१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुदूरपश्चिममा बाढी पहिरोः १८ को मृत्यु, ६ जना बेपत्ता

कैलाली र कञ्चनपुरका एक हजार घर डुबानमा, सयौं विस्थापित

कैलालीको कैलारी गाउँपालिका– ५, पवेरामा बाढीले डुबानमा परेकाहरुलाई उद्धार गर्दै सशस्त्र प्रहरी टोली।

बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति भएको छ। वर्षात्का कारण सबैभन्दा बढी अछाममा क्षति पुगेको छ।

शुक्रबार राति आएको पहिरोले अछाममा १७ जनाको मृत्यु हुनुका साथै ५ जना बेपत्ता भएका छन् भने कैलालीमा बाढीले १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन्। अछामको कमलबजार नगरपालिका वडा नम्बर ६ ठाँडीखाँदमा इन्द्रसिंह कामीको घरमा पहिरो जाँदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

मृत्यु हुनेमा ३० वर्षीया अमृता कामी, १७ वर्षीया सरिता कामी, २१ वर्षीया अर्चना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी र १२ वर्षीया सिरु कामी रहेका छन्। घाइते हुनेमा इन्द्रसिंह कामी, भक्त कामी, कल्पना कामी, सुशीला कामी, सफलता कामी, डिक्रा कामी र ममता कामी रहेका छन्। यसैगरी कमलबजार नगरपालिका वडा नम्बर ८, डुङ्लाका खिउरे दमाईको घरमा पहिरो जाँदा उनको परिवारका ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा २६ वर्षीया गम्भी दमाई, २३ वर्षीया भाना दमाई, ६ वर्षीया डिक्रा दमाई, ३ वर्षीया कलु दमाई र ४ वर्षीया कल्पना दमाई रहेका छन्। परिवारका मूली खिउरे भने घाइते भएका छन्। तुर्माखाँदा गाउँपालिका वडा नम्बर ५, नाडाका नेत्रबहादुर शाही र रितबहादुर शाहीको घर पहिरोले बगाउँदा ४ जनाको मृत्यु भएको छ भने पाँच जनाको अवस्था अज्ञात रहेको छ।

मृत्यु हुनेमा घरमूली ४५ वर्षीय नेत्रबहादुर शाही, उनकी श्रीमती ३६ वर्षीया मनिषा शाही, उनकी १७ वर्षकी छोरी विमला शाही र उनकी भतिजी १७ वर्षीया जानकी शाही रहेका छन्। पहिरोमा परेर २१ वर्षीया भावना शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, १ वर्षीया मेलिना शाही र अढाइ वर्षीया करिस्मा शाही बेपत्ता भएका छन्। उनीहरुको खोजीकार्य जारी रहेको प्रहरी नायब महानिरीक्षक मोहनकुमार आचार्यले बताए।

ढकारी गाउँपालिका वडा नम्बर ६, मा पहिरोले घर पुरिँदा २ वर्षीय नवीन बुढाको मृत्यु भएको छ भने उनकै परिवारका ३ जना घाइते भएका छन्। उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर शनिबार दिउँसो अछामका घटनास्थलमा पुगेको छ। गम्भीर घाइते भएका ३ जनालाई थप उपचारका लागि सुर्खेत लगिएको छ भने ३ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ।

अविरल वर्षात्का कारण कैलालीमा बाढीले बगाएर धनगढी उपमहानगरपालिका–१३, झलारी गाउँ बस्ने १९ वर्षीया नवीना चौधरीको मृत्यु भएको छ भने भजनी नगरपालिका वडा नम्बर ८, का ५५ वर्षीया कालुराम चौधरीलाई मोहना नदीमा आएको बाढीले बगाएको छ।

उनको अवस्था अझै अज्ञात रहेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। घर भत्कँदा कैलालीको चुरे गाउँपालिका–३, का ८ वर्षीय आयुष सापकोटा र टीकापुर नगरपालिका–१, का २२ वर्षीय शिशिर चौधरी घाइते भएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

बाढीले कैलाली र कञ्चनपुरमा १ हजार भन्दा बढी घर डुवानमा पर्नुका साथै सयौँ परिवार विस्थापित भएका छन्। कैलालीको भजनी नगरपालिका वडा नम्बर १,२,३,५,७ र ८ मा मोहना र कान्द्रा नदीमा आएको बाढीले ७ सय भन्दा बढी घर डुबानमा परेको प्रहरी नायब उपरीक्षक जोशीले बताए।

कैलारी गाउँपालिका वडा नम्बर ३, ५ र ७ मा मोहना नदीमा आएको बाढीले १ सय ८० घर, लम्की चुहा नगरपालिका वडा नम्बर ७ र ९ मा १ सय १० परिवार, जानकी गाउँपालिकाको वडा नम्बर ४ र ७ मा १ सय ४० परिवार र धनगढी उपमहानगरपालिका–१३ श्रीलंकामा १३ परिवार डुबानमा परेका छन्।

डुबानले विस्थापित भएकाहरु स्थानीय विद्यालय, सामुदायिक वनका भवन तथा खुल्ला सडक र चौरमा आश्रय लिएर बसिरहेका छन्। बाढी डुबान घट्न नसकेका कारण उनीहरु शनिबार बेलुकीसम्म फिर्ता हुन नसकेको स्थानीयले बताएका छन्।

कञ्चनपुरमा मोहना, दोदा र वनहरा नदीमा आएको बाढीले ३ सय बढी घर डुबानमा परेका छन्। शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा डुबान भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १ आश्विन २०७९ १३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App