१५ चैत्र २०८० बिहीबार
समाज

ललितपुरका सडकमा रबरका डिभाइडर

ललितपुर महानगरपालिकाले सिमेन्टका डिभाइडरका सट्टा रबरका डिभाइडर राखेको छ। महानगरमा दुर्घटना न्यूनीकरणका लागि सिमेन्टका डिभाइडरको सट्टा रबरका डिभाइडर राखिएको ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए। उनले मेयर चिरीबाबु महर्जनको निर्देशनमा ललितपुरका सडकबाट सिमेन्टका डिभाइडर हटाइएको जानकारी दिए।

महानगरले ललितपुरका थापाथली पुलदेखि कुपन्डोल, कानदेव मन्दिर, बख्खुन्डोल जाने बाटो, इन्जिनियरिङ क्याम्पसअगाडि, साझा कार्यालय, मन्त्री क्वाटर जाने बाटो, कृष्णगल्ली जाने बाटो, लबिम महलअगाडिको आकासे पुल क्षेत्रमा र पुल्चोकमा सिमेन्टका डिभाइडर हटाएर रबरका डिभाइडर राखिएका छन्।

मगंलबार र बुधबार ललितपुर महानगरले नख्खिपोट जाने बाटो भनिमण्डलमा र जावलाखेल खरिबोट जाने बाटोमा सिमेन्टका डिभाइडर हटाएर रबरका डिभाइडर राखिएको ललितपुर महानगर प्रहरी प्रमुख हाछेथुले बताए।

सिमेन्ट डिभाइडर हटाइ रबर डिभाइडर राख्नुको कारण दुर्घटना बढी भएकाले दुर्घटना कम गराउन, ट्राफिक व्यवस्थापनमा राम्रो बनाउन, जाम कम गराउन, रबर डिभाइडबाट उज्यालो आइ रात्रिकालीन समय सुन्दर बनाउन, सिमेन्ट डिभाइडरमा भन्दा रबर डिभाइडर आफैंमा सुन्दर र धेरै ठाउँ पनि नओगट्ने उनले जानकारी दिए।

सिमेन्टको ब्लकमा मोटरसाइकल ठक्कर खानेबित्तिकै लड्ने र विपरीत साइडबाट आएका गाडीले किच्ने, सवारीसाधन आपसमा ठोक्किँदा वा दुर्घटना हुँदा सवारीचालक र अन्य सर्वसाधारण सिमेन्टको ब्लकमा ठोकिएर मृत्यु हुनेको संख्या बढेकाले रबरका डिभाइडर राखिएको हाछेथुले बताए।

उनले भने, ‘प्लास्टिकको कोन वा डिभाइडर दुर्घटनापछि भाँचिने र फुट्ने हुन्छन्। रबरका डिभाइडर न त भाँचिन्छ न त फुट्छ नै। राती सिमेन्टका डिभाइडर चम्किलो नहुने तर रबरका डिभाइडर चम्किलो हुन्छ। यसकारणले पनि रबरका डिभाइडर राखिएको हो।’ हाछेथुका अनुसार कुनै पनि सवारीसाधन रबर डिभाइडरमा ठोक्किँदा गाडी र मान्छे दुवै सुरक्षित रहनुका साथै रबरका डिभाइडर र पाइप गाडीले ठक्कर दिँदा र कुल्चिँदा पनि पुनः प्रयोगमा ल्याउन मिल्ने खालका हुन्छन्। यसले दुर्घटना कम गराउँछ।

पहिलेका सिमेन्टका डिभाइडर मगंलबार एकान्तकुनास्थित यातायात विभागले लगेको उनले बताए। ललितपुर महानगरपालिकाभित्र जहाँजहाँ दुर्घटनाग्रस्त क्षेत्र छन्; त्यहाँ रबरका डिभाइडर राखिने पनि उनले बताए।

प्रकाशित: २ भाद्र २०७९ ०२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App