गत आर्थिक वर्ष २०८१/८२ मा चैते धानको उत्पादन ३८ हजार नौ सय ३८.८ मेट्रिक टनले वृद्धि भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत जोन/सुपरजोनका २६ वटा जिल्लामा चैते धान उत्पादनमा वृद्धि भएको हो ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम व्यवस्थापन एकाइका सूचना अधिकारी डा.जीतबहादुर चन्दका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १७ हजार चार सय ८६ हेक्टर क्षेत्रफलमा चैत धान रोपिएको थियो । त्यसमा एक लाख एक हजार चार सय १८.८ मेट्रिक टन धान उत्पादन भएको हो । उक्त क्षेत्रफलमा ५.८० मेट्रिकटन/हेक्टरले धान उपादकत्व भएको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा ११ हजार तीन सय ६० हेक्टर क्षेत्रफलमा धान रोपिएकोमा ६२ हजार चार सय ८० मेट्रिकटन धान उत्पादन भएकोमा ५.५० मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व भएको उनले बताए ।
आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा ६ हजार एक सय २६ हेक्टर क्षेत्रफल बढीमा चैते धान खेती गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम व्यवस्थापन एकाइले जनाएको छ ।
चैते धान खेती योग्य जिल्लामध्ये २१ वटा जिल्ला जोन र पाँच वटा जिल्ला सुपरजोन रहेका छन् । जोनमा सुनसरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, चितवन, गोरखा, प्युठान, सल्यान, पर्वत, सप्तरी, बारा, पर्सा, नुवाकोट, मकवानपुर, तनहुँ, बाँके, कैलाली, महोत्तरी, नवलपरासी सुस्ता पूर्व र नवलपरासी सुस्ता पश्चिम रहेका छन् । सुपरजोनमा झापा, कञ्चनपुर, कपिलवस्तु, बर्दिया र मोरङ जिल्ला रहेका छन् ।
एकाइका सूचना अधिकारी चन्दले बर्सेनि चैते धान खेतीको क्षेत्र विस्तार हुँदै गएकाले पनि उत्पादनमा वृद्धि भएको बताए । धान जोनमा नपरेका वडाहरूले पनि धान जोनमा जोडिन खोजेकाले गर्दा पनि क्षेत्र विस्तार बढ्दै जान थालेको उनले बताए ।
समयमै राम्रो वर्षा भए जोन र सुपरजोनमा ९९ प्रतिशतले धान उत्पादनमा वृद्धि हुने एकाइले जनाएको छ ।
गत वर्ष राम्रो वर्षा भएकाले गर्दा पनि धान उत्पादनमा वृद्धि भएको उनले बताए । कृषिलाई आधुनिकीकरण गर्न उन्नत प्रविधि र आधुनिक प्रविधि किसान समक्ष विस्तार गर्नाले पनि किसानहरू चैते धान खेतीतर्फ आर्कषण बढेको उनको भनाइ छ ।
साना सिँचाइमार्फत किसानहरूको खेतसम्म सिँचाइ सुविधा र यान्त्रिकरणलगायतका सामाग्री वितरण गर्दै आइरहेको एकाइले जनाएको छ । एकाइले वर्षमा २० हजारदेखि ३० हजार हेक्टर क्षेत्रफलमा सिचाँइ सुविधा विस्तार गर्दै आइरहेको छ ।
कृषि पूर्वाधार निर्माणलगायतका काम पनि गर्दै आइरहेको उनले बताए । आगामी चैतमा करिब पाँच हजार हेक्टर चैते धानको क्षेत्रफल विस्तार गरेर लैजाने उनको भनाइ छ ।
पछिल्ला वर्ष मुलुकमा बढ्दो खाद्यान्न आयात, कृषि पेशामा युवा पुस्ताको घट्दो आकर्षण र रुचि तथा जलवायु परिवर्तनको असरले गर्दा कृषि क्षेत्रमा सुधारको आवश्यकता देखिइरहेको छ ।
यस सन्दर्भमा नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यावसायीकरण गर्दै उत्पादकत्व बढाउने तथा सो मार्फत रोजगारी पनि सिर्जना गर्ने उद्देश्यले सङ्घीय सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुरूवात गरेको थियो ।
यस परियोजनाले साना व्यावसायिक उत्पादन केन्द्रहरू (पकेट), मध्यम व्यावसायिक उत्पादन केन्द्रहरू (ब्लक), व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्रहरू (जोन) र बृहत् व्यावसायिक उत्पादन तथा औद्योगिक केन्द्रहरू (सुपरजोन) गरी चार सम्भागमा विशिष्टीकृत सघन कृषि क्षेत्रहरूको स्थापना गरी उत्पादन तथा उत्पादकत्वको वृद्धि गर्ने उद्देश्य लिएको छ ।
आर्थिक वर्ष २०७३/७४ बाट कार्यान्वयनमा आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मध्यावधि समीक्षा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुरोधमा गरिएको हो ।
परम्परागत कृषि प्रणाली, कम उत्पादकत्व र न्यून यान्त्रीकरण लगायत बजार पहुँचको अभावले नेपालको कृषि क्षेत्र दिगो, प्रतिस्पर्धी र व्यावसायिक प्रणालीमा रूपान्तरण हुन सकेको छैन ।
प्रकाशित: २१ मंसिर २०८२ २१:२१ आइतबार





