पवित्र तीर्थस्थल गोसाइँकुण्ड आउने यात्रुका लागि भोजनको व्यवस्था मिलाउन खाद्य सामग्री ढुवानी गरिएको छ। भक्तजनको आगमन सुरू भएसँगै धुञ्चे तथा स्याफ्रुबेँसी बजारबाट दाल, चामल, नुन, तेल, चाउचाउ, बिस्कुट तथा दैनिक उपभोग्यवस्तु ढुवानी गरिएको हो।
यही साउन २३ गतेदेखि २७ गते जनैपूर्णिमासम्म लाग्ने विशेष मेलामा झण्डै १५ हजार भक्तजनको आगमन हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ। लक्षित यात्रुलाई भोजन गराउन पुग्ने यथेष्ट खाद्य सामग्री ढुवानी गरिएको होटल व्यवसायी संघका जिल्ला अध्यक्ष रामशरण गजुरेलले बताए।
काठमाडौँबाट धुञ्चेसम्म सडक मार्ग प्रयोग गरेपछि पैदलयात्रा सुरू हुने गोसाइँकुण्ड तीर्थ जाँदा धुञ्चे, देउराली, चन्दनबारी, लौरीविनायक तथा गोसाइँकुण्डमा खान र बस्न समस्या नहुने होटल व्यवसायी संघले जनाएको छ। रासस
प्रकाशित: १८ श्रावण २०७९ ०२:४४ बुधबार



-600x400.jpg)

