१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सनकट्टीघाटमा पुल निर्माणको काम तीव्र, समयअगावै सक्ने लक्ष्य

तस्बिर : योगेश/नागरिक

कैलाली र बर्दिया जोड्ने कर्णाली नदीस्थित सनकट्टीघाटमा पुल निर्माणको काम तीव्र गतिमा भैरहेको छ। हालसम्म पुल निर्माणको ६६ प्रतिशत काम सकिएको छ।  

निर्माण कम्पनी रसुवा कन्ट्रक्सनका साइड इञ्चार्ज कृष्ण ढुंगेलले वर्षायाम अगावै पुल निर्माणको काम सक्ने गरी काम भैरहेको बताए। ‘हाम्रो लक्ष्य वर्षायाम अघि नै सक्ने भन्ने छ,’ उनले भने, ‘हेरौं परिस्थिति कस्तो हुन्छ।’

नेपाल सरकारको १ अर्ब १८ करोड रुपैयाँको लागतमा पुल निर्माण भैरहेको छ। वि.सं. २०७९ पौष १७ गते ठेक्का सम्झौता भएको पुल निर्माणको काम भने २०८१ वैशाख २ गतेबाट सुरु भएको हो। सम्झौता अनुसार सुरुको एक वर्षभित्र सर्भे गरी पुल निर्माणको काम चार वर्षभित्र सक्नुपर्नेछ।  

७ सय ५० मिटर लम्बाइ रहेको पुलमा १४ वटा पिल्लर रहेका छन्। ती सबै पिल्लर निर्माण भैसकेका छन्। पुलको १३ वटा मध्ये पूर्वतर्फको ४ वटा स्पान समेत निर्माण सम्पन्न भैसकेको साइड इञ्चार्ज ढुंगेलले जानकारी दिए। उनका अनुसार २ वटा स्पान निर्माणको काम भैरहेको छ। पुलको चौडाइ साढे ७ मिटर रहेको छ। दुवैतर्फ यात्रुका लागि फुटपाथ रहने बताइएको छ।  

सरकारले समयमा भुक्तानी नदिएका कारण केही समय पुल निर्माणको काम प्रभावित बनेको थियो। सरकारले झण्डै १३ करोड रुपैयाँ भुक्तानी रोकेको थियो। तर अहिले भुक्तानीको समस्या नरहेको साइड इञ्चार्ज ढुंगेलले बताए।  ‘अहिले विगतको जस्तो भुक्तानीको समस्या छैन,’ उनले भने, ‘केही अरू समस्या छन्। तिनको समाधान गर्दै अघि बढिरहेका छौं।’

कैलालीको पूर्वी क्षेत्र टीकापुरबाट बर्दियाको गेरुवा गाउँपालिका जानका लागि सनकट्टीघाटमा पुल नहुँदा स्थानीयहरू जोखिमपूर्ण डुंगामा वारपार गर्ने गरेका छन्। डुंगा दुर्घटना हुँदा कैयौंले अकालमा ज्यान गुमाउनु परेको छ। केही वर्षअघि सनकट्टीघाटमा डुंगा दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए।  

टीकापुरका कतिपय मानिसहरूका खेतबारी बर्दियाको गेरुवा गाउँपालिकामा छन्। कतिपय व्यापारीहरू टीकापुरबाट बर्दिया र बर्दियाबाट टीकापुरसम्म व्यवसाय गर्दै आइरहेका छन्। स्थानीयका अनुसार पुल निर्माणपछि पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज र टीकापुर पार्क आउजाउमा सहजता हुनेछ। जसले गर्दा कृषि र पर्यटन विकासमा समेत टेवा पुग्नेछ।  

बर्दियाको पश्चिमी क्षेत्रका लागि मुख्य बजारको रूपमा रहेको टीकापुर क्षेत्रमा दैनिक आउजाउ गर्न, व्यापार व्यवसाय गर्न र चिसापानीस्थित कर्णालीको पुल र हुलाकी राजमार्गको सत्ती घाटको पुलको विकल्पको रूपमा सनकट्टीमा निर्माण हुने पुललाई लिइएको छ।  

यो पुल निर्माण भएसँगैकैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा तीन वटा पुल हुनेछन्। २०५० सालमा सुदूरपश्चिमको प्रवेशद्वारका रूपमा कर्णाली चिसापानीमा निर्माण भएको पुल र २०७३ सालमा टीकापुर र राजापुर नगरपालिकालाई जोड्ने कर्णाली नदीकै सत्तीघाटमा पुल सञ्चालनमा छन्। सत्तीघाटमा बनेको पुल समेत रसुवा निर्माण कम्पनीले नै निर्धारित समयभन्दा १० महिना अगावै सम्पन्न गरेको थियो।

प्रकाशित: १९ मंसिर २०८२ १४:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App