उनले बताए। होमस्टेमा आउने पाहुनाका लागि चार घण्टा र आठ घण्टाको जंगल सफारी तथा जंगलमा ‘नाइट स्टे’ प्याकेज राखिएको चौधरीले बताए। ‘हामीले चार घण्टाको १२ हजार र आठ घण्टाको १६ हजार रुपैयाँ जिप सफारीको प्याकेज राखेका छौँ’, उनले भने, ‘जंगलमा नाइट स्टे र खाना तथा बस्नका लागि अलग्गै प्याकेज रहेको छ।’ 

होमस्टेमा आउने पाहुना सफारी गर्न र जंगलमा ‘नाइट स्टे’ गर्न मन पराउने सञ्चालक चौधरीले बताए। ‘मैले निकुञ्जको करेली मचानमा अमेरिकी नागरिकलाई नाइट स्टे गराएको छु, प्राय: विदेशी पाहुना नाइट स्टे गर्न मन पराउनु हुन्छ’, उनले थपे। निकुञ्जभित्र जंगल सफारी गराउँदा पाटेबाघ, चितुवा, चित्तल, बँदेल, चौकालगायतका वन्यजन्तु पटक–पटक देखिने गरेको चौधरीले बताए। 

बाँके राष्ट्रिय निकुञ्जभित्र हालै जंगल सफारी गर्न पुगेका पर्यटक।
तस्बिर : नागरिक  

प्रकाशित: २ मंसिर २०८२ १०:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App