कार्तिक कृष्ण औँसीका दिन आज खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दै छ। यो एउटा निश्चित समयको अन्तरालमा नियमित तथा अनिवार्य रूपमा हुने प्राकृतिक आकाशीय घटना हो। २७ वर्षको अन्तरालमा कार्तिक महिनामा पहिलो पटक सूर्यग्रहण देखिँदै छ। भोलि ८ गते मङ्गलबार, तुला राशिमा स्वाती नक्षत्रको पहिलो चरणमा ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण देखिने छ।
यो ग्रहण चलनको पात्रो अनुसार साँझ ४स्५२ मा सुरू भएर सूर्यास्त हुने समय ५:२४ सम्म देखिने हुन्छ। ग्रहणको जम्मा ३२ मिनेट मात्र सर्वपर्व काल(ग्रहण लाग्ने सम्पूर्ण समय) रहेको बुझिन्छ। ठीक २ वर्ष ४ महिना अघि नेपाली आकाशमा ७७ असार ७ गतेको खण्डग्रास सूर्यग्रहण ३ घन्टा ३३ मिनेट थियो।
नाशाको वेवसाइटमा यो पटकको ग्रहण युरोप,उत्तर अफ्रिका, मध्य पूर्व र त्यसैगरी पश्चिम एशियाबाट देखिने भनेर उल्लेख गरेको छ। यो भन्दा अगाडि २०५२ सालमा पनि यो वर्ष जस्तै कार्तिकको औंसी मङ्गलबार तुला राशिमा नै खण्डग्रास सूर्यग्रहण थियो तर त्यो बेला भने बिहानको समयमा थियो यसपटक साँझमा र ग्रस्तास्त पनि छ।
त्योभन्दा अगाडि वि.सं १९६८ कार्तिक ६ गते आइतवार (सन् १९११-१०-२२) र त्योभन्दा पनि अगाडि १९५८ कार्तिक २६ गते सोमबारको दिन (सन् १९०१-११-११) अहिले जस्तै तिहारको औंसीको दिन सूर्यग्रहण लागेको थियो। सन् १९०० देखि यताका सबै सूर्यग्रहणहरू अध्ययन गर्दा हाम्रो देश नेपालबाट देखिनेगरी कार्तिक महिनामा यसरी सूर्यग्रहण लागेकै बेला सूर्य अस्त भएको भने पहिलो पटक हो। माथि उल्लेख गरिएका कुनै पनि कार्तिक महिनाको सूर्यग्रहण ग्रस्तोदय वा ग्रस्तास्त थिएनन्।
जब सूर्य वा चन्द्रमाको स्थानीय क्षितिजमा उदित हुनुभन्दा अगाडि नै ग्रहण सुरु भइसकेको छ भने स्पष्ट छ कि उदयको समय बिम्ब ग्रस्त वा ढाकिएको हुन्छ। यस्तो स्थितिलाई ग्रस्तोदित ‘पहिलेको नै ग्रस्तको उदय’ भनिन्छ। यसैगरी जब सूर्य वा चन्द्र ग्रहणको बेला नै अस्त भयो भने त्यो स्थितिलाई ‘ग्रस्तास्त’ भनिन्छ। यी दुवै प्रकारका स्थितिहरूको प्रभाव हानिकारक नै मानिन्छ। विगतमा यो भन्दा अगाडि २०७२ फागुन २६ गते ग्रस्तोदित खण्डग्रास र त्योभन्दा पनि अगाडि २०६२ असोज, २०५६ साउन र २०३३ बैशाखको औंसीमा पनि हाम्रो देशबाट देखिने ग्रस्तास्त सूर्यग्रहण लागेको थियो।
