२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

निर्वाचनको सदुपयोग गरौँ: महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई सम्भावित दुर्घटनाबाट जोगाउन फागुन २१ गते हुने निर्वाचनलाई सदुपयोग गर्न सबैमा आग्रह गरेका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेश समितिको संयोजन तथा महासंघ जिल्ला समिति दाङको आयोजनामा घोराहीमा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पछिल्लो समय मुलुकविरुद्ध सुनियोजित गतिविधि बढ्दै गएको दाबी गरे ।

उनले सामाजिक सञ्जालमा फेक आइडीको प्रयोग तीव्र रूपमा बढ्दै गएको भन्दै यसले समाजलाई भ्रम, अविश्वास र विखण्डनतर्फ धकेलिरहेको बताए ।  

‘पछिल्लो समय मुलुकविरुद्ध सुनियोजित गतिविधि बढ्दै गइरहेका छन् । सामाजिक सञ्जालमा फेक आइडीको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ, जसले समाजलाई भ्रम, अविश्वास फैलाउनुका साथै र विखण्डनतर्फ धकेलिरहेको छ’, महासचिव पोखरेलले भने ।

कुनै समय सूचना प्रवाहको भरपर्दो माध्यम मानिएको सामाजिक सञ्जाल अहिले समाजलाई गलत दिशातर्फ लैजाने माध्यम बन्दै गएकोमा पोखरेलले चिन्ता व्यक्त गरे ।  

भदौ २३ र २४ गते भएका घटनालाई मुलुकविरुद्धको षड्यन्त्रको संज्ञा दिँदै महासचिव पोखरेलले ती गतिविधि अझै पूर्ण रूपमा नरोकिएको बताए ।

रवि र बालेनलाई जन्माउने ‘सेन्टर’ एउटै रहेको दाबी गर्दै महासचिव पोखरेलले उही शक्तिले मुलुकविरुद्ध गतिविधि सिर्जना गर्न उनीहरूलाई एकताबद्ध गराएको आरोप लगाए ।  

जेन–जी आन्दोलनका नाममा भएका तोडफोड र आगजनीका घटनाहरू स्वतःस्फूर्त नभई योजनाबद्ध रहेको उल्लेख गर्दै पोखरेलले विद्यार्थीहरूको आडमा सार्वजनिक तथा निजी सम्पत्ति ध्वंश गरिएको बताए ।

उनले डिस्कटमा विशेष रसायन प्रयोग गरी आगजनी गर्ने विषयमा समेत छलफल भएको जानकारी आएको दाबी गर्दै यस्तो किसिमको विद्रोह विद्यार्थीहरूबाट सम्भव नहुने स्पष्ट पारे । निर्वाचन सन्दर्भमा बोल्दै महासचिव पोखरेलले जिल्लाको मनोविज्ञान सकारात्मक रहेको बताए ।  

 

प्रकाशित: १० माघ २०८२ १९:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App