१७ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

जहाँ श्रमिक सम्मानित हुन्छ, त्यहीँ समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, मेहनत र पसिनाले सभ्यता निर्माण गर्ने हातहरूको स्मरणीय दिन भएको बताएका छन्।

आजभन्दा १३७ वर्ष अघि मे १ ले श्रमको मूल्य, मर्यादा र अधिकारको संघर्षमार्फत् संसारलाई पाठ सिकाएको बताउँदै उनले नाफाको न्यायोचित वितरणका लागि रोजगारदातासँग-संवाद र सामूहिक सौदाबाजीका माध्यमबाट श्रमजीवी वर्गको हक स्थापित गरेको जिकिर गरे।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै उनले भने, 'हामीले हाम्रो संविधानमा पनि न्यायपूर्ण राज्यको लागि 'काम गर्ने वर्ग' र 'काम गराउने वर्ग' बीच सन्तुलनको लागि यही निर्देशक सिद्धान्त अपनाएका छौं। र, हामीले सरकारमा रहँदा श्रमिक, रोजगारदाता र राज्यबीचको त्रिपक्षीय सन्तुलित सहकार्यको बाटो अपनाउँदै तीनै पक्षको योगदानमा आधारित सामाजिक सुरक्षा थालनी गरेका थियौं।'

राज्यमा मानव गरिमाको रक्षा गर्न, श्रमिकहरूको सुरक्षा र सम्मान कायम गर्न उनीहरूको विश्वव्यापी अधिकार सुनिश्चित हुनु पर्ने जिकिर गरे।

उनले सामाजिक सञ्जालमा लेख्दै भने, 'हामीले यसअघि सरकारमा रहँदा राज्यको नीति, ‘रोजगारदाता र श्रमिक’बीच 'संवाद, सहकार्य र सहअस्तित्व'को बाटोमा अघि बढायौं। हाम्रो ध्येय थियो- उद्योग चलोस्, रोजगारी बढोस्, श्रमिक सुरक्षित होऊन्, नाफाको न्यायोचित बितरण होस् र  देश समृद्ध बनोस्।'

उनले संविधानले तय गरेको यो सीमाबाट आज पनि राज्य विचलित हुनु नहुने बताए। साथै उनले जहाँ श्रमिक सम्मानित हुन्छ, त्यहीँ समाज समृद्ध हुन्छ भन्दै अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना दिए।

प्रकाशित: १८ वैशाख २०८३ १०:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App