संहिता ज्योतिषको क्षेत्र भूगर्भबाट अन्तरिक्षसम्म छ। यसभित्र हुने परिवर्तन र परिणामको निरुपण संहिता स्कन्धले गर्छ। संहिता ज्योतिष अनुसार भूमण्डलीय फलादेशमा ग्रहणको प्रभाव धेरै महत्वपूर्ण मानिन्छ। बृहत्संहिता अनुसार यो सूर्यग्रहणको भूमण्डलमा पर्नसक्ने प्रभावहरू यस प्रकार छन् –
यदि सूर्य वा चन्द्रमा ग्रहणको दौरान नै अस्त वा उदित भएमा अर्थात् ग्रस्तोदित वा ग्रस्तास्त ग्रहण हुँदा जाडो महिनामा हुने फसलहरूको हानी हुन्छ। यस्तो स्थितिमा ग्रहण देखिने ठाँउका देश वा प्रदेशका शासकहरूलाई कष्ट हुन्छ। ग्रहण लाग्ने ग्रह शनि वा मंगलको दृष्टिमा हुँदा र तिनको सर्वग्रास ग्रहण भएमा अकाल र जनहानिको योग हुन्छ। ९बृ।सं ५र२७० बृहत्संहितालगायत प्राचीन ज्योतिषीय ग्रन्थहरूका व्याख्याकार ज्योतिषाचार्य डा। सुरेशचन्द्र मिश्रजीको गणना अनुसार यो ग्रहण पहिलो नम्बरको ब्रह्मा पर्वमा पर्छ। पर्वानुसार ग्रहणहरूको फल भनेर बृहत् संहितामा यसरी उल्लेख छस् ब्राह्मे द्विजपशुवृद्धिः क्षेमारोग्याणि सस्यसम्पच्च। अर्थात् ब्रह्मा पर्वमा ग्रहण हुँदा पशु धन वृद्धि, सर्वत्र कुशलता, जनमानसमा आरोग्यता र राम्रो उत्पादन र सम्पत्तिको वृद्धि हुने हुन्छ।
सु दक्षिणायन फलः साउनदेखि पुषसम्मका महिनामा सूर्यको दक्षिणायन मानिन्छ। दक्षिणायनमा ग्रहण लाग्दा व्यापारी, मध्यवर्ग, निम्नवर्ग, कामदारका लागि अशुभ हुने मानिन्छ। ग्रहणादि संहितातत्वको फल त्यस वर्गलाई धेरै प्राप्त हुन्छ, जसको कुशल वा कष्ट सामान्य जनको कष्ट वा कुशलताको कारण बन्छ।
ग्रस्त सूर्य वा चन्द्रमा जुन राशि नक्षत्रमा छ, त्यस राशि नक्षत्रवाला शासक र प्रसिद्ध मान्छे, देश, प्रदेश र राशि नक्षत्रको कारक क्षेत्रमा विशेष कष्ट हुनसक्ने मानिन्छ।
ग्रह दृष्टि फलः पाँच ग्रहको दृष्टि र पाराशरी ग्रह सम्बन्धबाट पनि फलमा उतारचढाव हुने गर्दछ। सूर्यमाथि ग्रह दृष्टिको फल यसप्रकार छ – यो पटक ग्रहणको समय मकर राशिमा बसेको शनिको १० वौं पूर्ण दृष्टि सूर्यमाथि परेको देखिन्छः रविजः करोत्यवृष्टिं दुर्भिक्षं तस्करभयं च अर्थात् वर्षामा कमी, अपराधमा अप्रत्याशित वृद्धि, दुर्भिक्ष९अनिकाल० हुन्छ । पराशरीय मत अनुसार ग्रहणको समय सूर्यमाथि तत्काल मिथुन राशिमा रहेको मंगलको पनि तीन चरणको पंचम दृष्टि परेको छ।
भौमः समरविमर्द शिखिकोपं तस्करभयं च अर्थात् मंगलको दृष्टि पर्दा राज्यपक्ष, शासक दललाई हानी, युद्धभय, अग्निकाण्ड, विस्फोटहरू हुनसक्ने संभावना हुन्छ। अशुभतामा कमी गराउन सक्ने अति शुभ मानिने बृहस्पति ग्रहको भने कमजोर मानिने एक चरण दृष्टि मात्र ग्रहण लाग्ने ग्रहमाथि परेको बुझिन्छ। जे होस् नपर्नुभन्दा एकपाद यानी एक चरण मात्रै पर्नु पनि शुभ नै हो।
