उनीहरु एक चिकित्सकको हत्यामा संलग्न नेपालीको खोजीमा एके–४७ हतियारसहित भन्सारको अनुमति लिएर नेपाल प्रवेश गरेका थिए ।
नेपाल प्रहरी र भारतीय प्रहरीबीच एक देशमा अपराध गरेको अर्को देशमा भागेका सम्भावित ब्यक्तिको खोजीका लागि इन्टरपोलमार्फत सूचना आदानप्रदान गर्ने अभ्यास छ ।
एक देशको सुरक्षाकर्मी अर्को देशमा बर्दी र हतियारसहित प्रवेश गर्नु अन्तर्राष्ट्रिय सीमाको उल्लंघन हो । हतियारसहित दोस्रो देशको सुरक्षाकर्मी नेपाल आउनु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भए पनि नेपालमा हतियार र बर्दीसहित भारतीय सुरक्षाकर्मी फेला पर्नु नौलो घटना रहेन ।
शुक्रबार फेला परेका भारत पन्जाबका प्रहरी सादा पोसाकमा थिए । कहिले किनमेलको बहानामा त कहिले पशुपतिनाथ दर्शन गर्न हिँडेको भन्दै बर्दीमै हतियारसहितका भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा पटकपटक फेला पर्दै आएका छन् । अनुसन्धानमा उनीहरु आपराधिक गतिविधिमा संलग्न खोज्न बिनाअनुमति नेपाल छिरेको खुल्ने गरे पनि सहजै बुझाउँदै आएको छ ।
अधिकांश घटनामा हतियारसहित फेला परेका उनीहरुलाई नेपाली सुरक्षाकर्मीले भारततिर फर्काउँछन् । घटना सार्वजनिक भए गृह मन्त्रालयले टोली खटाएर अनुसन्धान समेत गराउने गरेको छ । तर, क्रम भने रोकिएको छैन ।
बर्दियाको गुलरियामा भारतीय सीमा सुरक्षा बलको टोली हतियारसहित आएर नेपाली नागरिकको घरमा छापा मारेको थियो । भारतीय सीमा सुरक्षा बलका १३ जना हतियारसहित नेपाली सीमाभित्रै फेला परेका थिए ।
हतियार र पोसाकमा आएका भारतीय सुुरक्षाकर्मीको टोलीले नेपालमा प्रवेश गरेर नेपाली नागरिकको घरमा छापा मारेको सार्वजनिक भएपछि गृहले घटना अनुसन्धानका लागि टोली खटाएको थियो । अनुसन्धान टोली सीमामा खटिएका नेपाली सुरक्षा टोलीको त्रुटि देखाएपछि केही प्रहरी कारबाहीमा तानिए । भुलवश नेपाल प्रवेश गरेको भन्दै नेपाली सुरक्षाकर्मीले उनीहरुलाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाएर पठायो ।
असोज २ मा रक्सोलबाट मितेरी पुल हुँदै वीरगन्ज छिरेको भारत मध्यप्रदेशका एसपी अरबिन्द प्रसाद वरकडेसहित पाँच जना भारतीय प्रहरी हतियारसहित फेला परेका थिए ।
नेपाल प्रहरीले गण्डक चोकमा फेला पार्दा टोली एके४७ हतियारसहित थियो । लगत्तै कात्तिक १३ मा हतियारसहित नेपाल छिरेको अर्को भारतीय टोली हतियारसहित फेला परे । वीरगन्जमा बिहान र बेलुका फेला परेका २ वटै भारतीय सुरक्षाकर्मीको टोली बर्दी र हतियारसहित थिए । भारतको जम्बु कश्मिर र मध्यप्रदेशका ती प्रहरी टोली वीरगन्जको आदर्शनगरमा किनमेल गरेर फर्कियो ।
माघ २ मा भारतीय प्रहरी टोलीबिना अनुमति कलैयामा आएर एक भारतीय नागरिकलाई पक्राउ गर्ने प्रयास स्थानीयको अवरोधका कारण असफल भएको थियो । अपहरण र हत्याका अभियुक्त भन्दै पप्पु साहलाई उनीहरुले नियन्त्रणको प्रयास गरेका थिए । घटना सार्वजनिक भएपछि नेपालको प्रहरीले हस्तक्षेप गर्दै उनीहरुलाई भारत पठाएको थियो ।
एक वर्ष अगाडि भारतीय प्रहरी काठमाडौंको न्युरोडमै आएर नेपाली नागरिक जावेद इकवाललाई नियन्त्रणमा लिएर लखनउ पुर्याएका थिए । भारतीय नक्कली नोटको कारोबारमा जोडिने उनी अहिले उतैको कारागारमा छन् ।
