१३ माघ २०८२ मंगलबार
image/svg+xml
समाज

हिउँसँगै मुस्कुरायो जुम्ला, फर्कियो भरोसा

शनिबार बिहान जुम्लाका डाँडाकाँडा सेताम्मे बनेपछि धेरै किसानको अनुहारमा लामो समयपछि मुस्कान फर्किएको छ। वर्षौंदेखि खडेरी, असिना र अनियमित मौसमसँग जुध्दै आएका किसानका लागि यो हिमपात चिसोको आगमन मात्र नभई आशाको संकेत बनेको छ।

पछिल्ला केही वर्षयता जुम्लाका लेकाली भूभागमा छिटपुट हिमपात भए पनि तल्लो भेगमा हिउँको सट्टा वर्षा हुँदै आएको थियो। त्यसले हिउँदेबालीको चक्र नै बिगार्दै आएको किसानको भनाइ छ। तर यसपटक जिल्लाभर एकसाथ परेको हिमपातले जमिन ढाकेको छ। सदरमुकाम क्षेत्रमा करिब आधा फिट र लेकाली क्षेत्रमा एक फिटसम्म हिउँ जमेको छ।

हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ। सडकमा सन्नाटा छ, बजार खुल्न ढिलाइ भएको छ। कर्णाली राजमार्ग तथा ग्रामीण सडकमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। हवाई सेवा पनि अवरुद्ध छ। पशुबस्तु गोठमै थुनिएका छन् भने किसान घाँस–पानी बोकेर गोठ धाइरहेका छन्।

यद्यपि यही चिसोबीच किसानको मन भने तातिएको छ। जुम्लाको सिंजा गाउँपालिका–२ का गोपाल रोकाया खेततिर हेर्दै भन्छन्, ‘कहिले खडेरीले रुवायो, कहिले असिनाले। यो पटकको हिउँले बाली सप्रिन्छ भन्ने भरोसा दिलाएको छ।’ उनका अनुसार मंसिर–पुसमै हिउँ पर्नुपर्ने भए पनि माघमा परेको हिमपातले जमिनमा आवश्यक चिस्यान दिएको छ।

कृषि विज्ञहरूले पनि यस हिमपातलाई सकारात्मक रूपमा हेरेका छन्। उनीहरूका अनुसार हिउँ पग्लिँदा माटोमा पानी सञ्चित हुने, जौ र गहुँजस्ता हिउँदेबालीको जरा बलियो बन्ने गर्दछ। साथै, जुम्लाको पहिचान बनेको स्याउमा लाग्ने कालो तुसारो र ढुसीजन्य रोगको जोखिमसमेत कम हुने उनीहरूको भनाइ छ।

हिमपातले तत्काल यातायात र जनजीवनमा समस्या ल्याए पनि दीर्घकालमा कृषि उत्पादनमा यसको महत्व ठूलो रहने विज्ञहरूको बुझाइ छ। समयमै मलखादको व्यवस्थापन र बाली संरक्षण गर्न सके यस वर्ष उत्पादन सुधार हुने सम्भावना रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए।

जिल्ला प्रशासन कार्यालयका अनुसार जुम्लाका आठै स्थानीय तहका सबै ६० वडामा हिमपात भइरहेको छ। भारी हिमपातका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।

जुम्लासँगै कालिकोट, मुगु, हुम्ला र डोल्पाका डाँडाकाँडा पनि सेताम्मे बनेका छन्। लामो समयदेखि खडेरीले थलिएको कर्णालीमा यो हिमपातले जमिन मात्र भिजाएको छैन, किसानको मनमा पनि भरोसाको बीउ रोपेको छ।

जिल्लाको कुल २ लाख ५३ हजार १ सय हेक्टर क्षेत्रफलमध्ये ३८ हजार ४ सय ८६ हेक्टर मात्र खेतीयोग्य रहेको छ। तीमध्ये ३ हजार ६ सय ५० हेक्टर अर्थात १३.८१ प्रतिशत क्षेत्रफल मात्रै सिंचित जमिन हो। परम्परागत रूपमा जुम्लामा गहुँ, जौ, मकै, कोदो, चिनो, कागुनो, धान र फापर उत्पादन हुँदै आएको छ।

प्रकाशित: १० माघ २०८२ १९:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App