नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञावालीले नेपालको आजको राजनीतिक परिवर्तनमा कवि युद्धप्रसाद मिश्रले गरेको योगदान अतुलनीय योगदान रहेको बताएका छन्। राजनीतिक र सांस्कृतिक रुपमा विशिष्ट चेतना भएका व्यक्तिको रुपमा चर्चा गर्दै ज्ञावालीले सिर्जना मार्फत र परिवर्तनको संभावना निर्माण गर्ने प्रेरक व्यक्ति भएको बताएका छन्। प्रतिष्ठानको ११ औ साधारण सभालाई सम्बोधन गर्दै ज्ञावालीले पञ्चायतकालमा व्यवस्था विरोधी बन्नु भनेको जोखिम मोल्नु र सामान्तवादको किल्लामा धावा बोल्ने कवि भएका पनि चर्चा गरे। ‘उहाँको सिर्जनाको रक्षा र विचारको रक्षा गर्नु आजको दायित्व हो’, ज्ञावालीले भने।
कार्यक्रममा प्राध्यपक जिवेन्द्रदेव गिरी र कवि वासुदेव अधिकारीले मिश्रमा विविध आयम बारे चर्चा गरेका थिए। कार्यक्रमा प्रतिष्ठानका अध्यक्ष अनिल पौडेलले विगतमा प्रतिष्ठानले गरेका कामको बारेमा चर्चा गरेका थिए । त्यसैगरी महासचिव लेख प्रसाद निरौलाले संस्थाको गतिविधिबारे प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा विभिन्न स्रष्टारुलाई सम्मान गरिएको थियो। सम्मानित हुने स्रष्टाहरुमा प्राध्यापक जिवेन्द्रदेव गिरी, जनकप्रसाद हुमागाँई, वासुदेव अधिकारी, प्रतिरोध कार्की, डा. नारायण प्रसाद गड्तौला, डा।यज्ञश्वर निरौला, लक्ष्मी मिश्रलगायत थिए।
कवि युद्धप्रसाद मिश्र प्रतिष्ठानले स्रष्टाहरुलाई प्रदान गर्दै आएको पुरस्कारको राशी बढाएको छ। हरेक वर्ष २१ हजार रुपैया पैदान गर्दै आएको राशीमा आउदो वर्षदेखि ५० हजार रुपैया बनाएको हो। एक साता अघि बसेको कार्यसमितिको बैठकले सो रकम बढाएको निवर्तमान अध्यक्ष अनिल पौडेलले बताए। उनका अनुसार प्रगतिशील स्रष्टाहरुलाई सम्मान गर्ने सो रकम अन्य संस्थाहरुको भन्दा बढी रहेको छ।
प्रथम गणतन्त्रवादी कवि युद्धप्रसाद मिश्र प्रतिष्ठानमा नयाँ कार्यसमिति चयन भएको छ। डा. फणिन्द्र निरौलाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको हो। समितिमा डा. लेख प्रसाद निरौला वरिष्ठ उपाध्यक्ष, नन्दु उप्रति महासचिव, कमल मिश्र सचिव, जयन्ता पोखरेल कोषाध्यक्षमा चयन भएका छन्। सदस्यहरुमा लक्ष्मी निरौला, लक्ष्मी मिश्र, देवी घिमिरे र दुर्गा मोहन श्रेष्ठ चयन भएका छन्।
प्रकाशित: ३१ भाद्र २०७९ १४:०८ शुक्रबार