४ वैशाख २०८१ मंगलबार
समाज

मेची राजमार्ग कि ‘खाल्डामार्ग’

मेची राजमार्ग अन्तर्गत पाँचथरको जोरपोखरीमा पर्ने सडक। तस्विर: गिरिराज/नागरिक

झापाबाट मेची राजमार्ग भएर यात्रा अघि बढाउँदा पहाडका सुन्दर ठाँउ र बस्तीहरु देखिन्छ। इलाम–पाँचथर हुँदै ताप्लेजुङसम्म यो राजमार्ग भएर यात्रा गर्दा अनेकन सुन्दर  ठाँउहरु भेटिन्छन्।  

तर दृष्य सुन्दर देखिएपनि मेची राजमार्ग भने थङ्थिलो भेटिन्छ। गाडी गल्ड्याङ गुल्डुङ गर्दै कुद्छ। यात्रुलाई राजमार्गमा छु कि ग्रामिण सडकमा हिड्दै छु दोधार हुन सक्छ। सुदरपूर्वका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्थुमका विभिन्न गाँउलाई राष्ट्रिय राजमार्गमा जोड्ने मेची राजमार्गमा कष्टकर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।

यी क्षेत्र बाक्लो कुहिरोले छोपिरहेको हुन्छ। त्यहिमाथि खाल्डा खुल्डीले यात्रा जोखिम पूर्ण बन्दै गएको छ। सडककै बिचमा ठूलाठूला खाल्डा छन्, कतै पहिरो खसेर सडक सागुरो छ भने कतै सडक हिलाम्मे भेटिन्छ।

सडक व्यवस्थापनमा ध्यान नदिँदा यो राजमार्ग भएर सडक यात्रा कष्टकर भएको छ। पाँचथरको जोरपोखरी–कावेली खण्डमा खाडी कुदाउनै नमिल्ने गरी सडक बिग्रिएको छ। बाटोको बिचमा ठूलाठूला खाल्डा छन्। राजमार्गमानै गाडी कुदाउँदा धुँलो उड्छ।  

यस्तै इलामको जोरकलश–फिक्कल खण्डमा सडकको दुर अवस्था छ। यी राजमार्गमा मुख्य समस्या भएका खण्ड हुन्। तर राजमार्गको २ सय २० किलोमीटर खण्डका धेरै ठाँउमा सडक बिग्रिएको छ। एकातर्फ सडकको क्षेत्राधिकार मिचेर जथाभावी संरचना बनाइएका छन्, त्यहि माथि सडकमा खाल्डाखुल्डि, पहिरोको तथा हिलाम्मे हुँदा समस्या पर्ने गरेको छ। बेला बेला पुरीएका खाल्डो पुनः  भत्किएका छन्। साघुरो राजमार्गमा सडक थङ्थिलो हुँदा निक्कै ठुलो समस्या छ। पाँचथरको पाङग्रेभिरको पिरलो उस्तै छ।  

जोरपोखरी–कावेली र जोरकलश– कन्याम खण्डमा सडक मर्मत गर्ने काममा ठेकेदारले समयमा काम नगर्दा समस्या भएको मेची राजमार्ग हेर्ने सडक डिभिजन कार्यालय इलामले जानकारी दिएको छ। दुबै खण्डको सडक मर्मत गर्ने ठेक्का शिवशक्ति कम्पनीको रहेको छ।  ‘ठेकेदार कम्पनीले समयमा काम नगर्दा यी दुई खण्डमा समस्या भयो। हामीले पटक पटक काम गर्नका लागि निर्देशन दिँदापनि काम भएको छैन’ डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलले भने ‘ठेक्का तोड्ने अवस्थामा पुगेका छौँ।’

