८ वैशाख २०८१ शनिबार
समाज

देशभर तापक्रम घट्दै गइरहेको छ, शीत लहरबाट बच्न पूर्वतयारी गर्नुस्ः मौसमविद्

मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महशुस भएको बताएको छ। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताएका हुन्।

तापक्रम घटेका कारण चिसो महशुस भएको उनले बताए। उनले अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाही उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउनेहुँदा चिसो हुने गरेको उल्लेख गरे। तुलनात्मक रुपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा रहने उनले जानकारी दिए।

वरिष्ठ मौसमविद् पौडेलले तापक्रम निरन्तर नघट्ने स्पष्ट पारे। अक्टोबर र नोभेम्बर महिनामा यत्तिकै अवस्थामा अथवा एक, दुई डिग्रीको तलमाथि मात्रै रहने बताए। शुक्रबार उनले डिसेम्बर महिनाको सुरुवात भएपछि भने तापक्रम घट्दै जाने र जाडो बढ्दै जाने उल्लेख गरे।

उनले मनसुन सकिएर पोस्ट मनसुनको अवस्था भएकाले विस्तारै जाडो हुँदै जानु स्वभाविक भएको बताए। उनले आगामी एकहप्ता भने वर्षा हुने सम्भावना नरहेको स्पष्ट पारे। जाडो बढ्ने र घट्ने कुरा भने हावाको वहाव कताबाट आएको छ त्यसले निर्धारण गर्ने उनको भनाइ छ।

उनले भने, ‘चिसो लगातार घटेको घटेकै गर्दैन। कुनैदिन बादल लागेको अलिअलि चिसो हावा छ, उत्तरपश्चिमबाट हावा बहेको छ भने चिसो महशुस हुन्छ। दक्षिणपश्चिम अथवा हावाको दिशा कता बहन्छ त्यसमा निर्भर गर्ने गर्दछ। आकाशमा कत्तिको घाम लाग्छ दिउँसोको समयमा त्यसमा पनि भर पर्ने गर्दछ। दिउँसो बादल खुला भयो भनेदेखि दिनमा घाम लाग्नसक्यो। तापक्रम बढ्यो भने न्यानो महशुस हुन्छ। दिनप्रतिदिन गर्मी हुने अवस्था छैन। जाडो विस्तारै हुँदै जाने गर्दछ। माइनसमा आएर कठ्यांग्रिने हुने पनि होइन। क्रमिक रुपमा जाडो क्रमशः बढ्दै जान्छ। वर्षा हुने सम्भावना एकहप्ता यता छैन।’

मौसमविद् पौडेलले डिसेम्बर महिनाबाट जाडो हुने उल्लेख गर्दै डिसेम्बर, जनवरी र फेब्रुअरीमा तराईमा हुस्सु र कुहिरो लाग्ने भएकाले अहिलेदेखि नै सचेत हुनुपर्ने बताए। उनले शीत लहरको अवस्था पनि आउन सक्ने भएकाले त्यसबाट बच्ने पूर्वतयारी गर्न सुझाव दिए।

प्रकाशित: ११ कार्तिक २०७९ ११:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App