वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको शव अध्ययनका लागि किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा राखिएको छ। उनले मरणोपरान्त आफ्नो शरीर चिकित्सा विज्ञानमा अध्ययनरत विधार्थीहरुलाई अध्ययनका लागि दिने इच्छा व्यक्त गरे बमोजिम शवलाई अस्पतालमै राखिएको हो।
जोशिले २०७७ साउन २९ गते अस्पताललाई शरीर दान गर्ने पत्र बुझाएको अस्पताल प्रमुख अमेश पाठक बताउँछन्। जोशिको सबै स्वास्थ्य उपचारको जिम्मेवारी लिएको अस्पतालले नेपालको मेडिकल साइन्सलाई विश्वास गरेर अध्ययनका लागि शरीर दान गर्नु निकै ठूलो कुरा भएको उनको भनाइ छ।
जोशिलाई वाङ्मय शताब्दी पुरुष घोषणा गरेपछि किष्ट अस्पतालले उनको र उनको धर्मपत्नीको निशूल्क स्वास्थ्य उपचारका लागि प्रस्ताव राखेको थियो।
पाठक भन्छन्, ‘जोशिलाई वाङ्मय शताब्दी पुरुष घोषणा गरेपछि २०७६ मंसिर महिनामा हामीहरुले उहाँ लगायत उहाँको धर्मपत्नीको सम्पूर्ण स्वास्थ्य उपचारको लागि प्रस्ताव राखेका थियौं। हामीले सबै उपचार निशूल्क गर्छौ भनेर प्रस्ताव राखेका थियौं। त्यो प्रस्ताव उहाले स्वीकार्नु भयो। त्यसपछि हामीले उहाँको उपचार सुरु गर्यौ।’
अन्तराष्ट्रिय रुपमा नेपालको नाम चिनाएको व्यक्ति भएका कारण पनि अस्पतालले उनको स्वास्थ्यमा सहजता ल्याउन सहयोग गरेको उनले बताए। अस्पतालले जोशिको घरमा नै सानो मेडिकल नै राखेको थियो। अस्पतालले गरेको स्वास्थ्य सहयोगका कारण आफू धेरै बाचेपछि जोशिले आफू यति वर्ष बाच्नुका कारण, यतिको वर्ष बाच्दा अंगहरुले कसरी काम गर्दछ भन्ने विषयमा चिकित्साशास्त्रका विधार्थीले अध्ययन गरुन भन्र्ने इच्छा देखाएका थिए। त्यहिअनुरुप जोशिले आफ्नो शरीर प्रयोगात्मक अध्ययनका लागि दान गरेको पाठक बताउँछन्।
जोशिको मृत्युपछि मानिसको शरीर प्राकृतिक तरिकाले कुहिन नदिन प्रयोग गरिने फर्माल्डहाइड् रसायन प्रयोग गरिएको थियो। उनको पार्थिव शरीरलाई लामो समयसम्म राख्नका लागि थप अन्य रसायनहरु पनि प्रयोग गरिएको पाठकले बताए।
पाठकका अनुसार जोशिको अंगको बनोटको आकार, स्नायु र हड्डीमा रगतको आपूर्ति तथा उमेर अनुसार हुने परिवर्तनहरुको बारेमा अध्ययन गरिने छ। त्यस्तै माइक्रोस्कोपिक एनालाइसिस अन्र्तगत विभिन्न तन्तुहरुको हिस्टोलोजिकल तथा साइटोलोजिकल एनालाइसिसहरु गरिने र उक्त अध्ययनबाट आएका विभिन्न विश्लेषणहरुलाई चिकित्सा विज्ञानको अध्ययनमा अध्यापन गराउने उनले बताए।
जोशिको शव नजलाएपछि धेरैलाई उनको शवलाई संरक्षण गरेर राख्ने होकी भन्ने लागेको पनि उनी बताउँछन्। ‘धेरैजतिलाई जोशिको शरीर संरक्षण गरेर राख्ने हो कि भन्ने पनि लागेको छ, उनले भने, ‘हामीले जोशिको शरीरलाई संरक्षण गरेर राख्ने होइन। उहाँको शरीरको तन्तुहरु अध्ययन गर्छौ। शरीरको अंगहरुको अध्ययन छौं। सय वर्ष बढी बाचेको शरीरका अंगहरुले कसरी काम गरिरहेको थियो भन्ने विषयमा अध्ययन गर्दछौं।’
चिकित्सा क्षेत्रमा शरीर अध्ययन गर्नु कुनै नौलो कुरा नभएको र जोशिको पनि त्यहिअनुसार नै अध्ययन गर्न लागिएको पाठक बताउँछन्। ‘हामीलाई मेडिकल कलेजमा वर्षमा करिब दुईदेखि चारवटा शव चाहिन्छ अध्ययन गर्नका लागि ती शवमा के के अध्ययन गर्छौ भन्ने कुरा हो। उहाँ त १०३ वर्ष बाच्नु भएको, अन्तिम समयसम्म पनि उहाँको मतिष्क ठिक नै थियो। त्यस्तो मान्छेको अंगहरुको प्रतिक्रिया कस्तो हुन्छ भन्ने कुराको अध्ययन गर्दछौं,’ उनले भने।
अध्ययनबाट निस्किएका विश्लेषणहरु व्यक्तिको नाममा भने प्रस्तुत नगरिने उनको भनाइ छ। मेडिकलको नियमले नै त्यसरी व्यक्तिको परिचय दिन नमिल्ने हुँदा अध्ययनबाट आएका विश्लेषणहरु उमेर अनुसार प्रस्तुत गरिने उनले बताए।
जोशिको अध्ययन गरिने अंगहरु केमिकलमा डुबाएर राखिने र अनन्तकालसम्म अध्ययन गर्न सकिने उनले बताए। अंग दानमा जोशी राजुदुत भएको बताउँदै नेपाली चिकित्सा क्षेत्रमा जोशिले गरेको विश्वास सह्रानीय रहेको उनको भनाइ छ।
नेपालमा पनि अंग दान, शरीर दान र ब्रेन डेथको बहस हुन आवश्यक रहेको उनी बताउँछन्। नेपालमा त्यो खालको क्षमता रहेको हुनाले अब यी विषयमा वकालत हुनुपर्ने पाठकको धारणा छ।
प्रकाशित: १५ कार्तिक २०७९ ०८:०० मंगलबार