बुधबार विहानको विरोधपछि भक्तपुरको नगरकोट सडक विस्तारको काम पुनः सुरु भएको छ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुगले विहानको विरोध कार्यक्रमपछि दिउँसोबाटै सडकखण्डमा बेस झार्ने काम सुरु भएको जनाए। सडक विस्तारको योजना ढिलाई गरेको भन्दै नगरकोट नाल्दुम पर्यटन विकास समितिको अगुवाईमा बुधबार विहान आठ बजेदेखि १० बजेसम्म सडक अवरुद्ध गरी विरोध कार्यक्रम भएको थियो।
कार्यक्रमपछि भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजना प्रमुख गौतम श्रेष्ठ र ठेकेदार कम्पनी शैलङ कन्सटक्सन कम्पनीका प्रतिनिधि अनुपजंग अधिकारी वार्ताका लागि चाँंगुनारायण नगरपालिकामा पुगेका थिए। नगरपालिकामा मेयर जीवन खत्री, उपमेयर रमेश वुढाथोकी, कार्यकारी अधिकृत, सवै वडा अध्यक्षहरु, सरोकारवालाहरुको सहभागितामा तीनदिनदेखि काम तीव्र बनाउने प्रतिवद्धता भएको थियो। बैठकमा सहभागी नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुगले वैठकमा ठेकेदारले पुस मसान्तभित्रमा काम सम्पन्न गर्ने प्रतिवता जनाएको उनले बताए। सार्वजनिक खरिद ऐनको १२ औं संशोधन अनुसार सडक निर्माणको म्याद आठौंपटक थपिएर २०७९ पुष मसान्तसम्म पुगेको थियो।
यसअघि बिहान भएको कार्यक्रममा सवै राजनीतिक दलका सवै उम्मेदवारहरु सहभागी भएका थिए। यसअघि सो क्षेत्रका विभिन्न राजनीतिक पार्टीका उम्मेदवारहरुको सहभागिताका लागि आमन्त्रण गरिएको थियो। त्यस अनुसार पार्टीको नेताहरु तथा पीडितहरुले नगरकोट सडक जाने भक्तपुर कमलविनायक भत्केको पाटी लान्चा फल्चामा विहान आठ बजदेखि सडक अवरुद्ध गरिएको थियो।
कार्यक्रममा सता गठबन्धनमा भक्तपुर क्षेत्र नं १ का उम्मेदवार सुनिल गोठे, नेकपा एमालेकोतर्फका उम्मेदवार नवराज गेलाललगायतका सहभागी थिए। साथै नेपाली कांग्रेसकोतर्फबाट चाँंगुनारायण नगरपालिकाको मेयरमा विजयी भएका जीवन खत्री, एमालेकोतर्फबाट नगरपालिकाको उपमेयर रमेश वुढाथोकी पनि सहभागी भएका थिए। साथै सो क्षेत्रमा पर्ने भक्तपुर क्षेत्र नं १ (१) चाँंगुनारायणका लागि सता गठबन्धन, एमाले, राप्रपाबाट उम्मेदबारी दिएका उम्मेदवारहरु पनि सहभागी थिए। साथै स्वतन्त्र उम्मेदवारहरु पनि सहभागी थिए। कार्यक्रममा विभिन्न नेताहरुले नगरकोट सडक जतिसक्दो छिटो बनाउन माग गरे।
भक्तपुरको नगरकोट सडक अलपत्र भएको झण्डै नौ वर्ष भएको छ। यो बीचमा आन्दोलनमा सहभागी कुनै पनि राजनीतिक दलले कहिले पनि विरोध गरेको थिएन। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र त्यसका उम्मेदवारहरु भने सहभागी देखिएनन्। काम नगर्ने देशैभरिका ठेकेदारहरुलाई ठेक्का नै तोडने वन्दोवस्त गर्नुपर्ने माग उसको घोषणापत्रमा उल्लेख छ।
ठेकेदारको लापरबाहीका कारण झण्डै नौ वर्षदेखि सडक अलपत्र छ। सडक विस्तारको योजना पूरा नहुँंदा नगरकोटको पर्यटन व्यवसाय अस्तव्यस्त रहँंदै आएको छ। ‘एक्जिम बैंक इन्डिया’को ऋण सहयोगमा शैलुङ र एआईपीएल जेभीले ०७३ कात्तिक ४ मा काम सक्ने गरी ०७१ जेठ २२ मा सडक विस्तारको सम्झौता गरेको थियो।
सडक विस्तारको ठेक्का लिएको ठेकेदार कम्पनीले सातौंपल्ट म्याद थपेर समेत अझै काम सकेको छैन। आयोजनाका अनुसार एक्जिम बैंक इन्डियाबाट ठेक्का सहमति प्राप्त प्रक्रियागत ढिलाई भन्दै पहिलोपल्ट २०१६ अक्टोबर २० सम्म काम सक्ने गरी एक सय २५ दिन म्याद थप भयो। दोस्रोपल्ट भूकम्पको बाहानामा २०१७ नोभेम्बर ०४ सम्म तीन सय ८० दिन, तेस्रोपल्ट सडकमा रहेको भौतिक संरचना स्थानान्तरण र रुख कटानमा ढिलाइ, स्थानीयको अवरोध, स्थानीय चुनावलगायत कारण देखाउँदै २०१८ जुन १३ मा सक्ने गरी दुई २१ दिन म्याद थप भएको थियो।
चौथोपल्ट चिसो तथा वर्षाको कारण कालोपत्रे गर्ने कार्य गर्न नसकिएको तथा खरिद नियमावली २०६४ आठौं संशोधन अनुसार २०२० अप्रिल १९ मा निर्माण कार्यसक्ने गरी ६ सय ७६ दिन, पाचौंपल्ट खरिद नियमावली नवौं संशोधन अनुसार म्याद थप सम्बन्धी पूर्वनिर्णयहरु यथावत कायम भन्दै २०२० डिसेम्बर ३० सम्मका लागि दुई सय ५५ दिन, छैठौंपल्ट कोभिडका कारण भएको बन्दाबन्दीको बाहानामा २०२१ जुन २९ दिनसम्म एक सय ८१ दिन र सातौंपल्ट गत चैत मसान्त अर्थात् २०२२ अप्रिल १३ सम्मका लागि म्याद थप गरिएको थियो।
प्रकाशित: १६ कार्तिक २०७९ १२:४२ बुधबार