१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बुटवलमा पार्किङकाे समस्या

बुटवलको मुख्य बजारमा पार्किङको समस्याका कारण व्यापार व्यवसाय खस्किँदै गएको छ। बुटवल उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र अमरपथ, विपीचोक, राममन्दिर लाइन (रामपथ), सङ्गमपथ, जेसिसचोक, हाटबजार लाइन लगायतका बजार क्षेत्रमा सवारीसाधन पार्किङ गर्ने स्थानको अभाव छ।

यसका कारण सो क्षेत्रमा बजार गर्न आउनेको सङ्ख्या दिनप्रतिदिन घट्दै गएको अमरपथस्थित खनाल साडीका सञ्चालक करुण खनालले बताए। 'एक जना मेरो नियमित ग्राहक सपिङका लागि आउँदा गाडी पार्किङ गर्ने ठाउँ पाउनु भएनछ', उनले भने, 'यहाँ घुम्दाघुम्दा पार्किङ गर्ने ठाउँ नपाएर उहाँ मणिग्राम पुग्नुभएछ।' अमरपथका पुराना व्यापारी रजनी इम्पोरियमका सञ्चालक महेश्वर श्रेष्ठ पनि विगतको तुलनामा व्यापार खस्किँदै गएको बताउछन्। 'हाम्रा ग्राहक गाडी मोटरसाइकलमा आउनुहुन्छ, यहाँ पार्किङ गर्ने ठाउँ छैन', उनले भने, 'पार्किङकै समस्याका कारण हाम्रा नियमित ग्राहक पनि आउन छाड्नुभएको छ।'

पार्किङ समस्याका कारण मात्रै यहाँको व्यापार खस्किएको भने होइन। सीमावर्ती सुनौली बजारमा नेपाली उभोक्ताको लाइन लागेका कारण पनि यहाँका व्यापार खस्किँदै गएको उनले बताए। व्यापार खस्किँदै गएपछि व्यवसाय धान्न पनि धौधौ भएको अधिकांश व्यापारी व्यवसायीको भनाइ छ।

बुटवलको मुख्य बजार क्षेत्रमा मात्रै नभएर अन्यत्र पनि पार्किङको समस्या बढ्दै गएको छ। बुटवलमा जनघनत्व बढ्दै जाँदा खाली जग्गा पनि सकिँदै गएको छ भने सवारीसाधनको सङ्ख्या बढ्दै गएको छ। यस कारणले बुटवलमा पार्किङको समस्या बढ्दै गएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए। 'हामीले पार्किङ समस्याको समाधान गर्न सकेनौँ भने यहाँको व्यापार अन्यत्र स्थानान्तरण हुनेछ', उनले भने, 'यो समस्या समाधानका लागि हामीले केही सोच बनाएका छौँ, यसमा सबैको साथ र सहयोग चाहिन्छ।

बुटवलमा पार्किङको समस्या समाधानका लागि पुराना भवनलाई पुनःनिर्माण गरी अन्डरग्राउण्ड दुई तला र माथिल्लो भागमा समेत पार्किङ गर्न मिल्ने गरी नयाँ भवन निर्माण गर्ने सोच बनाएको उनले जानकारी गराए। त्यसका लागि पिपिपी मोडल उपयुक्त हुने उनको भनाइ छ।

लुम्बिनी प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गामा अहिले अस्थायी पार्किङको व्यवस्था मिलाइएको छ। मुख्य बजारको पार्किङ समस्या समाधानका लागि लुम्बिनी प्रादेशिक अस्पतालको जग्गामा बनाइएको अस्थायी पार्किङ क्षेत्रभन्दा अगाडि सवारीसाधनलाई प्रवेश गर्न नदिने र त्यस क्षेत्रका व्यापारी व्यवसायीले पनि सामान लोड–अनलोड गर्ने काम रातिको समयमा गर्ने गरी व्यवस्था मिलाउने हो भने केही हदसम्म पार्किङ समस्या समाधान हुने स्थानीय शम्भु श्रेष्ठले सुझाव दिए ।  

प्रकाशित: १३ आश्विन २०७९ ०९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App