जुम्लाको सिंजा सभ्यताको गर्भमा रहेको गुठिज्युला गाउँपालिका-५ मा सञ्चालनमा आएको ‘एप्पल गार्डेन होमस्टे’ ले स्थानीय पर्यटनको स्वरूप बदल्न थालेको छ।
महेन्द्रमल्ली खोलाको सलल बग्ने आवाज, स्याउबगैचाको सुगन्ध र हरियाली जंगलको शीतल वातावरणले घेरिएको यो होमस्टे अहिले प्राकृतिक सौन्दर्य र स्थानीय आतिथ्यको रमणीय मिश्रण बनेको छ।
स्थानीय दम्पती निर्मल र निर्माया बुढाले तीन लाख रुपैयाँको निजी संकलनबाट सुरु गरेको यो परियोजना, आईएनएफ जुम्लाको ‘सृजना परियोजना’बाट चार लाख २० हजार रुपैयाँ सहयोग पाएपछि, सात लाख २० हजार रुपैयाँको लागतमा परम्परागत शैलीमा दुईतले सुन्दर होमस्टेको रूपमा आकार लिएको हो।
काठ र ठूला जुम्ली ढुंगाको सन्तुलित प्रयोगले होमस्टे आधुनिक सुविधायुक्त भए पनि सांस्कृतिक मौलिकताबाट टाढा छैन। माथिल्लो तलामा तीन वटा व्यवस्थित कोठा र छुट्टाछुटै शौचालय छन् ।
तल्लो तलामा पर्यटक स्वागत गर्ने हल र स्थानीय स्वाद प्रस्तुत गर्ने भान्सा छ। सञ्चालिका निर्माया बुढा भन्छिन्, ‘अतिथिलाई घरको न्यानोपन र जुम्ली स्वाद दुवै दिन चाहन्छौँ।’
यहाँ मार्सी चामल, फापर, कोदा, जुम्ले घ्यू, स्थानीय तरकारी र मकैका परिकारहरू पूर्ण रूपमा अर्गानिक रूपमा तयार गरिन्छ।गुठिज्युला केवल प्राकृतिक सौन्दर्य मात्र होइन, खस सभ्यताको जरा बोकेको भूगोल पनि हो।
यही पहिचानलाई जोगाउन होमस्टेमा खस संस्कृति संरक्षण मञ्च (कसम) ले देउडा, नाटक र जनजीवन झल्काउने प्रस्तुति नियमित रूपमा सञ्चालन गरेको छ।
पर्यटकले स्थानीय गीत, नृत्य र नाटक हेर्दै सदियौँ पुरानो खस जीवनशैलीको प्रत्यक्ष अनुभव लिन सक्ने वातावरण बनेको छ। यसले होमस्टे मात्र आवास नभई सांस्कृतिक प्रशिक्षणस्थलको रूपमा समेत स्थापित गरेको छ।
यता कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र भण्डारी भन्छन्, ‘एप्पल गार्डेन होमस्टे सफलताको सुरुआत हो। आईएनएफले रारा जाने मार्गमा पर्ने ६ वटा होटललाई पनि आवश्यक सामग्री उपलब्ध गराएको छ, जसले क्षेत्रको पर्यटन संरचना उकास्नेछ।‘
प्रकाशित: २१ मंसिर २०८२ २२:०९ आइतबार





