प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार बिहान २५७०औं बुद्ध जयन्तीका अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’बाट सुरु हुने बताएका छन्। सामाजिक सञ्जालमार्फत दिएको शुभकामनामा उनले त्यो ‘ज्ञ’ भनेको ज्ञान भएको धारणासमेत राखेका छन्। ‘शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्म जयन्तीका अवसरमा विश्वशान्तिको कामना गर्छु’ भन्ने सन्देश प्रधानमन्त्रीले फेसबुकमार्फत दिइरहँदा उनकै निर्देशनमा सुकुम्बासी बस्ती भत्काएर अशान्ति छर्ने काम भइरहेको थियो।
एक साताअघिबाट सरकारले सुरक्षा अंग परिचालन गरी सुकुम्बासी बस्तीमा डोजर चलाइरहेको छ। वास्तविक सुकुम्बासी पहिचान नगरी सबैलाई जबर्जस्ती बस्तीबाट हटाएर केहीलाई गेस्ट हाउसमा त केहीलाई ‘होल्डिङ सेन्टर’मा राखिएको छ। व्यवस्थापनाका नाममा एकैपटक उनीहरूलाई बस्तीबाट उठाउँदा कतिपयको अवस्था थप असहज बनेको छ।
बुद्ध जयन्तीका दिन शुक्रबार बिहान बल्खुको सुकुम्बासी बस्तीमा सरकारले डोजर लगायो। सयौंको संख्यामा प्रहरी परिचालन गरेर डोजर लगाउँदा त्यहाँको एउटा गुम्बामाथि पनि डोजर चल्यो। देशभरिका बौद्ध गुम्बाहरूमा शुक्रबार बुद्ध जयन्ती मनाइयो। बल्खुको त्यो गुम्बामा पूजाको तयारी भइरहकै बेला सरकारले डोजर चलाएको हो। त्यो गुम्बा २०७१ सालमा त्यहाँका सुकुम्बासीले नै पैसा उठाएर बनाएका थिए।
बौद्धमार्गीहरूले गुम्बा नभत्काउन अनुनय–विनय गरे। निर्जीव डोजरले त्यो आवाज सुन्ने कुरै भएन तर सरकारको नेतृत्व गरिरहेका शाहले समेत चीत्कार मिश्रित त्यो आग्रह सुनेनन्, सुने पनि नसुनेझैं गरे। हतियारसहित परिचालित सुरक्षाकर्मीले आदेशको पालना गरिरहे। गुम्बाका अध्यक्ष कपुरे तामाङले बुद्ध जयन्तीकै दिन गुम्बा नभत्काउनू भनेर बिन्ती गरेका थिए। गुम्बामा डोजर चलाएपछि बुद्धको मूर्ति खाली चौरमा राखिएको छ । यतिबेला मूर्ति बनेका बुद्ध पनि सुकुम्बासीको लाममा छन्।
गठन भएको एक महिनाको अवधिमै सरकार सुकुम्बासीमाथि निर्ममतापूर्वक हाबी भयो। पाँच वर्षको म्यान्डेट पाएको सरकारले घरबारविहीन निमुखामाथि पहिलो प्रहार गर्यो। मानौं, देशविकासको मुख्य बाधक नै खोलाकिनारमा बस्न विवश तिनै सुकुम्बासी हुन् भन्ने आभास सरकारले गरिरहेको छ। प्रधानमन्त्री शाहले गृह मन्त्रालयको कमान्ड सम्हालेलगत्तै काठमाडौंको थापाथली, गैरीगाउँ मनोहरा, सिनामंगल, भक्तपुरलगायत खोलाकिनारबाट सुकुम्बासीलाई हटाएका छन्। सुकुम्बासीलाई भाडामा लगाउने हुकुमबासीलाई हटाउँदा पिरोलोमा परेकाहरू बिचल्लीमा परेका छन्। विभिन्न कारणले गाउँबाट विस्थापित भएर राजधानी आएका नागरिकले अहिले पनि पीडामाथि पीडा बेहोरिरहेका छन्। बाढीपहिरो, भूकम्प, द्वन्द्वजस्ता पीडा झेल्दै आएका नागरिकलाई अहिलेको सरकारले पनि अन्याय गरेको छ।
सुकुम्बासी बालबालिकाले समयमा विद्यालय जान पाएनन्। तिनका अभिभावकले रोजगारी गुमाए। सरकारले जग्गाजमिन नभएकालाई कहाँ राख्छ र कसरी जग्गाको मालिक बनाउँछ भन्ने कुनै ठोस अवधारणा सार्वजनिक नगरी डोजर चलाउँदा त्यसको असर वास्तविक सुकुम्बासीमाथि परेको छ। अहिले केहीलाई होल्डिङ सेल्टरको बहानामा टहरामा लगेर राखिएको छ त केहीलाई गेस्ट हाउसमा बसालिएको छ। उनीहरूलाई स्थायी रूपमा कहाँ लगेर राख्ने भनेर कुनै योजना पनि सरकारले सुनाएको छैन। सुकुम्बासीका नाममा राजनीति गर्दै आएका दलले पनि उनीहरूका पक्षमा आवाज उठाएका छैनन्। सरकारका अगाडि सबै निरीह बनिरहेका छन्।
बागमती नदीकिनारको वंशीघाटस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा शुक्रबार एक महिला बेहोस भइन्। सुरक्षाकर्मीको सहयोगमा ती महिलालाई उपचारका लागि अस्पताल पठाइयो। बल्खुमा डोजर लगाउँदा सुकुम्बासी बस्तीनजिकै बागमती खोलामा एक व्यक्ति मृत फेला परेका छन्। ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै शुक्रबार बिहान घरबाट निस्किएका ती व्यक्ति दिउँसो बागमती खोलामा मृत भेटिएको बताइए पनि पुष्टि हुन सकेको छैन। घर भत्किएकै कारण उनले आत्महत्या गरेका हुन् वा स्वाभाविक निधन भएको हो भन्ने यकिन हुन बाँकी छ। लगातार गरिबलाई लखेट्न थालेपछि सरकारको नियतमाथि पनि प्रश्न उठ्न थालेको छ।
गृहमन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर नदीकिनारका बस्ती खाली गराउन भनेको थियो। उक्त सूचनापछि धेरैले आफैं घरटहरा खाली गरे। खाली नभएका बस्ती सरकारले सुरक्षाकर्मीको घेरामा डोजर चलाएर भत्काइरहेको छ। सुकुम्बासी बस्ती हटाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी लगायत खटिएका छन्।
प्रकाशित: १९ वैशाख २०८३ ०६:३४ शनिबार





