नेपालगन्जको सहरी क्षेत्रमा बाँदरहरु पसेर उपद्रो गर्न थालेका छन्। केही वर्षयता वर्षात्को उत्तरार्धमा बाँदरहरु नेपालगन्जको बजार क्षेत्रमा प्रवेश गर्न थालेका छन्।
यसपटक पनि बाँदरहरु घरभित्रै पसेर उपद्रो मच्चाउन थालेको स्थानीयहरुले बताएका छन्। नेपालगन्ज वडा नम्बर २ की फातिमा शेषले बाँदरहरु विद्युत् तथा टेलिफोनका तारमा चढेर छतमा पुग्ने गरेका बताउँछिन्। खानेकुरा भेटिएमा खाइदिने र अन्य सामान तोडफोड गरिदिने गरेको उनले बताइन्।
नेपालगन्जको न्यूरोड, ईदगाह रोडलगायत क्षेत्रमा बाँदरहरु बढी मात्रामा देखिन थालेका छन्। बाँदरहरुले बालीनाली उखेली दिने, घरभित्रै पसेर खानेकुरा र अन्नपात खाइदिने र बालक तथा वृद्धहरुमाथि झम्टिने गर्न थालेका छन्। यसैगरी बारीमा लगाएको काउली, टमाटर, मेवा, फर्सि, लौका, आलुलगायतका बालीनाली तथा तरकारी खाइदिने र नष्ट गर्ने गर्न थालेका छन्। छाडा चौपायाका कारण तनाव झेल्नु परिरहेको नेपालगन्जमा बाँदरको प्रवेशसँगै अर्काे झमेला थपिएको छ।
बाँदरको उपद्रोका विषयमा नेपालगन्ज उपमहानगरपालिकामा पनि बाँदरको समस्याका विषयमा एउटा निवेदन परेको छ। उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले आफूकहाँ एउटा निवेदन आएको जानकारी दिए। उनले यस समस्याका विषयमा विपद् व्यवस्थापन समितिमा छलफल गरेर समाधानका उपायहरु अपनाइने पनि बताए।
डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नारायण पार्धे बाँदरहरु बस्ती र सहरी क्षेत्रमा प्रवेश गर्नुका मुख्यगरी तीनवटा कारण रहेको बताउँछन्। सामुदायिक वन तथा उनीहरुको बासस्थानमा आएको कमी, उनीहरुको आहारामा आएको कमी र यस समयमा फल्ने अन्नबालीको खोजीमा उनीहरु सहर पसेको हुनसक्ने पार्धेले बताए। सहरमा बाँदरहरुको प्रवेशलाई रोक्न उनीहरुका लागि वनमै प्राकृतिक वातावरण सिर्जना गर्नु र आहाराको व्यवस्थाका लागि जंगलमा फलफूलका बिरुवाहरु रोप्नुपर्ने उनले बताए।
प्रकाशित: २४ भाद्र २०७९ १२:०८ शुक्रबार