संहिता ज्योतिषमा शनिलाई सौरी यत्नेन चिन्तयत भनिएको छ। अहिले शनिको विचार गर्दा पुरै विश्वको प्रत्येक देश एवं राज्यको शनि बसेको नक्षत्रको दिशा उत्तर पश्चिम दिशा तर्फ सजग रहनु पर्ने बुझिन्छ। साथै जहाँ जहाँ शनिको दृष्टि पर्छ त्यो ठाउँहरुमा अन्त भन्दा बढी संघर्ष गर्नुपर्ने अवस्था सृजना हुन्छ। ७९ को असार अन्तिमदेखि माघ ३ गतेसम्म शनिको भ्रमण मकरमा भएकाले शनिको तृतीय र सप्तम दृष्टि उत्तर दिशामा पर्ने जल तत्वीय राशि मीन र कर्कटमा तथा दशौं दृष्टि पश्चिममा पर्ने वायु तत्वीय राशि तुलामा परेको देखिन्छ। ७९ वैशाखबाट असारसम्म र आउने माघ ३ गते उता २०८०/ ८१ सम्म शनिको पूर्ण दृष्टि पूर्वका २ राशि मेष र सिंह तथा उत्तरमा पर्ने वृश्चिक राशिमा पर्ने देखिन्छ।
ग्रहयोग फलः यो पटक ग्रहण लाग्ने ग्रह सूर्यका साथमा तत्काल अस्त रहेको शुक्र पनि स्वाती नक्षत्रको एउटै चरणमा १ अंशभन्दा कमको अन्तरले ग्रस्त भएको देखिन्छ
भृगुतनये राहुगते दाशेरककैकयाः सयौधेयाः।
आर्यावर्त्ताः शिवयः स्त्रीसचिवगणाश्च पीड्यन्ते।।
अर्थात् शुक्रमा पनि ग्रहण लागेमा दाशेरकअर्थात् रेगिस्तानी प्रदेश, कैकेय प्रदेश,यौधेय देश, आर्यावर्त्त, शिवि प्रदेश, स्त्रीहरू, सचिव, मन्त्रिगण र गणहरूगणराज्य वा राजनीतिक पार्टीहरूलाई पीडा हुन्छ। राजनीतिक दलमा मतभेद, आरोप–प्रत्यारोपको समय तथा पश्चिमी सीमान्तमा अशान्ति हुनसक्छ। ९बृ।सं ५र६७०
नक्षत्र र राशि अनुसारको फलः ग्रस्त सूर्य वा चन्द्रमा जुन राशि नक्षत्रमा छ, त्यस राशि नक्षत्रवाला शासक र प्रसिद्ध मान्छे, देश, प्रदेश र राशि नक्षत्रको कारक क्षेत्रमा विशेष कष्ट हुनसक्ने मानिन्छ। ग्रहण लाग्ने नक्षत्रको कारक क्षेत्रमा पनि कष्ट हुन्छ भनिएको छ। जस्तै ग्रहण लाग्ने नक्षत्र स्वातीको कारक क्षेत्र – पशुद्वारा चल्ने वाहन, ढिलो पच्ने पदार्थ, हावाद्वारा जीविका चलाउने व्यक्ति जस्तै चक्की, रोलर कारखाना, टायर बनाउने, गति नियन्त्रण आदि, स्वार्थको कारण मित्रता गर्ने व्यक्ति, असल व्यापारी, जंगलहरुका ठेकेदार तपस्वी आदिलाई कष्ट हुने मानिन्छ। तुला राशिमा ग्रहण लागेमा अवन्ती देश अर्थात् उज्जयिनी प्रदेश र त्यसको समीपवर्ती देश, सज्जन वृन्द, व्यापारी वर्ग,किरात देश दशार्ण देश, भरुकच्छ प्रदेश (रेगिस्तान र कच्छ) मा कष्ट हुन्छ। व्यापार, अर्थनीति, ट्याक्स आदिको विषयमा केही संशोधन, धन बजार नियमको पुनर्व्यवस्था हुनसक्ने मानिन्छ।
