८ वैशाख २०८१ शनिबार
समाज

ज्यालादारी भएपछि त्रियुगाका करारले आधा तलवमै चित्त बुझाए

त्रियुगा नगरपालिका। तस्विरः महेश्वर

असोजदेखि ‘ज्यालादारी’ मा परिणत भएका त्रियुगा नगरपालिकाका करार कर्मचारीले ज्यालादारीकै सेवासुविधा (तलब भत्ता) बुझेका छन्। गएको साउन १ गतेदेखि लागू हुने गरी ५९ करार कर्मचारीलाई म्याद नथप्ने निर्णय गरेर अदालतमा मुद्धा खेपिरहेको नगरले बाँकी करार कर्मचारीलाई असोज १ गतेदेखि ज्यालादारीमा परिणत गरेको थियो।  

तत्कालीन नगरप्रमुख बलदेव चौधरीको कार्यकालमा भर्ना भएर कार्यरत तथा बिघटित जिल्ला विकास समितिबाट सरुवा भएर आएका करार कर्मचारीलाई असोज पहिलो साता बसेको नगरकार्यपालिकाको बैठकले ज्यालादारीमा परिणत गर्ने निर्णय गरेको थियो। ज्यालादारी सबै कर्मचारीले असोज महिनाको तलब भत्ता बुझिसकेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले बताए।

असोज पहिलो साताको कार्यपालिका बैठकले करारका सबै कर्मचारी ज्यालादारी बनाउने निर्णय गरे अनुसार डोर हाजिरी फाराम भरेर तलब भुक्तानी गरिएको हाकिम वनले बताए। खाईपाई आएको भन्दा आधाभन्दा कम तलब भत्ता पाउने गरी ज्यालादारीमा परिणत गराइएपछि धेरै कर्मचारीले जागीर छाड्ने अनुमान गरिएको थियो। तर, अनुमान गरे अनुसार कसैले जागीर भने छाडेका छैनन्।  

नगरप्रमुख बसन्त बस्नेतले करारमा कार्यरत सबै कर्मचारीलाई दैनिक ज्यालादारीमा काम लगाउने निर्णय गरेको बताउँदै सोही अनुसार सेवा सुविधा दिन थालेको बताए। उनका अनुसार यसो गर्दा नगरपालिकालाई मासिक झण्डै ५० लाख हाराहारी व्ययभार घटेको छ। सो रकम नगरका अन्य विकास निर्माण र उत्पादनमूलक काममा खर्च गर्ने लक्ष्य लिइएको मेयर बस्नेतले बताए।  

केही कर्मचारीले भने ज्यालादारीको तलब बुझ्न नमानेको तर, सो संख्या न्यून रहेको बताइएको छ। एक कर्मचारीका अनुसार साविक जिल्ला विकास समितिमा झण्डै २५ वर्ष काम गरेर नगरमा आएका करार र नगरपालिकाकै केही प्राविधिकसहित कर्मचारीले तलब भत्ता बुझन नमानेका हुन्। नाम नबताउने शर्तमा एक कर्मचारीले बताए अनुसार लामो समय जागीर खाएकाले छाडिहाल्न पनि नसकेको तर, ज्यालादारीको तलव लिन मनले नमालेपछि तलबै नबुझेका हुन्।  

तलव नबुझ्नेहरुमा साविक जिविसतर्फ छैठौँ तहकी १ महिला अधिकृत, पाँचौ तहका २ महिला र नगरपालिकाकै चौथो तहकी १ महिला र अन्य प्राविधिक कर्मचारीहरु रहेको बताइएको छ। उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय आगामी कार्यपालिका बैठकले टुंग्याउने आश्वासन पाएरै उनीहरले तलब नबु्झेको गाईगुई पनि सुनिएको छ।  

नगर उपप्रमुख महेश्वरी राईले ज्यालादारी बनाइएपछि असन्तुष्ट भएका कतिपय कर्मचारीले तलब नलिएको भन्ने सुनेको बताईन्। तर, कतिले लिए, कतिले लिएनन् भन्ने यकिन जानकारी भने नभएको उनले बताईन्। करार कर्मचारीलाई आधाभन्दा कम पारिश्रमिक पाउने गरी ज्यालादारीमा परिणत हुँदा उनीहरु मार्कामा परेको भए पनि नगरकार्यपालिका बैठकले निर्णय गरेकाले आफुले केही गर्न नसक्ने उपमेयर राईले बताईन्। ‘म अल्पमतमा छु, त्यसैले मैले चाहेर केही गर्न सकिन, कार्यपालिकामा बहुमतले गरेको निर्णयय मान्नुपर्ने मेरो बाध्यता छ’ उनले भनिन्।

त्रियुगा नगरपालिकामा स्थानीयतह पुनर्संरचना हुनुभन्दा अघिदेखि कार्यरत तत्कालीन स्थानीय निकाय कर्मचारी ४७ जनालाई भने नगरपालिकाले ‘अस्थायी’को परिभाषाभित्र पारेर सेवा सुविधा यथावत राखेको छ। ०५३ मा स्थापना भएको त्रियुगामा ०५४ को स्थानीय निकाय चुनावपछि बनेको लालशेर राई नेतृत्वको नगरकार्यपालिकाले बिभिन्न समयमा भर्ना गरेका अस्थायी कर्मचारीहरु पाँचौ तहभन्दा मुनि श्रेणी विहीनसम्म छन्।  

उता चालु आर्थिकवर्ष सुरुपछि साउन १ गतेदेखि करार अवधि नथपिएका ५९ कर्मचारीको मुद्धा उच्च अदालत बिराटनगरमा बिचाराधीन छ। करार अवधि नथपेसँगै  स्वतः निस्कासनमा परेका कर्मचारीले पुनरबहाली गरिपाउँ भन्दै अदालत गुहार्दा अदालतको प्रारम्भिक सुनुवाईले नगरपालिकाको नाममा ‘कारण देखाऊ आदेश’ जारी गरेपछि मुद्धा विचाराधीन भएको हो। त्यसको जवाफ नगरपालिकाले पठाईसकेको र चाँडै फैसला हुन गईरहेको मेयर बस्नेतले बताए। चुनावका कारण फैसला लम्बिएको भन्दै उनले चुनावलगत्तै फैसला आउने बस्नेतको भनाई छ।

अवधि नथपिएका ५९ सहित त्रियुगामा करार कर्मचारीको संख्या ३ सय ६४ थियो। जसमा वडातर्फ ४७ र नगरपालिकातर्फ ३ सय १७ जना थिए। स्थायी कर्मचारीको संख्या भने नगरपालिकामा ७४ जना मात्र रहेको छ। जसमा राजपत्रांकित द्वितीय श्रेणीका प्रमुख प्रशासकीय अधिकृत १, सातौंतहका ६, छैठौंतहका ८ गरी १५ जना अधिकृतस्तरका कार्यरत छन् भने बाँकी १८ जना सहायकस्तर पाँचौँ (नासु), २२ जना सहायकस्तर चौथो (खरिदार) र श्रेणीबिहीन (कार्यालय सहयोगी) २० जना स्थायी कर्मचारी कार्यरत रहेको प्रशासन शाखा प्रमुख श्यामकुमार सुन्दासले बताए।  

प्रकाशित: १८ कार्तिक २०७९ १४:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App