मालपोत कार्यालयले सुरुवातमा ठैब, खोकना, विष्टछाप र लेलेका जग्गाधनीलाई अनलाईन सेवा उपलब्ध गराएको थियो। माघ ३ गते सेवा विस्तार गर्दै बाडेगाँउ, भारदेउ, इकुडोल र चौघरेका जग्गाधनीलाई समेत अनलाईन सेवा दिन थालेपछि सेवाग्राहीको सख्या बढेको हो । मालपोतले अनलाईन मार्फत जग्गाको लिखत, जग्गा रोक्का र जग्गा फुकुवा सम्बन्धी सेवा उपलब्ध गराउदै आएको हो।
मालपोत कार्यालय ललितपुरका प्रमुख नारायणप्रसाद आर्चायले सेवाग्राही र कर्मचारी दुबै अभ्यस्त भएपछि मात्र ई सेवा जिल्ला भरकै सम्पूर्ण कित्तामा लागू गरिने बताए । उनका अनुसार पहिलो चरणमा जिल्लाका बिकट क्षेत्रका जग्गाधनीलाई ई सेवाको सुविधा उपलब्ध छ ।" जिल्लाका सम्पूर्ण कित्ताका जग्गा इन्ट्री भै सकेको छ, अब बिस्तारै सेवा विस्तार हुनेछ," प्रमुख आर्चायले भने ।
जिल्ला मालपोत कार्यालय अन्र्तगत रहेको तीनलाख ६८ हजार कित्ता जग्गा अनलाईन सेवाका लागि कम्प्युटरमा ईन्ट्री भई रुजु समेत भएको छ । जिल्लामा रहेका तीनलाख ३२ हजार पाँचसय जग्गाधनीको सम्पूर्ण विवरण समेत ईन्ट्री भै सकेको कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार यसरी दर्ता भएका जग्गाधनीले सुरुवातमा मालपोत कार्यालयमा आएर अनलाईन सेवा लिन फाँटमा रहने सम्बन्धीत कर्मचारीलाई भन्नुपर्ने हुन्छ । कर्मचारीले केही मिनेटमै सेवाग्राहीले लिन चाहेको सेवा उपलब्ध गराउने आर्चायले बताए ।
अनलाईन सेवाका लागि ललितपुरमा फाँटमा एकजना अपरेटर, सिस्टम सहित ६ जना कर्मचारी कार्यरत रहेका छन । कार्यालयले एक महिनाको अनलाईर्न सेवा परिक्षण फलदायी,किफायती र समयको बचत तथा कम झन्झटिलो भएको जनाएको छ ।
भुमिसुधार तथा ब्यवस्था मन्त्रालयले डिजिटल डाटाको वितरण, प्रयोग र नियमन निर्देशिका २०६९ अनुसार हाललाई कंलकी मालपोत र ललितपुर मालपोतबाट अनलाईन सेवा सुरु गरेको हो । सरकारले डिजिटल डाटा सम्बन्धी नियमावली नै बनाएर अनलाईन सेवाका लागि निश्चित सुविधा पसल पसलबाटै उपलब्ध गराउने तयारी गरिरहेको हो । नियमावलीमा हुने ब्यवस्थासँगै हाल लेखापढी ब्यवसायीले दिने सेवा सरह नै कम्प्युटर मार्फत ठाँउ ठाँउमा सेवा उपलब्ध हुनेछ । यसरी तयार भएको डाटा अनलाईन मार्फत सम्बन्धीत कार्यालयमा पुग्ने र त्यहाँ जाँच पछि पास हुने ब्यवस्था मालपोत कार्यालयले गर्नेछ ।
" कानुनको अधिनमा रहेर अनलाईन सेवा प्रदान गर्ने ब्यवस्था हुनेछ, झन्झटीलो प्रकृयासँगै बिचमा हुने बदमासी रोक्न ई सेवा प्रभावकारी देखिएको छ," आर्चायले भने । उनका अनुसार जग्गाधनीको तीनपुस्ते र उसको नाममा रहेको जग्गाको कित्ता नम्बर सहित सोको क्षेत्रफल कम्प्युटरमा सुरक्षित रहने भएकाले अनलाईन सेवा भरपर्दो रहेको हो । उनले भने " सम्बन्धीत जिम्मेबार कर्मचारीले आवश्यकता अनुसार अनुमती लिएर मात्र डाटा चलाउने भएकाले बिशेष अवस्थामा बाहेक चुकको अवस्था रहदैन,"।
प्रकाशित: ११ माघ २०७२ ०४:२७ सोमबार





