दमाहाको आवाज र सामूहिक रुपमा गोलबद्ध भइ गाइने चैत, धुमार तथा डेउडाले अहिले सुदूरपश्चिमका गाउँ टोल गुञ्जयमान बनेका छन्। यतिबेला सुदूरपश्चिम गौराको रमाइलोमा रम्दैछ। परदेशीएकाहरु घर फर्किसकेका छन् भने आफ्ना आफन्तहरु गौराको पूजनका लागि आफ्नो थातथलोमा छन्।
सबैको जमघटले अहिले सुदूरपश्चिमका गाउँबस्तीहरु गौराको रमाइलोमा रम्दैछ। कोरोना कहरका केही वर्ष सुस्ताएको गौरा पर्वले यसपाली भने वास्तविक लय पाएको छ। त्यही वास्तविक लयका कारण अहिले सुदूरपश्चिम गौरामा रम्न थालेको हो।
सप्तमीका दिन अर्थात् हिजो भित्र्याइएको गौराको प्रतिमूर्तिलाई आज अर्थात् अष्टमीका दिन दुबोको पूजासहित गौरा र महेश्वरको विवाह गरिएको छ। गौरा र महेश्वरको विवाहपश्चात् आजैदेखि गाउँटोलमा गौराका अवसरमा चैत, धुमारी, ढुस्को तथा डेउडा खेल्न सुरु गरिएको छ।
गौरालाई अष्टमीका दिन पूजाआजा गर्दै, मांगल गानका साथमा नचाइएको छ। त्यसै क्रममा गौरालाई गौरा घरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ। यसै दिनदेखि ठाउँ–ठाउँमा डेउडा समेत खेलिने प्रचलन रहिआएको छ।
सप्तमीमा भित्र्याइएको गौरा प्रतीकलाई कम्तिमा पनि पाँच रात राख्ने प्रचलन रहेको गौरा सम्बन्धी जानकार तथा गौराका विषयमा विद्यावारिधि गरेको डा. टीएन जोशीले बताए। उनले भने, ‘यहाँ पाँच रातसम्म गौरा घरमा डेउडा, फाग, चैत, धमारी खेल्ने गरिन्छ।’ गौराको ब्रत बस्दा मनमा शान्ति हुनुका साथै पतिको आयू लामो हुन्छ भन्ने विश्वास रहेको बताउँदै उनले भने, ‘शिव र पार्वतीको प्रतिमूर्ति मानेर पूजा गरिने हुँदा तीज र गौराको महत्व उत्तिकै छ।’
सुदूरपश्चिमका हिन्दू धर्मावलम्बी महिलाले अनुष्ठान पर्वको रूपमा मनाइने गौरा पर्वमा यतिबेला सुदूरका गाउँबस्ती डेउडाले गुञ्जयमान बनेका छन्। भाद्र शुक्ल सप्तमीको दिन भित्र्याइने गौराले अहिले सुदूरपश्चिमका गाउँबस्तीमा रौनकता छाएको छ। सुदूरपश्चिमका गाउँबस्तीमा गौरा घरमा गौरा खेल्न सुरु भइसकेको छ।
सप्तसती देवीले दक्षको अग्नि कुण्डमा हाम फाल्दा आफ्नो सुक्ष्म रुपलाई हरियो घाँसमा छिपाई भौतिक देह विसर्जन गरेकाले हरियो घाँसमा सतीदेवीको बास हुन्छ भन्ने मान्यता अनुसार धानमा उम्रने साउँ घाँससहितको समष्टिगत रुप बनाइ पूजा गर्ने परम्परा रहेको छ। यसरी गौरा देवीको पूजाआजा गर्दा विवाहित महिलाले आफ्नो पतिको दीर्घायूका साथै घरमा सुख शान्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ।
बाह्मण, क्षेत्री समुदायका पुरुषले जनै लगाए जस्तै यसपर्वमा महिलाले एक वर्षका लागि ‘दुबो–धागो’ लगाउने चलन रहेको पण्डित शम्भुनाथ पाठकले बताए। गौरापर्व डोटी, डडेलधुरा, बैतडी र दार्चुलामा सबैभन्दा बढी र अछाम, बझाङ, बाजुरा, कैलाली तथा कञ्चनपुरको विशेष ठाउँमा मनाउने गर्छन्।
‘गौरा यस क्षेत्रको मौलिक पर्व मात्र नभइ आपसी सद्भाव बढाउने पर्व हो,’ डेउडा गायक डोटेली कान्छाले भने, ‘देश विदेशमा गएकाहरू समेत फर्केर घर आउने प्रमुख पर्व पनि गौरा नै हो।’ गौरा पर्वको प्रमुख आकर्षण डेउडा हो।
डेउडामा पौराणिक कथा, देवी देवताका गाथा, धार्मिक ग्रन्थ गाउने गरिन्छ। त्यति मात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि डेउडाका माध्यमले तीखो व्यङ्ग्य गरिन्छ। महिलाहरूले यस अवसरमा आफ्ना सुख–दुःख डेउडाका माध्यमबाट व्यक्त गर्छन्। सशस्त्र द्वन्द्वका बेला गौरा पर्व ओझेलमा पर्दै गएकोमा अहिले भने पुरानै रौनकता आएको डेउडाप्रेमीहरू बताउँछन्।
गौरामा केटाकेटीसँगै परिवारका सदस्यले नयाँ लुगा किन्ने र लगाउने चलन समेत चलिआएको डेउडिया कृतबहादुर बिष्ट बताउँछन्। सुदूरपश्चिममा मात्र नभइ अहिले डेउडाले राजधानीसम्म आफ्नो लोकप्रियता कायम गरेको छ। बसाइँसराइसँगै तराईका कञ्चनपुर र कैलालीमा पनि पहाडी समुदायले मनाउने गौरा पर्वमा खेलिने डेउडा सबैको आकर्षण बन्ने गरेको छ।
कञ्चनपुर र कैलालीमा बसोबास गर्ने सुदूरपश्चिम क्षेत्र बाहेकका पनि डेउडामा रमाउने गर्छन्। केही संघसंस्थाले यस अवसरमा डेउडा प्रतियोगिताको समेत आयोजना गर्ने गरेका छन्। यो पर्व सुदूरपश्चिमका पहाडी क्षेत्रका साथै कैलाली कञ्चनपुरका गाउँबस्ती, कुमाउ, गडवालमा समेत धुमधामका साथ मनाइन्छ।
गौराकै अवसरमा धनगढीको वनदेवी मन्दिर परिसरमा डेउडा प्रष्ठिानले डेउडा प्रतियोगिताको आयोजना गरेको छ। यस्तै कैलालीको मसुरिया लगायतका ग्रामीण बजार क्षेत्रमा पनि स्थानीयले डेउडा प्रतियोगिता तथा गौरा महोत्सवको आयोजना गर्दै रमाइलो गर्न थालेका छन्।
प्रकाशित: १८ भाद्र २०७९ १३:०३ शनिबार