नेपाली बजारमा सुनको भाउ निरन्तर उकालो लागेसँगै व्यापार व्यवसाय घटेको छ । माघको पहिलो हप्तादेखि निरन्तर सुनको भाउले नयाँ रेकर्ड कायम गरिरहेको छ । दिनहुँ सुनको भाउ उच्च मूल्यमा वृद्धि हुँदै जान थालेसँगै सुनको व्यापार व्यवसायमा गिरावट आइरहेको सुन व्यवसायीहरूले बताएका छन् ।
श्री महालक्ष्मी सुन चाँदी पसल बुटवलका सञ्चालक उमेश रसाइलीले आज/भोलि सुनको व्यापार निराशाजनक रहेको बताए ।
अहिले व्यापार व्यवसाय छैन भन्दा पनि हुने बताउँदै रासाइले सुनको मूल्य अधिकतम उच्च भएकाले गर्दा अहिले व्यापार व्यवसाय सन्तोषजनक नरहेको रसाइली बताउँछन् ।
रसाइलीले भने, ‘माघको १० गते भइसक्यो, अहिलेसम्म व्यापार हुन सकेको छैन, यो हिसाबले सुनको भाउ बढ्दै जाने हो भने त धेरै व्यवसायी विस्थापित हुने अवस्था छ । हप्तादिनसम्म पनि बिल काट्न त परिजाओस् बोहनी समेत पनि भएको छैन ।’
अहिले व्यापार व्यवसाय नहुँदा सटर भाडालगायत मजदुरलाई ज्यालादिन समेत कठिन भइरहेको व्यापारीहरू बताउँछन् । सुनको मूल्य वृद्धि भएसँगै विलासिताको करले गर्दा व्यापारीहरू मारमा परेको बताइएको छ ।
नेपाली उपभोक्ताले विलासिताकरलाई समेत थेग्न नसक्ने अवस्थामा रहेको व्यापारी रसाइलीले बताए ।
सरकारले सुनमा १० प्रतिशत भन्सार लिने गरे पनि त्यसमाथि पनि विलासिता कर लाग्ने भएकाले गर्दा उपभोक्ताले यसलाई स्वीकार्न नसक्ने अवस्थामा रहेको व्यापारी रसाइली बताउँछन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शनिबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला तीन लाख तीन हजार आठ सय रुपैयाँ पुगेको छ । शुक्रबार प्रतितोला सुनको मूल्य तीन लाख एक हजार चार सय रुपैयाँ कायम रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीका वैशाख/जेठसम्ममा सुनको मूल्य तीन लाखसम्म पुग्ने अनुमान गरिएको भए पनि माघमै सुनको मूल्य तीन लाख बढी पुग्दा आफूहरू अचम्ममा परेको बताउँछन् ।
नेपालमा डलरको रेट बढेकाले गर्दा पनि सुनको मूल्य ह्वातै बढेको अध्यक्ष रसाइलीको भनाइ छ । बजारमा ठूलो मात्रमा सुनको खरिद र बिक्री भएकाले गर्दा पनि मूल्य बढेको अध्यक्ष रसाइली बताउँछन् ।
अध्यक्ष रसाइलीका अनुसार ठूल–ठूला लगानीकर्ताले समेत सुनमै लगानी गर्न थालेकाले गर्दा पनि सुनको मूल्यमा वृद्धि भएको हो ।
केही समय अझै सुनको मूल्य बढ्दै जाने महासंघले जनाएको छ । सुनको मूल्य बढेर साढे तीन लाख रुपैयाँसम्म पुग्ने बताउँदै अध्यक्ष रसाइलीले अस्ट्रेलिया वा चीनमा सुनको उत्खनन हुन थालेपछि अमेरिकाले विदेशी नीति परिवर्तन गरेमा सुनको मूल्यमा निरन्तर ओरालो लाग्दै जाने बताउँछन् ।
अध्यक्ष रसाइलीका अनुसार दैनिक २५ किलो सुन आयात हुने गरे पनि बजारमा दैनिक १५ किलो बिक्री गर्न पनि मुस्किल परेको छ । बिक्री नभएपछि आयात गरिएको सुन बैंकमै थुप्रिने क्रम बढेको छ ।
प्रकाशित: १० माघ २०८२ १९:४० शनिबार





