१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

रेड मर्करीको कारोबारका नाममा महिलालाई ठग्ने चार जना पक्राउ

पक्राउ परेका चार जना।

रेड मर्करीको कारोबारका नाममा महिलालाई ठगी गर्ने चार जना पक्राउ परेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय टीकापुरले टीकापुर नगरपालिका–९ खक्रौला नजिक सीमा क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका २६ वर्षका विक्रम परियार, सोही ठाउँका ३१ वर्षका गणेश परियार, बाँके नेपालगञ्ज उपमहानगरपालिका–४ देवाफूलवारीका ३७ वर्षका राजन लोहनी र मोरङ विराटनगर उपमहानगरपालिका–१८ का ४३ वर्षका महेशकुमार महतो रहेका छन्।

उनीहरुले बर्दिया ठाकुरबाबा नगरपालिका–३ भुरीगाउँकी ४० वर्षकी द्रोपती उपाध्यायलाई रेड मर्करीको कारोबारका नाममा ठगी गरेको प्रहरीले जानकारी दिएको छ। उपाध्यायले चारै जनाले आफूलाई प्रलोभनमा पारेर रेड मर्करीको कारोबारका नाममा ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन्।

घटना विवरण अनुसार प्रक्राउ परेका मध्ये मख्य योजनाकार भनिएका विक्रम परियारले पीडित भनिएकी महिलालाई रेड मर्करीको कारोबार गरे मनग्य आम्दानी हुने प्रलोभन देखाएका थिए। महिला भुरीगाउँमा व्यवशाय गर्दै आएको प्रहरीले जनाएको छ।

परियारले भारतबाट ३ लाख रुपैयाँमा रेड मर्करी किनेर ल्याए नेपालमा ५० लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने प्रलोभन देखाएको ती महिलाले प्रहरीसँग बताएकी छन्। परियारको प्रलोभनमा परेर महिला २ लाख ४७ हजार रुपैयाँ बोकेर भारतको तिकुनीयाँ पुगेकी थिइन्। उनीहरु साउन २५ गते एक रात टीकापुरस्थित एक होटलमा बास बसेका थिए।

महिलाका अनुसार भारतीय नागरिकले रेड मर्करी बोकेर आफू टीकापुर पुग्ने बताएका थिए। तर उनले भारतीय नागरिक नआएपछि आफूहरु साउन २७ गते तिकुनीयाँ गएको बताइन्। तिकुनीयाँ पुगेपछि उनीहरु मध्ये मुख्य योजनाकार भनिएका परियार र रेड मर्करी जाँच गर्ने व्यक्ति भनिएका पक्राउ परेका मध्ये महतो रेड मर्करी जाँच गर्न भारतीय नागरिक कहाँ गएका थिए।

महतो बाँकेको कोरियानपुरमा आल्मुनियमको काम गर्छन्। पक्राउ परेका मध्ये गणेश परियार र लोहनी ती महिलासँगै बसे। लोहनी भुरीगाउँस्थित दुर्गा सुनचाँदी पसलका सञ्चालक हुन्। प्रहरीका अनुसार उनले नै रेड मर्करी बेच्ने जिम्मा लिएका थिए। उनीहरु दुवै जना केही समयपछि भारतीय नागरिकसहित फर्किए। ती भारतीय नागरिकले रेड मर्करी भन्दै पीडित भनिएकी महिलालाई नङ पोलिसको डब्बा देखाए।

उनले महिलालाई एक हातले रेड मर्करी दिने र अर्को हातले पैसा दिन भने। सोही बेलामा महिलाले रेड मर्करी नभएको र चारै जना भारतीय नागरिकसँग मिलेर आफू लुटिन लागेको थाहा पाइन्। ‘मैले उनीहरु सबै मिलेर लुट्न खोजेको थाहा पाए’ प्रहरीसँगको बयानमा ती महिलाले भनिन्, ‘म पैसा नदिएर त्यहाँबाट भागे।’

उनले आफू लुटिन लागेको भन्दै साउन २८ गते चारै जनाविरुद्ध इलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी दिइन्। उनको उजुरीका आधारमा चारै जनालाई सीमा क्षेत्रबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए। उनले चारै जना उपर जिल्ला अदालत कैलालीमा ठगी मुद्दा दर्ता भइ म्याद थप भैसकेको बताए। उनका अनुसार घटनाका बारेमा थप अनुसन्धान भैरहेको छ।

प्रकाशित: २ भाद्र २०७९ ०८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App