महिनानुसार ग्रहणफलः जुन चान्द्रमासमा ग्रहण देखिन्छ, त्यस महिनानुसार फल यस्तो छ – कार्तिक महिनामा ग्रहण हुँदा – अग्निजीवी (आगोले पगाल्नुपर्ने सुन,फलामको कामगर्ने, बेकरी, रेस्टुरेन्ट चलाउनेहरू, सेकुवा वा तन्दूरीको कामगर्ने , मदिराको फैक्ट्री भएका, बिजुली दियो,सलाई, पटाखा, तेजाब, पेट्रोल, तेल, ग्याँस) आदिबाट जीविका चलाउनेहरूलाई कष्ट हुनसक्छ। मगध देश, पूर्वी प्रदेशहरूका अधिपति, भारतको अयोध्या, मथुरा र काशीमा निवास गर्नेहरूलाई कष्ट हुन्छ। भारतको उडीसा प्रदेश, मन्त्रिहरू र सचिवहरूलाई पनि विशेष कष्ट, प्रायः सबै राजाहरू अर्थात् देश एवं प्रदेशहरूका अधिपति सर्वोच्च शासकहरू मुख्य मन्त्री आदिमा हडकंप हुने मानिन्छ। वर्षा र कृषि उब्जाउका लागि भने कार्तिक महिनाको ग्रहण शुभ मानिन्छ। (बृ.सं ५/६९) प्राचीन ऋषिहरूले गहिरो अध्ययन, र अनुसन्धान तथा चिन्तन मननद्वारा परिक्षण गरेर हामीहरूको कल्याणका लागि जुन कुराहरूको बारेमा संकेत गरेका छन् ती कुरा अहिलेको आधुनिक समयमा पनि कुनै न कुनै रूपमा धेरै हदसम्म मिल्न गएको देखिन्छ।
यो वर्षको राजा शनि हुनु तथा विशेषगरी यो कार्तिक पूर्णिमा र कृतिका नक्षत्रको संयोगले विचार गरिने चौथो आर्षमान अति कमजोर हुनु त्यति शुभ होइन। यो वर्ष गर्मी हुनुपर्ने जेठ महिना ऋतुको धर्म विपरित जाडो हुनु लगायतका लक्षणहरू पनि विचार गर्दा आउने नजिकैका ६ महिना माथि उल्लेख भएका लगायत सबै पक्षले हेलचेक्र्याई नगरी सबै दृष्टिकोणले विशेष सजगता अपनाउनु नै सबैको लागी शुभ रहन सक्छ।
यो सूर्यग्रहणले सबै राशिका व्यक्तिलाई पार्न सक्ने प्रभावः वृष,सिंह, धनु, मकर राशि भएका व्यक्तिलाई जन्म राशिदेखि क्रमशः ६, ३,११ र १० वौं राशिमा स्थित ग्रहण भएकाले सुखदायी हुन्छ। कन्या, मिथुन, मेष, र कुम्भ राशि भएका व्यक्तिलाई जन्म राशिदेखि क्रमशः२, ५, ७, र ९वौं राशिमा स्थित ग्रहण भएकाले मध्यम फलदायी हुन्छ। तुला, कर्कट,मीन र वृश्चिक राशि भएका व्यक्तिलाई जन्म राशिदेखि क्रमशः १, ४, ८ र १२वौं राशिमा स्थित ग्रहण भएकाले अशुभ फलदायी मनिन्छ। धर्मशास्त्रमा ग्रहण लागेका बेला विशेष काम, खानपान, मनोरञ्जन, खेलकुद, शयन, शृंगार, मंगलमय धार्मिक कृत्य, मूर्तिस्पर्श आदि गर्न निषेध गरिएको छ। ग्रहणका बेला मन्त्र–उपासना, तन्त्रसाधना जप, होम, श्राद्ध लगायतका आध्यात्मिक कार्य गर्दा लाभ हुने बताइएको छ।
प्रकाशित: ८ कार्तिक २०७९ ०२:५२ मंगलबार