उनले भने ‘अरुतीर देखिएका समस्यालाई समाधान गर्नका लागि सातवटा ठेक्का खुलाएका थियौँ। ति मध्ये तीनवटा मात्र ठेक्का लागेका छन्।’ मेची राजमार्गको खाल्डै खाल्डा भएको बाटोले सास्ती पाएर हिँउदमा बैकल्पिक बाटोहरु प्रयोग गरेर तराई झर्ने गरीन्छ।  

जोरकलश– फिक्कल खण्डको ५ करोड ६९ लाखमा  २५ किलोमीटर र जोरपोखरी– कावेलीको २० किलोमीटर सडक ५ करोड ६ लाखमा  मर्मतको ठेक्का एउटै कम्पनीको रहेको छ। ‘सडकमा जताततै खाल्डाखुल्डी छन्। गाडि चलाउनै गारो छ। एकपल्ट गाडी ताप्लेजुङ पु¥याएर फर्किदा बनाउनु पर्ने हुन्छ। खै कहिले बनाउँदैनन्। एकठाँउ भएपो’ गाडी चालक प्रकाश मौनालीले भने ‘कहिले काही टालेको पनि देखिन्छ तर भत्किहाल्छ।’

उनका अनुसार ठाँउ ठाँउमा गाडी क्रस गर्न पनि ठाँउ पुग्दैन्। आफ्नो साइड भन्दापनि कता खाल्डो छैन् भनेर गाडी कुदाउनु पर्ने उनले बताए।

सुदुरपूर्वका पहाडी जिल्लामा खाद्यान्न, गोलिया लगायतका समान ढुवानीका, यात्रुवाहक सवारी साधन दैनिक ठूलो संख्यामा कुद्छन्। वर्षेनी पाथीभरा, कञ्चनजंघा हिमाल क्षेत्रमा जानका लागि देशका विभिन्न भाग तथा विदेशबाट पनि यात्रु आइपुग्छन्। तर पाहुँनायात्रा गर्ने बाटोको भने विजोक भेटिन्छन्।  

‘देशविदेशकाहरु यो बाटो यात्रा गर्छन्। तर बिग्रिएको बाटो बनाउने कसैको ध्यान पुगेको छैन्। ठेक्का लाग्या छ भन्छन्, काम गरेको देखिदैन्’ पाँचथरको चतुरेका हरि केरुङले भने ‘सडकको धुँलो घरमा पसेर हैरान छ। बर्खामा हिलाम्मे हुन्छ, हिँउदामा धुलाम्मे।’

२०७८ कार्तिकको बेमौसमी वर्षापछि यो राजमार्ग धेरैनै बिग्रिएको छ। मर्मत गरीएको बाटो पनि बिग्रिएको छ। त्यसो त इलामदेखि पाँचथरसम्म राखिएका सडक सोलार लाईट पनि कतै चोरीएका छन्, कतै भत्काइएको छ। राजमार्गको छेउमा राखिएका बत्तिको डोबमात्र भेटिन्छ। यहाँ रहेको सोलार प्यानल, लाईट चोरीएका छन् भने कतै फुटाइएका छन्।  

यो राजमार्गमा रातको समयमा अत्याधिक फकि (हुस्सु) लाग्ने गर्छ। रातीको समयमा बाटोनै नदेख्ने अवस्था रहेको छ। यो समस्यालाई निराकरण गर्नका लागि राखिएको सोलार सडक लाइटपनि लथालिङ्ग हुँदा समस्या भएको छ। सरकारकाले ठूलो लगानीका बनाएका संरचना ध्वस्त भएका हुन्। काहि काहि मात्र यस्ता लाइट बलेका देखिन्छन्, अधिकतर लाइट भने भत्काइएका छन्। इलामको रोङ गाँउपालीकादेखि पाँचथरको फिदिमसम्म आर्थिक वर्ष २०७६/७७ सालमा सोलार लाईट राखिएको थियो। तीन हजारको संख्यामा यस्ता लाइट राखिएको थियो।

प्रकाशित: २० भाद्र २०७९ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App