शुक्रबारको घटनासमेत त्यही शृंखलाको निरन्तरता नै हो । पन्जाबका एक चिकित्सकको हत्यामा संलग्न नेपाली नागरिक अछाममा रहेको भन्दै पक्रन उनीहरु नेपाल आएको प्रारम्भिक अनुसन्धानमा खुलेको स्रोतले जानकारी दियो । प्रहरीले शनिबार उनीहरुलाई आफ्नै कार्यालयमा राखे पनि सोमबार भारतीय कूटनीतिज्ञको रोहबरमा मुक्त गरिदियो ।
किन दोहोरिन्छ घटना
खुला सीमाका कारण एक देशमा अपराध गरी तत्काल भागेर दोस्रो देश पुग्न सकिने भएकाले यस्ता घटनाको अनुसन्धानमा नेपाल प्रहरी र भारतीय प्रहरीबीच सांगठनिक भन्दा बढी व्यक्तिगत सम्पर्कका आधारमा सहकार्य हुने वरिष्ठ प्रहरी अधिकारी नै बताउँछन् ।
नेपालमा प्रहरीसमेत भारतमा गएर अपराधमा संलग्न नेपाली र भारतीय नागरिकलाई समेत नियन्त्रणमा लिएर नेपाल ल्याउने गरेका छन् । भक्तमान श्रेष्ठ अपहरणका मुख्य योजनाकार भारतीय नागरिक रोहित पाहिवाल अग्रवाल होस् या युनिटी ठगीका मास्टर माइन्ड विष्णु खत्री र कृष्ण खत्रीलाई प्रहरीले भारतीय भूमिमा नियन्त्रणमा लिएर नेपाल ल्याएको थियो ।
नेपाल प्रहरीका सदस्य भारत जाँदा स्थानीय युनिटसँगको सम्पर्कमा सादा पोसाकमा हतियार नलिई जाने गरेको छ । भारतीय प्रहरी भने बर्दीमा आधुनिक हतियारै बोकेर नेपाल प्रवेश गर्छन् ।
'कतिपय अवस्थामा पूर्वअनुमति लिएर बिनाहतियार, सादा पोसाकमा आउनुपर्छ भन्ने जानकारी नहुँदा यस्ता घटना हुने गरेको विश्लेषण गर्दै नाम उल्लेख गर्न नचाहने अनुभवी एक प्रहरी अधिकारीले 'अधिकांश घटनामा भने पेलाहा नीति देखिएको' टिप्पणी गरे ।
'झुक्किएको पनि नदेखिने हैन,' ती प्रहरी अधिकारीले भने, 'चाल पाएनन् भने अप्रेसन सफल भइहाल्छ, चाल पाए पनि बुझाइहाल्छन् भनेर पेलेर आउने गरेको पनि देखिएका छन् ।'
नेपाल प्रहरीका प्रवक्ता माधव जोशी भने झुक्किँदा यस्ता घटना हुने गरेको दाबी गर्छन् । खुला सीमाका कारण कतिपय झुक्किएर नेपाली सीमामा प्रवेश गर्ने त कोही अनुमति लिनुपर्ने ज्ञान अभावमा नेपाली भूमिमा आइपुग्ने गरेको देखिएको बताउँदै उनले भने, 'बर्दी र हतियारसहित नेपाली सीमामा फेला परेकालाई नियन्त्रणमा लिएर कारबाहीका लागि सम्बन्धित देशका अधिकारीलाई जिम्मा लगाउने गरेका छौं ।'
नाम मात्रको सीमा सुरक्षा
नेपाल भारतको खुला सीमाको प्रत्येक पाँच किलोमिटर दुरीमा एक भारतीय सीमा सुरक्षा बलको पोस्ट छ । अन्तर्राष्ट्रिय सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्टमा रहने २५ जनाको जनशक्तिले २८ किलोमिटर क्षेत्रसम्मको अनुगमन गर्नुपर्छ ।
भारततिर ४ सय ५० भन्दा बढी बोर्डर आउट पोस्ट छन् भने नेपालतर्फ जम्मा ८९ वटा बोर्डर आउट पोस्ट छन्, जसमा जम्मा ३ हजार १ सय ११ जनशक्ति छ । सीसा सुरक्षाका लागि २१ वटा सीमा सुरक्षा कार्यालय छन् जसको जनशक्ति ४ हजार हाराहारी मात्र छ ।
सशस्त्रका प्रवक्ता डिआइजी शैलेन्द्र खनाल सीमा अनुगमन र सुरक्षा प्रवन्ध बलियो बनाउन जनशक्ति थप गर्नुपर्ने बताउँछन् । अवस्थाअनुसार एउटा बोर्डर आउट पोस्ट र अर्को बोर्डर आउट पोस्टको दुरी नै २० देखि २८ किलोमिटर टाढासम्म रहेकाले अनुगमनमा समस्या देखिने गरेको दाबी गर्दै उनले भने, 'बोर्डर आउट पोस्ट संख्या बढ्यो भने सीमा अनुगमन र निगरानीमा सहज हुन्छ भनेर प्रस्ताव गरेअनुसार गृहले १३ पोस्ट बढाउन स्वीकृति दिएको छ, यसले केही प्रभावकारिता बढ्छ ।'
प्रकाशित: १३ वैशाख २०७३ २०:३२ सोमबार